नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मंसिर ४ को चुनावअघिको गठबन्धन ब्युँताउन सहमत भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलका बैठकमा शीर्ष नेताहरू गठबन्धन ब्युँताउन सहमत भएका हुन्।
आजको बैठकमा चुनाव अघिको गठबन्धन ब्युँताउने निष्कर्षमा आफूहरू पुगेको एकीकृत समाजवादीका नेता घनश्याम भुसालले सेतोपाटीलाई बताए।
गठबन्धनमा रहेका दलहरूले आन्तरिक, दुई पक्षीय र त्रिपक्षीय छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र अन्य दलले अलग-अलग प्रस्ताव राखेको बताए।
स्रोतका अनुसार एकीकृत समाजवादीले राष्ट्रपतिको अडान छोडेको छैन। आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनु पर्ने एकीकृत समाजवादीको अडान छ। एकीकृत समाजवादीको अडानमा जसपाले साथ दिएको छ भने माओवादीले चारै दलको सहमतिमा निर्णय गर्नुपर्ने बताएको छ।
माओवादी, जसपा र एकीकृत समाजवादीले समाजवादी केन्द्र बनाउनेबारे बिहीबार छलफल गरेका थिए। तीन दलले आफूहरूका एजेन्डा एउटै भएकाले स्वार्थ पनि एउटै हुनु पर्ने निष्कर्ष निकालेका थिए।
आजको बैठकमा कांग्रेस नेताहरूले राष्ट्रपति आफूले पाउनु पर्ने र एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेका थिए।
फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे चार दलले शुक्रबार साँझ पनि छलफल गर्ने भएका छन्।