नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले भोलि शनिबार विदेश जान अनुमति माग्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
न्यायाधीश ईश्वर खतिवडाले भने एकल इजलासबाट माग अनुसारको आदेश दिन नमिल्ने आदेश गरेसँगै भोलि उनी खेल्नका लागि विदेश जान नपाउने भएका छन्।
सर्वोच्चले शुक्रबार दिउँसो खाजा समयपछि उक्त निवेदनमा सुनुवाइ सुरू गरेको थियो।
न्यायाधीश खतिवडाको इजलासमा अभियुक्त सन्दीप लामिछानेका वकिलले मात्र बहस गरे। निवेदनको पहिलो सुनुवाइमा निवेदकका वकिलको मात्र बहस हुन्छ।
लामिछानेका वकिलहरू बरिष्ठ अधिवक्ता शम्भू थापा, अधिवक्ता सरोजकृष्ण घिमिरे र मुरारी सापकोटा बहस गर्न आएका थिए।
सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशमा खेल्न जान दिनुपर्ने जिकिर बरिष्ठ अधिवक्ता थापाको थियो। विदेशमा खेलाडी र कलाकारहरूलाई विभिन्न मुद्दा लागे पनि उनीहरूलाई आफ्नो काम गर्न रोक नलगाइएको उदाहरण पनि दिए।
त्यसपछि अधिवक्ता घिमिरेले बहस सुरू गरे।
उनले बहस सुरू गरेपछि न्यायाधीश खतिवडाले सुरूमै सोधे- तल्लो अदालतले थुनछेक गरेको आदेश मिलेन भन्दै आएको निवेदनमा सुनुवाइ गर्ने हाम्रो प्रक्रिया छ। पहिला कैफियत प्रतिवेदन माग्छौं। त्यसपछि अर्को पक्षलाई पनि बोलाएर संयुक्त इजलासमा बहस सुन्छौं। दुवैका तर्कहरू सुनेपछि अनिमात्र आदेश हुन्छ। यो मुद्दा पनि अरू मुद्दाहरू जस्तै हो। उक्त प्रक्रियामा नगई एकल इजलासबाटै आदेश गर्नुपर्ने गरी यो केसमा त्यस्तो के अपवाद छ?
त्यसपछि अधिवक्ता घिमिरेले सन्दीप थुनामुक्त भएपछि भएको नामिबिया र स्कटल्याण्डसँगको खेलमा राम्रो प्रदर्शन गरेको बताए।
अब युएईमा हुन लागेको खेलमा उनलाई लैजाने हो भने अरू खेल पनि जित्न सकिने तर्क राखे।
सामान्य अवस्था नभएर देशको लागि प्रतिनिधित्व गर्ने अवस्थामा सन्दीपलाई विदेश जान रोक लगाउन नहुने पनि उनले तर्क गरे
अहिलेको जस्तो अवस्था भएको भए उच्च अदालतले पनि रोक लगाउने थिएन भन्ने समेत उनको जिकिर थियो। त्यसैले सन्दीप विदेश जान पाउनुपर्ने उनले बताए।
त्यही बेला उनले इजलासमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास पनि उपस्थित भएको भन्दै उनलाई बोल्न लगाए।
दासले उठेर सन्दीपको पासपोर्ट म्यानेजरसँग हुने भएकाले उनलाई सुरक्षित रूपमा विदेश जाने र फर्किने वातावरण आफूहरूले मिलाउने जिम्मेवारी लिने बताए।
त्यसपछि न्यायाधीश खतिवडाले भने- म विनोदजीको कुरामा पूरै विश्वास गर्छु। जानुहोला,आउनुहोला। अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो देशको क्रिकेट टिमले राम्रो गरोस् र हैसियत बनाओस्। तर कानुनी प्रक्रिया किन उल्लंघन गर्ने भन्ने हो।
उनले फेरि भने, ‘आधारभूत कानूनी मान्यता र प्रक्रियाको मर्मलाई मर्न दिनु हुँदैन बरू राज्यले २/४ करोड बेहोर्नुपर्छ। यो अपिल कोर्ट हो, यहाँभन्दा माथिल्लो अदालत छैन। त्यसैले यसले कानून उल्लंघनको कुरालाई गम्भीरताका साथ हेर्छ, हेर्नुपर्छ। अदालतले कानूनी प्रक्रिया छोड्न हुँदैन।
त्यसपछि फेरि अधिवक्ता घिमिरेले उच्च अदालत र अहिलेको अवस्था फरक रहेको भन्दै बहस गरे।
उच्च अदालतको आदेशले छुटेपछि खेलमा फर्किएका सन्दीपले राम्रो खेलेको र देशको नाम राखेको दाबी गरे।
सन्दीपले गर्दा देशले जित्छ नै भन्ने आफ्नो दाबी नभए पनि टिमको लागि उनी आवश्यक रहेको अधिवक्ता घिमिरेले तर्क गरे।
अहिले अभियोग लागेकै भए पनि उनको खेल्न पाउने स्वतन्त्रता र अधिकार रहेको पनि उनको जिकिर थियो।
अधिवक्ता घिमिरेले संविधानले 'पर्सनल लिबर्टी'को कुरा गरेपछि फेरि न्यायाधीश खतिवडाले उनलाई रोके।
न्यायाधीश खतिवडाले भने- सरोजजी कुरा यस्तो हो। संविधानले दिएको पर्सनल लिबर्टी क्रिमिनल केस लागेपछि सकिन्छ। त्यसपछि पनि निरपेक्ष रूपमा व्यक्तिगत स्वतन्त्रता रहन्छ।
त्यसपछि अधिवक्ता घिमिरेले भने, ‘त्यो त हो श्रीमान।’
सन्दीप व्यक्तिगत नभई राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा जान लागेको र त्यो अनुमति अदातलले दिनुपर्ने जिकिर घिमिरेले गरे।
राष्ट्रियस्तरमा राम्रो खेलेको सबैले आस गरेको र प्रधानमन्त्रीले हिजोमात्र सम्मान गरेको भन्दै उनले एउटा फोटोकपी पेपर अघि सारे।
त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन्दीपसँग हात मिलाएको फोटोको प्रतिलिपि थियो।
‘प्रधानमन्त्रीले पनि उहाँलाई सम्मान गरिसक्नुभएको छ,’ प्रतिलिपि इजलासलाई थमाउँदै घिमिरेले भने।
घिमिरेले उक्त तस्बिर देखाएपछि इजलासबाट न्यायाधीश खतिवडाले भने- प्रधानमन्त्री, मन्त्रीले के गर्नुहुन्छ म हेर्दिनँ, छोडिदिनुस्।
यसअघि बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई सम्मान गरेका थिए। सोही क्रममा उनले सन्दीपसँग पनि हात मिलाएका थिए। प्रधानमन्त्रीको उक्त कदमको आलोचना भइरहेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ।
उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।
उच्च अदालतको आदेश बदर गर्न भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको यस्तै निवेदनमा भने न्यायाधीश प्रकाश ढुंगाना र हरि फुयालको इजलासले आज हेर्न नभ्याइनेमा राखेको छ।
खतिवडाको इजलासले दिउँसोभरि बहस सुनेपछि महान्यायाधिवक्ता कार्यालयको निवदेन र सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर आइतबारदेखि सुनुवाइ गर्ने आदेश दियो।