राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन्।
राप्रपाले प्रदेशहरूमा पनि सरकारबाट बाहिरिने निर्णय गरेको छ।
अहिलेसम्म बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपा बागमतीका मन्त्रीहरूले शनिबार मुख्यमन्त्रीलाई राजीनामा बुझाइसकेका छन्।
लुम्बिनी प्रदेशमा सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेबारे निर्णय भइसकेको छैन। राप्रपाका सांसद जानकीप्रसाद यादव माग २९ गते उद्योग, पर्यटन तथा यातायात मन्त्री भएका थिए।
राप्रपा लुम्बिनीले केन्द्रसँग सरकारबाट बाहिरिने कि बस्ने भन्नेबारे छलफल गरिरहेको छ।
राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले केन्द्रमा गठबन्धन भत्किएको हुँदा राप्रपा लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने वा बसिराख्ने भन्नेबारे आज मात्रै टुंगो लाग्ने बताए।
‘केन्द्रमा गठबन्धन टुट्यो। तर लुम्बिनीमा एमालेसँग हाम्रो सहकार्य छ। यसलाई के अर्थ लगाउने हो भन्नेबारे आज केन्द्रसँग छलफल गरेपछि निर्णयमा पुग्छौं,’ उनले भने, ‘केन्द्रमा गठबन्धन भत्केको हुँदा सरकार छाड्ने निर्णयमा पार्टी पुगिसकेको भए पनि एमालेसँगको सहकार्यबारे थप छलफलपछि टुंगो लाग्छ।’
लुम्बिनीमा एमालेका लीला गिरी मुख्यमन्त्री छन्। लुम्बिनी, गण्डकी र प्रदेश नम्बर १ मा सरकारमा बसिराख्ने कि छाड्ने भन्नेबारे सम्भवत आज टुंगो लाग्ने बताए। यी प्रदेशमा मुख्यमन्त्री नेकपा एमालेबाट छन्।
लुम्बिनी सरकारका प्रवक्ता चेतनारायण आचार्यले कम्तिमा राष्ट्रपति चुनावसम्म एमालेकै नेतृत्वमा लुम्बिनी सरकार रहने बताए। लुम्बिनीमा राप्रपाले एमालेसँग सहकार्य गरेकोले तत्काल सरकार नछाड्ने दाबी उनको छ।
लुम्बिनीमा माओवादी केन्द्र पनि सरकारमा छ। माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन बाँकी रहेको बताए। अहिलेसम्म केन्द्रबाट केही पनि निर्देशन नआएको उनले बताए।
नेपाली कांग्रेस भने लुम्बिनी सरकारको नेतृत्व गर्ने गरी आन्तरिक गृहकार्यमा जुटेको छ।
राप्रपा केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले केन्द्र र प्रदेशका सरकारबाट बाहिरिने निर्णय भएको बताएका थिए।
यस्तो छ शनिबार राप्रपाले निकालेको विज्ञप्ति: