नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलामाथि प्रश्न उठेको छ।
पीडितले पठाएको मोबाइल म्यासेजलाई आधार मानेर शाहलाई सफाइ दिएको उच्च अदालतले उनीहरूबीच भएका अडिओ कुराकानीलाई भने विश्वास गरेको छैन।
अदालतले आधार मानेको मोबाइल म्यासेज शाहका पक्षमा देखिन्छ, जबकि टेलिफोन संवादमा शाहले नाबालिगसँग यौन सम्पर्क गरेको स्वीकार गरेका छन्।
उच्च अदालतले आइतबार साँझ दिएको संक्षिप्त आदेशमा २०७८ फागुन १५ गते पीडित नाबालिगले शाहलाई ‘हामीलाई थाहा छ, हामीबीच त्यस्तो केही भएन, यसबीच तिमीलाई परेको दु:खका लागि माफी माग्न चाहन्छु...’ भन्ने बेहोराको म्यासेज पठाएको उल्लेख छ।
यही आदेशले नाबालिग र अभियुक्तबीच भएको टेलिफोन संवादलाई विश्वास गरेको छैन। उक्त संवादलाई अदालतले 'शंकारहित र वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन नसकेको' भनेको छ।
अभिनय क्षेत्रमा लागेका शाहविरूद्ध बलात्कार अभियोग लाग्नुअघि उक्त टेलिफोन संवाद सार्वजनिक भएका थिए, जसमा शाहले यौन सम्पर्क गर्दैमा आफू विवाह गर्न बाध्य नहुने बताएका छन्।
‘यति सानो कुरालाई यति ठूलो रूपमा लिनुपर्छ भन्ने छैन। किनभने प्रेगनेन्ट (गर्भवती) भएको भए, मैले गर्दा बच्चा भएको भए यो कुरा गर्न मिल्थ्यो। बिहे गर्ने, स्विकार्ने, नस्विकार्ने। अब गर्ल फ्रेन्ड ब्वाई फ्रेन्डमा अन्डरस्ट्यान्डिङमा भयो। हैन?’ शाहले भनेका छन्।
यौन सम्पर्कबारे उनले थपेका छन्, ‘हामी सँगै हुँदा केही भयो होला। तर राम्रो सेफ तरिकाले अन्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लाष्टमा तपाईंले स्विकार्नैपर्छ, बिहे नै गर्नुपर्छ भने म त खत्तम नै भएँ। मैले भनेछु त, तिमी-हामी लाइफटाइम कुनै हिसाबमा सँगै हुनुपर्छ भनेर। बिहे नै गर्नुपर्छ भन्ने छैन। माया गर्ने मान्छे सँगै हुनुपर्छ भन्ने छैन नि त।’
प्रहरीले शाहविरूद्ध सबभन्दा बलियो प्रमाणका रूपमा उक्त अडिओ संवादलाई पनि जाहेरीसँगै अदालत पेस गरेको थियो। शाहले अदालतमा बकपत्र गर्दा अडिओ संवादको स्वर आफ्नो भएको स्वीकार गरेका थिए। तर उनले बलात्कार अस्वीकार गरेका थिए।
अदालतले अविश्वास गरेको उक्त अडिओ संवाद राष्ट्रिय विधि विधान प्रयोगशालाले पनि प्रमाणित गरिसकेको उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बताएका छन्।
‘प्रयोगशालाले कल रेकर्डलाई ९९ प्रतिशत पल शाहको आवाज भनेर प्रमाणित गरेको छ। उनले पनि आफ्नै स्वर भनेर अदालतमा स्वीकार गरेका छन्,’ अधिकारीले भने, ‘गैंडाकोटमा होटलमा बसेको, उनीहरूबीच भएका मोबाइल म्यासेज सबै घटनाका तत्कालीन प्रमाणका रूपमा छन्।’
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमतिमै यौन सम्पर्क राखे पनि त्यसलाई बलात्कार भनेर परिभाषित गरेको छ। नाबालिगसँगको यौन सम्पर्क स्थापित भए कारागार सजायसहित क्षतिपूर्ति र जरिवाना लिन पाउने व्यवस्था कानुनमा छ।
पक्राउ परेको ठिक एक वर्षपछि सोमबार रिहा भएका शाहलाई बलात्कार र बाल यौन दुर्व्यवहार दुवै अभियोगबाट सफाइ दिने फैसलाविरूद्ध उच्च सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिने भएको छ।
नाबालिग तर्फबाट उच्च अदालतमा बहस गरेका उपन्यायाधिवक्ता अधिकारीले उच्च अदालतको फैसलाविरूद्ध आधार र प्रमाण लिएर सर्वोच्च जाने बताए।
‘नाबालिग र उनका परिवारले जाहेरी दिएको छ, पीडितले कागज गरेको छ, फोन म्यासेज र प्रमाणित अडिओ संवाद छन्,’ उनले भने, ‘हामी यही आधार र प्रमाण लिएर सर्वोच्च जान्छौं, हाम्रो ‘ड्युटी’ नै यही हो।’
नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते गरेको फैसलामा शाहलाई बलात्कार मुद्दाबाट सफाइ दिएर बाल यौन दुर्व्यवहार मुद्दामा २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले दिएको आदेशमा शाहलाई २५ हजार रूपैयाँ जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनसमेत आदेश दिएको थियो।
नवलपुर जिल्ला अदालतको आदेशमा उक्त अडिओ प्रेमी–प्रेमिकाबीचको वार्तालापजस्तो देखिएको बताएको छ। नवलपुर अदालतको आदेशमा भनिएको छ– ‘पीडित र प्रतिवादीबीच संवाद एवं छलफलको अडिओ क्लिप बनाइएको समग्र अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिकाजस्तो सम्बन्धमा रहे/बसेको देखिन्छ।’
नवलपुर जिल्ला अदालतले लोकप्रिय अभिनेतासँग नजिक हुन खोज्नु पीडितको गल्ती नहुने भन्दै अभिनयको लोकप्रियतालाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गल्ती हो भनेको छ। यसै आधारमा नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा सजाय तोकेको हो।
नवलपुर अदालतले बलात्कार मुद्दाबाट सफाइ दिएर बाल यौन दुर्व्यवहारमा सजाय सुनाएपछि जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। पुनरावेदन मुद्दामा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार फैसला दिँदै शाहलाई बलात्कार र बाल यौन दुर्व्यवहारको सजायबाट पनि सफाइ पाउने फैसला सुनाएको हो।
उच्च अदालतले शाहलाई सफाइ दिन नाबालिग र उनका परिवारले दिएको इन्कारी बयानलाई पनि आधार मानेको छ।
नाबालिग र उनका पक्षधरले तनहुँ र नवलपुर अदालतमा गत वैशाखमा बकपत्र गर्दा अभियुक्त शाहले आफूलाई बलात्कार नगरेको बयान दिएका थिए। यसै आधारमा तनहुँ र नवलपुर अदालतले पनि शाहलाई सफाइ दिएका थिए।
बलात्कार मुद्दामा पीडित 'होस्टाइल' हुँदैमा अभियुक्तले उम्किन नपाउने र होस्टाइल भएको प्रमाणित भए पीडितलाई पनि सजाय हुने कानुनी व्यवस्था छ। नाबालिग र शाहबीच भएका अडिओ संवादलाई प्रमाणका रूपमा विश्वास नगरेको अदालतले नाबालिग बलात्कार मुद्दामा ‘स्टारडम’ का आधारमा शाहलाई उन्मुक्ति दिएको भन्दै अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका छन्।
शाहले विवाह गर्ने आश्वासनसहित प्रेममा पारेर १७ वर्षीय नाबालिगलाई तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएका थिए। तनहुँ प्रहरीमा २०७८ फागुन ११ गते जाहेरी परेपछि शाह फरार भएका थिए। प्रहरीले खोजबिन गरिरहँदा उनले फेसबुकमा नाबालिगले आफूमाथि भएका बलात्कारसम्बन्धी जानकारी अन्य साथीहरूलाई बताएको अडिओ क्लिप राखेर आफूलाई फसाउने षडयन्त्र गरेको दाबी गरेका थिए।
शाहले सार्वजनिक गरेको अडिओ क्लिपमा पनि नाबालिगले आफूमाथि यौन शोषण भएको उल्लेख गरेकी छन्।
नाबालिगका परिवारले सुटिङका क्रममा नवलपुरमा मदिरा खुवाएर बलात्कार गरेको भन्दै २०७८ फागुन १५ गते प्रहरीमा जाहेरी दिएका थिए। नवलपुरमा जाहेरी दिएकै दिन शाहलाई तनहुँ प्रहरीले पक्राउ गरेको थियो।