प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेर पुस १० को गठबन्धन भत्काउन भूमिका खेल्ने नेतामध्ये पर्छन्- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का।
खड्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाडेर भए पनि चुनावका बेलाको पाँचदलीय गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए।
तर सभापति शेरबहादुर देउवाले कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएकोले पहिलो कार्यकाल प्रधानमन्त्री नछाड्ने अडान राखेपछि गत पुस १० मा गठबन्धन भत्कियो। नेकपा एमालेसहित ७ दल र ५ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।
चुनावकै बेलाको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिन शक्ति बाँडफाँट सहमतिसमेत बनेको थियो तर त्यो गठबन्धन कांग्रेस र माओवादीबीच असमझदारीले भत्कियो।
आफूहरूसँगको गठबन्धन छाडेर प्रचण्ड एमालेसहितको सहयोगमा प्रधानमन्त्री बनेको दिनदेखि उपसभापति खड्का भने प्रचण्डसँग झन् नजिकिएर संवाद गर्न थालेका थिए। चुनावका बेलाको गठबन्धन जोगाउन नसकेकोमा पार्टीभित्र देउवाको चर्को आलोचना भइरहेको थियो। तर देउवाले प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिए, गठबन्धन तोडेर गएकोमा तीतो पोखेनन्! खड्काले पनि उही शैली अपनाएर प्रधानमन्त्रीसँग दिनहुँजसो संवाद गरिरहे।
उपसभापति खड्काले यो कुरा गृहजिल्ला सुर्खेत पुगेर आज पत्रकारहरूलाई खुलाए। प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएकै साँझ करिब ७ बजेतिर आफूले बधाई दिँदै करिब १० मिनेट कुराकानी गरेको र त्यसैबेलादेखि चुनावी गठबन्धन प्राकृतिक हुने बताएकोले राष्ट्रपतिमा ८ दलबीच सहमति गर्दै रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने परिस्थिति विकसित हुन पुगेको खड्का बताउँछन्।
यतिमात्र होइन, गठबन्धन भत्कनुमा २ वटा मुख्य कारण रहेको उपसभापति खड्काले बताए। ‘आदरणीय केपी शर्मा ओलीले हाम्रो सभापति शेरबहादुर देउवालाई दिनुभएको धोका र गर्नुभएको ठूलो विश्वासघातको परिणाम अहिलेको नयाँ घटनाक्रम हो,’ खड्काले भने।
तर उनले यसमा थप व्याख्या भने गरेनन्। एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई के विषयमा धोका दिएका हुन् र विश्वासघात गरेका हुन् खड्काले खुलाएनन्। तर पुस १० मा कांग्रेस सभापति देउवा अपराह्न ३ बजेसम्म पनि एमाले अध्यक्ष ओली बालुवाटार आउँछन् भनेर पर्खेर बसेका थिए तर ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरे, जुन कुरालाई कांग्रेसले धोकाका रूपमा लिएको छ।
यो पनि: देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई
पुस १० को सात दलीय गठबन्धन भत्कनुको अर्को कारण भने खड्काले एमाले अध्यक्ष ओलीले संसदको रोष्टममा उभिएर गरेका भाषण हुन्। ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका थिए। त्यो प्रसंग उप्काउँदै संसद विघटन गरेर आफूले ठिक गरेको भन्ने सन्देश दिन ओलीले खोजेपछि प्रधानमन्त्री प्रचण्ड सोही दिन ‘झस्केको’ खड्का बताउँछन्।
‘२०७२ को संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन। पहिलेका संविधानमा यस्ता व्यवस्था थिए। पहिलेका कुरा निकालेर ओलीले संसद विघटन गर्नु ठिक थियो र अब पनि सकेका बेला विघटन गर्न सकिन्छ भन्ने आशयको कुरा राख्नुभयो,’ खड्काले भने, ‘ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरे पनि त्यो संवैधानिक थियो भन्ने जसरी कुरा राख्दा प्रधानमन्त्री प्रचण्ड झस्किनुभयो। ओलीलगत्तै प्रधानमन्त्रीले उक्त कुराको प्रतिवादसमेत गर्नुभएको थियो।’
ओलीले त्यसदिन संसदमा दिएका अभिव्यक्तिले आफूलाई झस्काएको र मनमा चिसो पसेको कुरा गत शुक्रबार ८ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकमा प्रचण्डले सुनाएको पनि खड्का बताउँछन्।
‘एजेन्डा नै नमिल्ने दलहरू अप्राकृतिक रूपमा पुस १० मा गठबन्धन गरेका थिए,’ खड्काले भने, ‘चुनावमा सँगै गएको र समृद्धि, संविधान रक्षा र शान्ति प्रक्रिया टुंग्याउने एजेन्डासहितको गठबन्धन नै प्राकृतिक हुन्छ र अब यो नै दीर्घकालीन रूपमा अघि बढ्छ।’
उनले राष्ट्रपति उम्मेदवार तय गर्दा ८ दलबीच सहमति बनेको र त्यो गठबन्धनलाई औपचारिकता दिन भने बाँकी रहेको बताए। ‘८ दलको सहयोगमा रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुनुहुनेछ,’ उनले भने, ‘यसपछि उपराष्ट्रपति निर्वाचन हुन्छ। त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ अनि मात्रै सरकार निर्माणको चरण आरम्भ हुन्छ।’
प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई/तीन दिनभित्र मन्त्रिपरिषद विस्तार हुने र पूर्णतासमेत पाउने दाबी गरेका छन्। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी लहरमा को बस्ने कांग्रेस र एमालेबीच आज विवाद हुँदा चैत ५ गतेसम्मलाई बैठक नै स्थगित गरिएको छ। सरकारमा गइनसकेकोले पनि कांग्रेसले प्रमुख प्रतिपक्षी आफूहरू नै भएको दाबी गरेको छ भने सरकार छाडेको र समर्थनसमेत फिर्ता लिएकोले प्रमुख प्रतिपक्षी आफूहरू भएको एमालेको भनाइ छ।
कांग्रेसले गत पुस २६ गते पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्दा प्रधानमन्त्रीलाई कुनै समस्या आएमा समर्थन गर्ने कांग्रेसले सहमति नै गरिसकेको थियो। कांग्रेसले आलोचना हुने डरले चुनावी समीक्षासमेत नगरेर दुई महिनामा एमालेसहित ७ दलीय गठबन्धन भत्काएको थियो। प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै सरकारमा जाने तयारीमा कांग्रेस छ।
यो पनि:
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण सुरू हुन्छ: उपसभापति खड्का
फेरि मन्त्री नबन्ने प्रण गरेका पूर्णबहादुर खड्का
दुई महिनामै भताभुंग भयो पुस १० को गठबन्धन, प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने