सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको उल्लेख गरिन्।
सरकारका प्रवक्ता समेत रहेका उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुश गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन्।
‘सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आग्रह गर्न चाहन्छु, प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ,’ उनले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमनको व्यवस्था गर्न पनि आग्रह गरिन्।
विश्वव्यापीरूपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको औँल्याइन्।
दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागतरुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने उनको भनाइ छ।
दूरसञ्चार क्षेत्रभित्रका विकृति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्बोधन गर्नुपर्ने बताइन्।
‘विश्वमा दूरसञ्चार तथा सूचना प्रविधिको महत्व, औचित्य र आवश्यकता दिनदिनै बढिरहेको छ, अहिले दूरसञ्चार सेवा अत्यावश्यकीय सेवाका रुपमा स्थापित भइसकेको छ, यसले जनजीविकाका सबै आयामलाई प्रभावित गर्दछ,’ उनले भनिन्।