नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यसमेत रहेका इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ।
पार्टी कार्यालयका सचिव गङ्गालाल तुलाधरले शोक वक्तव्य जारी गर्दै उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनको आकस्मिक निधनबाट पार्टी मर्माहत भएको उल्लेख गरेका छन्।
पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान गरेका उपाध्यायप्रति श्रद्धाञ्जली अपर्ण गरिएको सन्देशमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
शोकको यस घडीमा शोकलाई शक्तिमा बदलेर पार्टी निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकहरूमा अनुरोध गरिएको छ।
यसैबीच उपाध्यायको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि यही फागुन २२ गते दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिनेछ।
शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको छ तलाबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।