गोरखाको शहीद लखन गाउँपालिकाको क्षेत्रमा पर्ने बगरको ढुंगा, बालुवा तार्न ठेकेदारले त्रिशूली नदी नै थुनेर बाटो बनाइरहेका छन्।
शहीद लखन गाउँपालिकाले त्रिशूली बगरको ढुंगा, बालुवा उत्खननको ठेक्का सिन्धुपाल्चोकको बलेफी-३ को त्रियुग निर्माण सेवालाई दिएको थियो। उसले आफूले ठेक्का पाएको ठाउँको नदीजन्य पदार्थ उत्खनन् गरेर चितवनतर्फ ल्याउन नदी नै बन्द गरेर बाटो बनाएको हो।
चितवनतर्फको केही मिटरमात्रै छाडेर त्रिशूली नदीको बाँकी भागमा ढुंगा थुपारेर बाटो बनाइएको छ। यसले नदीको बाहबलाई केही मिटरमा सीमित गरेको छ।
शुक्रबार साँझ ५ बजेसम्म पनि केही कामदारहरू तारजालीभित्र ढुंगा राख्ने काम गर्दै थिए। ठेकेदारले अहिले साँघुरो क्षेत्रबाट बेगले पानी बगिरहेको ठाउँमा पुल बनाउने तयारी गरेको छ।
नदीको चितवनतर्फको क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ। उक्त वडाका वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले गाउँपालिकाको आग्रहलाई बेवास्ता गर्दै नदीमा संरचना बनाइएको बताए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार त्रियुग निर्माण सेवाले फागुनको सुरूतिर शहीद लखन गाउँपालिकाको बगरको नदीजन्य पदार्थ चितवनतर्फ ल्याउन सहजीकरण गरिदिन पत्र पठाएको थियो।
शहीद लखनको ठेवाटारको ढुंगा, बालुवा इच्छाकामनाको धारा-पानी तर्फ ल्याउन सहजीकरण गर्न उसले आग्रह गरेको थियो। इच्छाकामनाले फागुन ४ गते नदीको मूल प्रवाह नबिग्रने, आफ्नो तर्फको नदीजन्य पदार्थ नचलाउने र आफ्नोतर्फको आवागमन नबिग्रनेगरी काम गर्न अनुमति दिएको थियो।
‘लगत्तै उनीहरूले हाम्रोतर्फको बगर(धारापानी)बाट पारी तर्न नदीमा बाटो बनाउन थाले। हामीले फागुन १० गते नदीको बहाब नै परिवर्तन हुनेगरी अस्थायी बाटो र पुल निर्माण गर्न लागेको देखिएकाले त्यस्तो कार्य नगर्नु, नगराउनु भनेर शहीद लखन गाउँपालिकालाई पत्र लेख्यौं,’ अध्यक्ष गुरुङले भने।
पत्रमा अनुमति विपरीत हुनेगरी सीमाना नदीमा यस गाउँपालिकाअन्तर्गत पर्ने धारापानी बगरको नदीजन्य पदार्थ प्रयोग गरेर संरचना बनाउन लागिएको उल्लेख थियो।
गाउँपालिकाको पत्र र स्थानीयको विरोधपछि ठेकेदारले धारापानी बगरमा संरचना बनाउन रोक्यो। तर केही दिनमा उक्त स्थानभन्दा करिब ५ सय मिटर तल गोरखातर्फबाट संरचना बनाउन थाल्यो। उत्खननको अनुमति लिएकोभन्दा ५ सय मिटर तलबाट ढुंगाले नदी थुन्दै बनाइएको बाटो चितवनको लेवाटारसँग जोडिनै लागेको छ।
इच्छाकामना गाउँपालिकाले शुक्रबार पनि पत्र पठाएर नदीमा बनिरहेको संरचनाले वातावरण सन्तुलन, नदीको बहाब, नदीमा सञ्चालन भइरहेको पर्यटकीय गतिविधिमा प्रतिकूल असर पार्ने भएकाले शहीद लखन गाउँपालिकालाई सचेत बनाएको छ।
त्रिशूली नदीको यो क्षेत्र र्याफ्टिङका लागि चर्चित छ। धादिङको चरौंदी, हुग्दीदेखि चितवनको कुरिनटार, मुग्लिन हुँदै सिमलताल, गाइघाटसम्म र्याफ्टिङ सञ्चालन हुँदै आएको छ। दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक सहभागी हुने र्याफ्टिङ व्यवसायमा दुई सय जनाभन्दा बढीले रोजगारी पाएका छन्।
‘दर्जनौंको संख्यामा रिभर गाइडहरू गाउँपालिकामा आएर नदीमा बनिरहेको संरचनाका कारण र्याफ्टिङ व्यवसाय नै संकटमा पर्नेभयो भनेपछि फेरि पनि हामीले पत्र पठाएका छौं,’ गुरुङले भने, ‘इच्छाकामना गाउँपालिकाले त सकेको प्रयास गरेको छ तर बल प्रयोग गरेर रोक्ने अधिकार हामीसँग छैन। अन्य निकायको पनि सहयोग चाहियो।’
गुरुङले जिल्ला प्रशासन कार्यालय, चितवनबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पनि यस विषयमा जानकारी गराएको बताए।
वडाध्यक्ष उप्रेतीले केही दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नदीमा बनिरहेको संरचना हेरेर फर्किएको बताए।
‘गाउँपालिकाले आवाज उठाएको उठायै छ। अन्य निकायमा जानकारी पनि गराएको छ तर यसको ठेकेदारलाई असर परेजस्तो देखिन्न,’ उनले भने, ‘अन्य निकायहरू बोल्दै बोलेनन्।’
इच्छाकामनाको चिन्ता नदीको बाहब परिवर्तन गर्दा वातावरणमा असर गर्छ, गाउँ नै खतरामा पर्न सक्छ, पर्यटन व्यवसाय खलबलिन्छ, स्थानीयले रोजगारी गुमाउँछन् भन्ने छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नदीमा भइरहेको कामको विषयमा गोरखाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आधार माग गरेको बताए।
‘नदीजन्य पदार्थ उत्खनन्, नदी रोकेर बाटो बनाउँदा गरिएको वातावरण प्रभाव मूल्यांकनको कागज हेरेर त्रिशूली नदीमा संरचना निर्माण गर्नुपर्ने कारण जानकारी गराइदिनु भनेर उहाँलाई भनेको छु। जवाफ आइसकेको छैन,’ पौडेलले भने, ‘दुई जिल्लाको सीमानाको नदी भएका कारण समन्वय गरेर आवश्यक निर्णय गर्छौं।’
उनले जनप्रतिनिधिबाट गुनासो आएपछि आफूले केही दिनअघि अनौपचारिकरूपमा निरीक्षण गरेको बताए।
‘झट्ट हेर्दा मलाई त्यो राम्रो काम जस्तो लागेन,’ उनले भने, ‘पहिले चितवनतर्फबाट बाटो बनाउन लाग्दा लिखितरूपमै गुनासो आएपछि रोक्न निर्देशन दिइएको थियो। अहिले गोरखातर्फबाट बनाइरहेका छन्। यस विषयमा मौखिक गुनासोमात्रै आएको छ, लिखित आयो भने रोक्छु।’
शहीद लखन गाउँपालिकाका अध्यक्ष भन्छन्- हामीले ढुंगा बेच्ने हो, नदीमा बाटो बनेको सरोकार हुँदैन
शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले गाउँपालिकाले नियम पुर्याएर त्रिशूली नदीको बगरको नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएको बताए। ठेक्का पाइसकेपछि ठेकेदारले सामान कसरी लैजान्छ आफ्नो सरोकारको विषय नभएको उनले बताए।
‘हामीले वातावरणीय प्रभाव मूल्यांकन गरेर नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएका हौं। अब ठेकेदारले त्यसलाई कसरी लैजान्छ, कताबाट त्यो हाम्रो सरोकारको विषय भएन,’ अध्यक्ष थापाले भने, ‘नदी थुनेर बाटो बनिरहेको मलाई जानकारी पनि छैन।’
उनले नदी थुनेरै लगेपनि त्यो आफ्नो सरोकारको विषय नभएको बताए।
‘हामीले नदीजन्य पदार्थ बेच्न ठेक्का लगाएका छौं। त्यसको प्रक्रियाको विषयमा हामी जिम्मेवार हुने हो,’ उनले भने, ‘ठेकेदारले, सप्लायर्सले कताबाट लैजान्छ हाम्रो सरोकार हुँदैन।’
उनले इच्छाकामना गाउँपालिकाले पत्र पठाएको कुरा पनि आफूलाई जानकारी नभएको बताए।
गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईंले स्थानीय सरकारले प्रक्रिया पुरा गरेर ठेक्का लगाएको भनेपनि स्थानीयबासीले विरोध गरेको बताएका छन्।
‘स्थानीय सरकारले अधिकार प्रयोग गरेर ठेक्का लगाएको दाबी गर्दैगर्दा स्थानीय ठेवाटारबासीले असहमति प्रकट गर्नुभएकाले म र प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले सत्यतथ्य के हो बुझ्न स्थलगतरूपमा प्रयास गरेका थियौं,’ सांसद बजगाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नदी संरक्षण, नदी पर्यटन र गाउँको जोखिमको विषयमा हाम्रो गहिरो चासो छ।’
र्याफ्टिङ व्यवासायी भन्छन्- पेशा नै धरापमा पर्नेभयो
त्रिशूली नदीमा र्याफ्टिङ डुंगा सञ्चालन गर्ने एड्भेञ्चर रिभर ट्रायल्सका सञ्चालक कमल ठकुरीले नदीको बहाब थुनिँदा र्याफ्टिङ पेशा धरासयी बन्ने बताए।
३५ वर्षदेखि त्रिशूली नदीमा र्याफ्टिङ डुंगा सञ्चालन गर्दै आएका ठकुरीले नदीको बहाबलाई जाथाभावी परिवर्तन गर्दा पर्यटन व्यवसायमा गम्भीर असर पर्न थालेको बताए।
‘कोरोना महामारीका कारण थलिएको व्यवसाय विस्तारै उठ्दै थियो नदी नै थुनेर बाटो, पुल बनाउन थालेपछि हामीलाई चिन्ताले सताएको छ,’ उनले भने, ‘गाउँपालिकालाई यस विषयमा जानकारी गराएका छौं। नदीमा मनलाग्दी संरचना बन्नुहुँदैन भन्ने माग हामीले राखेका छौं।’
त्रिशूलीमा अहिले एक दर्जन बढी कम्पनीहरूले र्याफ्टिङ व्यवसाय सञ्चालन गरेका छन्। यहाँ करिब २ सय वटा डुंगाहरू चल्ने गरेको ठकुरीले बताए। दैनिक दुई सय जनाभन्दा बढी पर्यटकहरू र्याफ्टिङका लागि आउने गरेको उनले बताए।
तस्बिरहरू: