नयाँ उपराष्ट्रपति पदका लागि मतदान भइरहेको छ।
नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेबाट मतदान प्रक्रिया शुरु भएको हो।
दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।
पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्। अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन्।
उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन्। अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।
हेर्नुहोस् तस्बिरहरू