नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राजनीतिक रूपमा स्वतन्त्र नरहेको आरोप लगाएका छन्।
बिहीबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले प्रचण्ड आफूहरूजस्तो स्वतन्त्र रूपमा राजनीति गर्न सक्ने व्यक्ति नभएको र अरूबाट निर्देशित तथा सञ्चालित भएको दाबी गरे।
‘प्रचण्डले म तपाईंहरूजस्तो स्वतन्त्र छैन र मेरा बाध्यताहरू छन्। त्यस अर्थमा सँगै जान सकिएन भनेर भन्नुभयो,’ महासचिव पोखरेलले भने, ‘उहाँले बोलेको भित्री कुरा नै सही होला नि त, बाहिर राजनीतिक रूपमा मिलाएर बोल्नु अलग कुरा हो। उहाँ स्वतन्त्र हुनुहुन्न।’
महासचिव पोखरेलले अहिले प्रचण्ड हिँडिरहेको बाटो असुरक्षित रहेको पनि दाबी गरे।
‘तर उहाँ अहिले जुन बाटो हिँड्दै हुनुहुन्छ उहाँका लागि त्यो असुरक्षित बाटो हो,’ उनले भने, ‘यो निश्चित हो र त्यसको परिणाम हेर्नका लागि धेरै पर्खिनु पर्दैन भन्ने लाग्छ मलाई।’
उनले दश दलीय गठबन्धन धेरै लामो चल्न नसक्ने दाबी गरे। गठबन्धन दलहरूका बीचमा स्वार्थहरू मिल्छन् कि मिल्दैनन् भन्ने कुरा अहम् रहेको भन्दै राजनीतिक स्वार्थ मिलाउन नसके देश फेरि मध्यावधि चुनावतर्फ जान सक्ने बताए।
त्यस्तै, उनले प्रधानमन्त्री प्रचण्डले यसअघि पाँच दलीय गठबन्धन तोडेर आएपछि नेकपा एमालेको सहभागितामा नयाँ सरकार बन्ने बित्तिकै ओरालो लागेको अर्थतन्त्रमा सुधार देखिएको उनले बताए। त्यतिखेर पुँजी बजारमा सकारात्मक संकेत देखिएको, राजश्व वृद्धि हुन थालेको, रेमिट्यान्स उल्लेखीय मात्रामा बढेको, विदेशी मुद्राको संचय बढेको, पुँजीगत खर्च गर्ने कुरालाई पनि तीव्रता दिने खाले स्थिति उत्पन्न भएको बताए।
सरकार सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बेलामा नाटकीय रूपमा फेरि पुरानै समीकरणतर्फ फर्किने खेल हुँदा फेरि अर्थतन्त्र ओरालो लाग्न थालेको उनले दाबी गरे।
‘एउटा देशभक्त राजनीतिक शक्तिलाई सरकारबाट बाहिर राख्न चाहने भित्री र बाहिरी तत्वहरूको परिणामका रूपमा फेरि पुरानै समिकरण बनेको हो,’ उनले भने, ‘देश र जनताले रूचाएको र आर्थिक सुधार गर्न थालेपछि गरिएको नाटक मञ्चन धेरै टिक्नेवाला छैन।’