नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन्।
शुक्रबार साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन्।
'बालबालिकालाई बाँच्न, नाच्न र हाँस्न सिकाऔं, बढी तनाव दिने काम नगरौं, मेहनत गर्न सिकाऔं,' उनले भने, 'बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन।'
महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए। एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो।
'साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो। बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ,' उनले भने।