नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्।
नेपाल तरूण दल जिल्ला कार्यसमिति काभ्रेले शनिबार बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र संगठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन्।
अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताएकी हुन्।
‘अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरूणहरूका लागि चुनौती हो,’ उनले भनिन्, ‘भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरू बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन।’
अरू जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रमा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन्।
तरूण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि संगठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उनले जोड दिए।
सो क्रममा उनले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उनले सुझाव दिए।