कोशी प्रदेश यतिबेला नामका कारण तनावमा छ। चैत ५ मा विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बूको मृत्यु भएपछि पछिल्लो समय तनाव झनै चुलिने अवस्थामा छ।
आन्दोलनकारीहरू प्रदेश सरकारले वार्ताका लागि आह्वान गर्ने आशामा थिए। तर, सोमबार बिहान सम्पन्न प्रदेश मन्त्रिपरिषद बैठकले उल्टै कोशी नाम राख्न भूमिका गर्ने सबैलाई धन्यवाद दिने र मृतक लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ। आन्दोलनकारी सरकार आँखामा छारो हाल्न उद्यत रहेको बताइरहेका छन्।
कोशी नामको विवाद राजनीतिक मञ्चमा मात्रै सिमित छैन। नेपाली भाषा प्रयोगको अर्को ठूलो मैदानमा पनि यो विवाद चुलिएको छ।
खासगरी ‘कोशी’ कि ‘कोसी’ भन्ने विवाद यतिबेला भाषाविद्हरू बीचमा छ। नामकरण भइसकेपछि सञ्चारमाध्यमदेखि सरकारले नै प्रयोग गरेको भाषामा पनि कतै ‘कोशी’ छ अनि कतै ‘कोसी’। यसरी प्रदेशको नाम लेख्ने सवालमै एकरूपता नहुँदा विवाद देखिएको छ।
सार्वजनिक रूपमा प्रयोग भएकोमा मात्रै होइन, भाषाविद्हरूकै राय पनि यो मामिलामा फरक छ। भाषाविद् हेमाङ्गराज अधिकारी बृहत् नेपाली शब्दकोशमा प्रयोग भएको ‘कोसी’ नै सही हुने बताउँछन्।
‘कोसीमा पातलो स नै हुनुपर्ने हो, बृहत् नेपाली शब्दकोशले यही भनेको छ’, अधिकारीको तर्क छ ‘यो तद्भव शब्द हो। कौशिकीबाट आएको शब्द हो। यो भनेको पुराणबाट नै आएको हो। त्यसैले यसमा पातलो स नै प्रयोग गर्नु सही हुन्छ।’
नेपाली वर्णमालामा तीन थरी ‘श, स र ष’ प्रयोगमा छन्। आरम्भिक रूपमा वर्णमाला सिकाउँदैदेखि विद्यार्थीलाई यी तीन अक्षरको फरकबारे बताउने गरिन्छ। तर, यति लामो प्रयोगको इतिहास भएको र बृहत् नेपाली शब्दकोशले किटान गरेको अक्षरभन्दा भिन्न प्रयोग गर्दै नामकरण भएको छ, कोशी।
अहिलेसम्म नेपाली भाषाको लेख्य स्वरूपको मानक नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशलाई मानिँदै आएको छ। प्रज्ञाको शब्दकोशमा ‘कोशी’ शब्द नै छैन। त्यहाँ ‘कोसी’ मात्रै उल्लेख छ। तर, प्रदेश सभाले पारित गरेको नाम भने ‘कोशी’ हो।
भाषाविद्हरू शरदचन्द्र वस्ती र केदार शर्माको तर्क भने फरक छ। उनीहरू दुबैको एकै स्वर छ, ‘कोशी नै सही हो। प्रज्ञा प्रतिष्ठानको शब्दकोश नै बिगारेर कोशीलाई ‘कोसी’ बनाइएको छ। शहीदलाई सहिद बनाइएको छ। दशैँलाई दसैं बनाइएको छ। यो मनपरी गरिएको छ। सही कोशी नै हो।’
उनीहरूका अनुसार नेपालीहरूले दशकौंदेखि पढ्दै आएको ‘कोशी’ हो। नेपाली भाषाबारे सार्वजनिक रूपमै विमर्श गर्न रूचाउने केदार शर्मा प्रज्ञा प्रतिष्ठानको शब्दकोशलाई आधिकारिक मान्न नसकिने बताउँछन्।
त्यसो भए प्रदेशको नाम कोशी हो कि कोसी? शर्माको उत्तर छ, ‘कोशी नै हो। शब्दकोशमा नभए पनि सरकारले राजपत्रमा प्रयोग गरेपछि त्यही आधिकारिक हो।’
भाषाविद् अधिकारीचाहिँ बृहत् नेपाली शब्दकोषलाई मानक मान्नुपर्ने बताउँछन्।
अहिलेसम्मको अभ्यास पनि अधिकारीले भने जस्तै छ। भाषाबारे केही गाँठो फुकाउन परे अहिले पनि सबैले सहयोग लिने अन्तिम ठाउँ बृहत् नेपाली शब्दकोश नै हो। यसबारे प्रशस्त विमर्श भइरहे पनि यही शब्दकोशलाई नै आधार ठान्ने गरिन्छ।
यस अनुसार प्रदेशको नाम ‘कोसी’ नै हो। बृहत् नेपाली शब्दकोशअनुसार कोसीका तीन वटा अर्थ छन्। कोसीको पहिलो अर्थ ‘दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो , सानो आरी’ भनिएको छ। कोसीको अर्को अर्थ लगाउँदै भनिएको छ ‘पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दूधकोसी, तामाकोसी, तमोर, अरूण र लिखु मिलेका प्रसिद्ध सात नदी, सप्तकोसी’ भनिएको छ।
कोसीको तेस्रो अर्थमा भनिएको छ ‘नेपालका चौध अञ्चलमध्ये तथा पूर्वाञ्चल विकास क्षेत्रका तीन अञ्चलमध्ये मेची र सगरमाथाका बीचमा रहेको, उत्तरतिर चीन र दक्षिणतिर भारतसँग सिमाना जोडिएको एक अञ्चल।’
संघीयता कार्यान्वयनमा आइसकेपछि अञ्चल र विकास क्षेत्रको अस्तित्व समाप्त भइसकेको छ। अघिल्ला दुईमध्ये प्रदेश सभाले पारित गरेको ‘कोशी’ कोसी नदीकै नाममा राखिएको हो। यसबारे प्रदेश सभामा पेश भएको प्रस्ताव हेरौं।
नामकरणको प्रस्ताव फागुन १७ मा प्रदेश सभामा पेश हुँदै गर्दा प्रस्तावक रहेका नेकपा (एमाले) इलामका प्रदेश सांसद राम राना मगरले भनेका थिए, ‘हाम्रो प्रदेशको सभ्यता विकासमा कोसी नदीको महत्व ठूलो छ। प्रदेशका केहीबाहेक हरेक जिल्ला यही नदीको पानीबाट सिञ्चित छन्। त्यसैले प्रदेशको नाम कोसी सबैभन्दा उपयुक्त हुन्छ भन्ने लागेरै हामीले यो नाम प्रस्ताव गरेका हौं।’
उनको प्रस्तावका पक्षमा एमाले, कांग्रेस, माओवादी र राप्रपा उभिएपछि ९३ सदस्यीय प्रदेश सभा सदस्यमध्ये ८२ जनाले मत हाले। नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ गरी ५ जना मात्रै विपक्षमा उभिएपछि दुई तिहाइ बहुमतले प्रदेशको नाम ‘कोशी’ राख्ने निर्णय पारित भयो।
फागुन १८ मा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यसबारे ‘सबैको जानकारीका लागि सूचित’ पनि गर्यो।
नेपाली शब्दकोशमै नभएको ‘कोशी’ नामचाहिँ कसरी प्रदेशसभाले पारित गर्यो त?
केही नेताहरू भने नाममा कुनै भाषिक नियम नलाग्ने बताउँछन्। यद्यपि उनीहरू यसलाई ज्यादै सामान्य विवाद भनेर टार्न खोजिरहेका छन्।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भने यसबारे विवाद देखिएको स्वीकार्छन्।
‘पारित भएपछि कोशी कि कोसी भन्ने विवाद देखिएको छ’, उनले भने ‘यदि शब्दकोशलाई मानक मानेर ‘कोशी’ लाई ‘कोसी’ बनाउने हो भने फेरि संसदीय प्रक्रियाबाट अघि बढ्नुपर्ने हुन्छ।’
यसका लागि संसद्को दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने उनको भनाइ छ।
‘प्रदेश सभाको दुई तिहाइ मतबाट कोशी नाम पास भएको छ’, पराजुलीले भने ‘अब अर्को कोसी पास गर्न पनि दुई तिहाइ नै चाहिन्छ।’
यो सम्भावनाबारे भने दलहरूले निर्णय लिनुपर्ने उनको भनाइ छ।
कोसी नै आधिकारिक नाम हुने भन्दै बृहत् नेपाली शब्दकोश प्रकाशन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले कूलपति भूपाल राई छन्। उनी कोशीको विवादबारे आफूले केही नभन्ने बताउँछन्।
‘हामीले सानैदेखि पढ्दै आएको कोशी नै हो, अहिलेको शब्दकोशमा पातलो स मात्रै रहेछ,’ उनले भने, ‘म भाषाको मानक यही नै हुनुपर्छ भन्ने आधिकारिक पात्र होइन। विज्ञ पनि होइन। मेरो नेतृत्वमा आएको एकेडेमीको नयाँ समितिले भाषाको मानक खडा गर्न विज्ञहरूको कार्यदल बनाउने तयारी गर्दैछ। हामी तयारी र बृहत् अध्ययन गरेर शब्दकोश परिमार्जन गर्ने र यसलाई कम विवादरहित बनाउने तयारीमा छौं।’
शब्दको अर्थ मात्रै होइन, शब्दकोशको ‘कन्टेन्ट’ मा पनि ठूलै परिमार्जनको आवश्यकता रहेको उनी बताउँछन्।
‘यसअघिको समितिले प्रकाशन गरेको शब्दकोशले धेरै जाति समुदायलाई अपमानित गरेको विवाद उठेको पनि हामीले देख्यौं’, उनले भने ‘यसरी शब्दकोशको कन्टेन्टमा पनि परिमार्जन गर्ने गरी हामी तयारीमा लागेका छौं। अहिले कोसी कि कोशी भन्ने विवादको छिनोफानो हामी गर्दैनौं।’