वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भइकन पनि नगरभित्रको सार्वजनिक यातायात निकै कमजोर छ।
सार्वजनिक यातायातको साधनका रूपमा तीनपांग्रे अटोरिक्सा मात्र छन्। यी अटोरिक्साले जोखिमपूर्ण रूपमा यात्रु बोक्छन् र आफूखुसी भाडा असुल्छन्।
नगरपालिकाले भाडादर निर्धारण गरेको छ तर त्यसको अनुगमन छैन।
यहाँ चल्ने अटोरिक्साका लागि नगरपालिकाले २०७५ मा ‘अटो तथा ई–रिक्सा व्यवस्थापन कार्यविधि’ बनाएर नियमनको व्यवस्थासहित भाडादर निर्धारण गरको थियो।
अटोरिक्सा तथा ई–रिक्साले प्रतिव्यक्ति न्यूनतम २० रुपैयाँ लिन पाउने र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैयाँका दरले थप हुने प्रावधान थियो।
कच्ची सडकमा प्रतिकिकिलो मिटर १० रुपैयाँ थप हुने प्रावधान थियो।
करिब एक वर्षअघि नगरपालिकाले उक्त भाडादर वृद्धि गर्यो। अटो तथा ई–रिक्सा व्यवस्था समितिको सिफारिसमा भाडादर बढाइएको थियो। न्यूनतम भाडा २० रुपैयाँ नै कायम छ। प्रतिकिलोमिटर थप हुनेमा पक्की सडकमा ८ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर थप १२ रुपैयाँ तोकिएको छ।
रिजर्भमा जाँदा भने प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने प्रावधान छ।
यात्रुका लागि भने नगरपालिकाले तोकेको भाडादर अर्थहीन छ। चालकहरूले मोलमोलाइमा भाडा लिने गरेका छन्।
वीरेन्द्रनगरमा सञ्चालित अटो तथा ई–रिक्साको भाडामा चालकहरूको मनोमानी रहेको कुरा ‘व्यवस्थापन समिति’ को अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएका ९ प्रकारका समस्यामध्ये एउटा बुँदामा ‘तोकिएको भन्दा बढी र मनोमानी भाडा यात्रुबाट असुल्ने गरेको’ भन्ने छ।
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने मानिसको संख्या प्रदेशका अरू स्थानीय तहको तुलनामा निकै बढी छ।
वीरेन्द्रनगरभित्र यात्रा गर्ने यात्रुहरूका लागि यहाँको सार्वजनिक सवारी साधन भनेकै अटोरिक्सा हो। अरू विकल्प नै नभएपछि अटो व्यवसायीहरूले आफूखुसी भाडा असुल्न पाएका हुन्।
नगरपालिकाभित्र ९ सयको हाराहारीमा अटोरिक्सा छन्। यति संख्याका यी साधानमा नियमन हुन सकेको छैन।
वीरेन्द्रनगरमा अटोरिक्साले गरेको मनपरी रोक्न गर्न नगरपालिकालाई चुनौती छ। नगरपालिका आफैँले ‘नगरबस’ चलाएमा समस्या समाधानमा सहयोग पुग्न सक्छ तर नगरबस चलाउने योजना नगरपालिकासँग छैन।
प्रदेश राजधानी भएपछि सवारी साधानको बढ्दो चाप कम गर्न र अटोरिक्साको मनोमानी नियन्त्रण गर्न नगरपालिकाले आफ्नै यातायात सञ्चालन गर्नु जरुरी रहेको ‘सुर्खेत काँक्रेबिहार यातायात प्रालि’ का अध्यक्ष रमेश सापकोटा बताउँछन्।
‘यहाँ मनपरी भाडा लिने र ट्राफिक नियम मिच्नेको बिगबिगी छ। अटोरिक्साका ८० प्रतिशत चालकसँग लाइसेन्स छैन,’ उनी भन्छन्, ‘सहरीकरणसँगै बढेको यातायातको चाप व्यवस्थित गर्न र प्रदूषण कम गर्न नगरपालिकाले आफ्नो मातहत यातायात सञ्चालन गर्नुपर्छ।’
वीरेन्द्रनगरले आफ्नो नीतिमा नगरबस सञ्चालनको बुँदा समावेश गरेको छ। आन्तरिक स्रोत नभएकाले कार्यान्वयनमा गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीको भनाइ छ।
उनका अनुसार नगरबस सञ्चालन गर्न प्रारम्भमै कम्तीमा दुई करोड रुपैयाँ बजेट चाहिने अनुमान छ। नगरपालिकाको स्रोतले त्यति बजेट पुग्दैन।
‘नीतिमा समावेश गरिएको छ। हामीले गर्नै पर्ने काम त हो तर अहिले स्रोतको व्यवस्थापन हुन नसकेकाले रोकिएको छ,’ तिवारीले भने, ‘निजी क्षेत्रले लगानी गर्ने र नगरपालिकाले नियमन गर्ने काम गर्न सकिन्छ तर लगानीकर्ताहरू इच्छुक देखिएका छैनन्।’
नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र सवारी व्यवस्थापनका लागि प्रारम्भमा कम्तीमा चारवटा बस सञ्चालन गर्नु पर्ने निष्कर्ष निकालेको छ।
मुख्य राजमार्गमा दुई वटा र भित्री बाटोहरूमा दुईवटा बस चलाउन आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत तिवारीको भनाइ छ।
निजी क्षेत्रका यातायात व्यवसायीहरूले भने वीरेन्द्रनगरभित्र यातायात व्यवस्थापन गर्न नगरपालिकाले कम्तीमा १५ वटा बस चलाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
‘यात्रुहरू धेरै समय कुर्न सक्दैनन्। एकै समयमा दुईतर्फी बस चल्नुपर्छ,’ सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष सापकोटा भन्छन्, ‘बढ्दो सवारी चाप कम गर्न र सस्तोमा सेवा दिन साना र ठूला गरी १५–२० वटा बस चलाउनु पर्छ।’
नगरपालिकाले साझेदारीमा नगरबस चलाउन चाहे निजी क्षेत्र तयार रहेको उनले बताए। तत्काल बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्था भएकाले निजी क्षेत्रले मात्र लगानी गर्न नसक्ने उनको भनाइ छ।
वीरेन्द्रनगरको भन्दा निकै कम जनसंख्या रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नै मातहत यातायात सञ्चालन गरेको छ। कर्णाली प्रदेशमा ‘नगरबस’ चलाउने पहिलो नगरपालिका चौरजहारी नै हो।
चौरजहारीले २०७६ सालमा तीन वटा नगरबसबाट सेवा सुरु गरेको थियो। हाल पाँच वटा छन्। ती नगरबस सबै वडाहरूमा पुग्ने गरेको चौरजहारीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए।
उनका अनुसार नगरबस सञ्चालन गरेपछि नगरभित्रका कच्ची सडकमा तीनपांग्रे अटोरिक्साले जोखिमपूर्ण ढंगले मानिस ओसार्ने काम बन्द भएको छ।
‘अहिले उपत्यकाभित्र छोटो दूरीमा अटोरिक्साले पनि सेवा दिएका छन्। जोखिम कम भएको छ,’ ढकाल भन्छन्, ‘नगरबस सञ्चालन गरेपछि टाढाका वडाबाट नगरपालिकाको केन्द्र आउने यात्रुलाई पनि सुविधा भएको छ।’
चौरजहारीले चलाएका पाँच वटा बसमध्ये एउटा बस जिल्ला सदरमुकाम मुसिकोटका लागि चल्छ। चारवटाले नगरभित्रै सेवा दिन्छन्।
ती नगर बसमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई भाडामा ५० प्रतिशत छुट छ।
‘भाडा सस्तो छ। यात्रा भरपर्दो भएकाले नगरबसमा यात्रु बढी आकर्षित छन्। बस अझै बढाउनुपर्ने आवश्यकता छ,’ ढकालले भने।
नगरबसका चालक र कर्मचारी नगरपालिकाकै कर्मचारीका रूपमा छन्। नगरबस सञ्चालन गरेपछि आन्तरिक राजस्व पनि केही थपिएको ढकालले बताए।
जाजरकोटको भेरी नगरपालिकाले २०८० वैशाखदेखि नगर बस चलाउने भएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीका अनुसार यसका लागि कार्यविधि बनाउने काम भइरहेको छ।
‘छलफलबाट निष्कर्षमा पुगेका छौँ। कार्यविधि बनाउन एउटा समितिलाई जिम्मा दिएका छौँ,’ जैसीले भने, ‘आउने वैशाखदेखि बस सञ्चालन गर्ने योजना छ। कार्यविधि बनाएर पारित गर्न समय बढी लाग्यो भने थोरै पछि धकेलिन सक्छ।’
बस खरिदका लागि प्रारम्भमा कम्तीमा ७५ लाख रुपैयाँ लाग्ने अनुमान भेरी नगरको अनुमान छ। नगरबस सञ्चालनको जिम्मा नगरपालिकाले आफैँले लिने कि निजी क्षेत्रलाई दिने भन्ने टुंगो लागिसकेको छैन।