नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा उम्मेदवार टुंगो लगाएको छ।
आज सानेपामा बसेको बैठकमा बारा २ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउनेबारे छलफल भएको छ।
तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
उनकाअनुसार बारा २ मा के गर्ने भन्नेबारे पार्टीले औपचारिक निर्णय भने चैत १९ गते गर्नेछ। गत मंसिर ४ को चुनावमा जसपाका तत्कालीन नेता रामसहायप्रसाद यादव बारा २ बाट निर्वाचित भएका थिए। उनी चैत ३ मा उपराष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त छ।
बारा २ मा उपनिर्वाचन लड्न जसपाले अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ। यादवले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई धुम्बाराहीमा भेटेर बारा २ मा सहयोग गर्नुपर्ने माग गरेका थिए। देउवाले सहयोग गर्ने 'बचन' दिएका थिए।
तर कांग्रेसभित्र भने बारा २ मा पनि उपनिर्वाचन लड्नुपर्ने मत छ। नेता शेखर कोइरालालगायतले बारा २ मा कांग्रेसकै उम्मेदवार हुनुपर्ने अडान राखेको स्रोतले जानकारी दियो।
चितवन २ मा भने पूर्वसभापति जितनारायणलाई उम्मेवार बनाउने निर्णय भइसकेको छ। पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै जितनारायणले यसपालि चितवन २ मा आफूले चुनाव जितेर आउने बताए।
गत मंसिर ४ मा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।
त्यहाँ रास्वपाका सभापति लामिछाने उठ्ने पक्कापक्की छ। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्ति गरिसकेका छन्। उनी निर्वाचनको तयारीमा छन्। उनीविरूद्धको राहदानी मुद्दामा पनि महान्यायाधीवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिसकेको छ।
यस्तै तनहुँ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य गोविन्दलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ। गत मंसिर ४ मा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल यो क्षेत्रबाट निर्वाचित भए पनि फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए।