धरान उपमहानगरपालिका वडा नम्बर १८ को बुद्धचोक नजिकै एउटा ग्रीन टी स्टेसन छ। त्यही स्टेसनमा ग्रीन टी पिउँदै गफिने मेयर हर्क साम्पाङको प्रस्ताव थियो। यो उनको स्थायी अड्डा पनि हो। यहाँ उनी ग्रीन टी पिउँदै धरानवासीसँग प्रत्यक्ष र सामाजिक सञ्जालमार्फत अरू धेरैसँग अन्तरक्रिया गरिरहेका हुन्छन्।
भेट्न बोलाएको उक्त ठाउँमा पुग्दा उनी साइकल चलाउँदै टुप्लुक्क आइपुगे। ‘माथि डाँडामा पहिरो गएको ठाउँमा डोजर पुर्याएर आ’को’, उनले भने।
गत वर्ष वैशाखमा ठूला दलका उम्मेदवारलाई पछि पार्दै मेयरमा चुनिएपछि स्वतन्त्र उम्मेदवार साम्पाङको चर्चा चुलिएको थियो।
अहिलेसम्म उनले जनविश्वास जोगाएर राखेका छन्। तर धरानको कार्यपालिका टिममा भने मिल्न सकेका छैनन्। उनीसँग विमति राखेर वडाध्यक्षहरू आन्दोलनमा छन्। त्यसो त कार्यपालिका सदस्यहरू उनीविरुद्ध एकताबद्ध भएको यो पहिलोपटक होइन। यही सन्दर्भमा हामीले मेयर साम्पाङसँग कुराकानी गरेका छौं। उनलेले धरानमा देखिएको विवाद, श्रम अभियान तथा अबका योजनाबारे सेतोपाटीसँग खुलेर कुरा गरे।
आफू कहिल्यै कमजोरी नगर्ने भन्दै आएका उनले हामीसँगको कुराकानीमा यसपटक आफ्नो कमजोरी पनि स्वीकार गरेका छन्। सेतोपाटीका राजु अधिकारीसँग उनले गरेको कुराकानीको सम्पादित अंश :
धरान उपमहानगरको मेयरमा तपाईं निर्वाचित हुनुभएको ११ महिना भएको छ। यो अवधिमा गरेका काम के हुन्? स्वमूल्यांकन कसरी गर्नुहुन्छ ?
हामीले धरानमा थुप्रै कामहरू गरिरहेका छौँ। ती सबै कामको फेहरिस्त भन्नुभन्दा पनि हामीले यसबीचमा गरेको मुख्य काममै केन्द्रित हुन चाहन्छु। हामी निर्वाचित भएर आएपछि धरानमा नयाँ काम गरिरहेका छौँ। त्यो भनेको, श्रम अभियान चलाउनु हो। धरानमा मैले केही नयाँ गरेँ, ठूलो गरेँ, बृहत् गरेँ र व्यापक गरेँ भन्ने केही छ भने त्यो श्रम अभियान नै हो।
हाम्रो श्रम अभियानले धरानको विकास अरू ठाउँको भन्दा दुई गुणा बढी दरमा भइरहेको छ। अरू ठाउँमा बजेटको विकासमात्रै हुन्छ। बजेटको विकास जहाँ पनि हुन्छ। त्यो ठेकेदारले गर्ने विकास हो। ठेकेदारले गर्ने विकास जहाँ पनि हुन्छ। हो, ठेकेदारले गर्ने विकासमा पनि जनप्रतिनिधिको दायित्व र निगरानी चाहिन्छ। हामी गरिरहेका छौँ। हरेक योजनालाई वर्षको अन्तिममा पुर्याउने प्रवृत्तिविरुद्ध म कठोर रुपमा पेश भइरहेको छु। हरेक काम समयमा गरौँ, गुणस्तरीय र छिटो छरितोरूपमा गरौँ भन्नेमा मेरो जबरजस्ती नै छ।
फेरि थप्छु, ठेकेदारमार्फत हुने नियमित विकासका काम जहाँ पनि भइरहेका छन्। धरानमा चाहिँ श्रमदानबाट विकासको लहर अघि बढेको छ। यसबीचमा मैले लाखौँलाई ढुंगा बोकाको छु। माटो छुवाएको छु। यो देशको विकाससँग जनतालाई जोड्ने काम गरेको छु। श्रमसंस्कृतिको विकास गरेको छु। यसले सबैभन्दा ठूलो सद्भाव, एकता कायम हुन्छ। यस्तो वर्किङ कल्चरले बिचौलिया भएर, दलाल भएर जिउ पाल्नुपर्छ भन्ने ट्रेन्ड भत्काउँछ। कामलाई र श्रमिकलाई सम्मान गर्नुपर्छ भन्ने भाव जगाउँछ। धरानको मेयर भएर मैले सन्तोष मान्ने गरिको केही काम भएको छ भने यही हो।
जिम्मेवारी सम्हालेको अर्को सातादेखि नै तपाईंले श्रम अभियान चलाउनुभएको थियो। यो अभियानको उपलव्धि चाहिँ के–के हुन्?
मैले हिजो अभियन्ता हुँदादेखि नै यहाँको खानेपानी समस्याबारे आवाज उठाउँदै आएको हुँ। चुनावमा पनि मेरो मुख्य एजेन्डा खानेपानीकै थियो। म त्यसैमा केन्द्रित भएर लागिपरेको हुँ। धरानमा हरेक वर्ष असोजदेखि नै खानेपानीको ट्यांकर कुद्थ्यो। अहिले हेर्नुस् त ट्यांकर कुदेको छ? धरानवासीले पहिलेजस्तो खानेपानी समस्या भोग्नुपरेको छैन। यो मेरो मनोगत हैन, तथ्यपरक दाबी हो। तपाईँहरूले चुनावका बेला जसरी सर्भे गर्नुभयो, त्यसैगरी सर्भे गरेर सोध्नुहोला। अहिले चैत मध्यसम्म पनि यहाँ ट्यांकर कुदेको छैन। यसरी हामीले खानेपानीमा देखिने परिवर्तन ल्यायौँ।
श्रम अभियानको अर्को मुख्य पाटो तीन वटा छ। यसले निश्चय नै विकासमा ठूलो सहयोग गर्छ। विकास बजेट र ठेकेदारले मात्रै गरेर पुग्दैन। अर्को, यस्तो अभियानले सामाजिक एकता कायम गराउँछ। श्रम गर्दा हामी पार्टी सोध्दैनौँ, जात धर्म केही सोध्दैनौँ। समाजका सबै तह र वर्गका मान्छेहरू यहाँ आएपछि श्रमिक हुन्। मेयर पनि श्रमिक हो। सबै श्रमदाता हौँ। यसले हामी समान हौँ भन्ने भावनाको विकास गरेको छ।
अर्को, श्रम संस्कृतिले हामीलाई निरोगी पनि बनाउँछ। श्रम नगरेका कारण मान्छे रोगी भयो। काम गर्छु, पसिना बगाउँछु भन्नेहरू स्वस्थ छन्। मोबाइल र ल्यापटपमा भुलेर मात्रै हुन्छ? प्रकृतिले मान्छेलाई बेस्सरी माटोसँग जुध, खेल भनेर पठाको हो। हिँडेर दुनियाँ चहार्नु भनेर पठाएको हो। सुविधाभोगी हुँदा शारिरीकरूपमा मान्छे कमजोर भयो। शारीरिकरूपमा कमजोर मान्छे मानसिकरूपमा पनि कमजोर हुन्छ। यी सबै हिसाबले श्रम गर्ने काम राम्रो हुन्छ। अहिले हरेक दिन हेर्नुस्, धरानका भीर पाखामा मान्छे झुन्डेर काम गरिरहेका हुन्छन्। त्यही कुरा मेरो सफलता हो। मैले मेयर भएर कति बाटो थपेँ, कति विरुवा रोपेँ, अस्पताल कति बनाएँ भन्ने भन्दा पनि मैले कति मान्छेलाई माटोको, देशको माया जगाउन सकेँ?, कतिलाई माटोसँग छुवाएँ, कतिलाई यो देशको माटोको उपयोगिताबारे चिन्तन गर्ने बनाएँ भन्ने कुराले मेरा लागि बढी अर्थ राख्नेछ।
तर, मेयरले यसरी सधैँ ढुंगा बोक्ने, पाइप तान्ने काम गरेर, अरूलाई लगाएर मात्रै हुँदैन भन्ने आवाज चर्को छ। त्यसमा तपाईंको जवाफ के हुन्छ?
मैले सुरुदेखि नै भन्दै आएको छु, मेयर भनेको जन्मदर्ता र बिहे दर्ता गरेर बस्ने पञ्जीकरण शाखाको कर्मचारी होइन। ऊ जनप्रतिनिधि हो। धरानको नेतृत्वकर्ता हो। त्यो नेतृत्वकर्ताले नियमितरूपमा हुँदै आएका बाटो बनाउने, भवन बनाउने काममा अल्झेर बस्ने होइन। म त त्यस्ता कामलाई आफ्नो उपलब्धिमा जोड्दिनँ। हाम्रो श्रम अभियानले धरानमा नयाँ लहर ल्याएको छ। धरानवासी दाजुभाइ, दिदीबहिनीहरूलाई यहाँको विकासमा एकाकार भएर जोड्न सकेका छौँ। जो विभिन्न कारणले मुलुकबाहिर बस्नुभएको छ, उहाँहरूलाई योगदान पनि गर्नुपर्छ भनेर जोडेका छौँ। म निर्वाचित भएर आएयताको छोटो अवधिमा उपमहानगरको कुनै लगानीबेगर नै १० देखि १२ करोडको सम्पत्ति संरचना जोडेका छौँ। अहिले पनि कोकाहाँबाट पानी ल्याउने अभियान सुरु भएको छ। यो अभियानलाई आर्थिक सहयोग गर्नेहरूको लर्को छ। यो धरानमा आएको ठूलो परिवर्तन हो। यो परिवर्तनको मूल्य बुझ्न म सबैलाई आग्रह गर्दछु।
खानेपानीबाहेक अरू काम के–के भइरहेका छन्?
हामी खानेपानी र श्रम अभियानमा मात्रै सीमित छैनौँ। अरू कामहरू पनि समानान्तररूपमा अघि बढेका छन्। अहिले यहाँका बाटो स्तरीय छन्। शिक्षामा पनि सुधारको प्रयास गरिरहेका छौँ। हाम्रो समाजले शिक्षाको निजीकरण पूरापूर स्वीकारेर आत्मसात गरेको छ तर सामुदायिक विद्यालयको सुधार अपरिहार्य छ। हामी त्यसमा पनि लागेका छौँ। स्वास्थ्य क्षेत्रको सुधारमा पनि केन्द्रित छौँ। बिपी प्रतिष्ठान सुधारमा आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेका छौँ। हुन त प्रशासनिक र आर्थिकरूपले हाम्रो मतहतमा प्रतिष्ठान छैन। यदि हाम्रो मातहतमा भए त्यसमा पनि आमूल परिवर्तन ल्याउने थियौँ। खेलकुदमा पनि परिवर्तन आएको छ। संगीतका क्षेत्रमा पनि काम भइरहेको छ। बजार व्यवस्थापनका कामहरू भइरहेका छन्, पार्किङका समस्या, सरसफाइको कुरा, लागुऔषध विरुद्धको अभियान चलाइरहेका छौँ। बाटोहरू वान वे बनाउने काम भएको छ। सार्वजनिक जग्गा खोज्ने कुरामा मेरो विशेष चासो छ। अहिले धरानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने वा अतिक्रमण गर्ने हिम्मत कसैले गर्दैन। बाटो मिचेर बनेका घरहरू पनि पनि ताछतुछ गर्दैछौँ।
तपाईं सुरुदेखि नै ‘हामी’ यसो गर्दैछौँ, उसो गर्दैछौँ भनिरहनुभएको छ। तर, उपमहानगरको तपाईंको टिम वडाध्यक्ष र कार्यपालिका सदस्यहरू साथमा देखिनुहुन्न। अहिले पनि बहुसंख्यक वडाध्यक्ष र कार्यपालिका सदस्यहरू तपाईंविरुद्ध आन्दोलनमा हुनुहुन्छ। यो विवाद किन भइरहेको छ?
यसलाई म स्वीकार्छु। हामीबीचमा केही असमझदारी भएको छ। अहिले वडाध्यक्षज्यूहरू आफ्नो अपमान भएको भनिरहनुभएको छ। म नियतवश कसैलाई अपमानित गर्ने, डोमिनेट गर्ने स्वभावको मान्छे होइन। म लामो समय एक्लै आन्दोलन गरेर आएको हुँ। त्यसैले ममा आत्मविश्वास छ। काम गर्न साथी पनि नचाहिने हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। त्यसक्रममा कहिलेकाहीँ कडा पनि देखिन्छु। तर, कसैलाई अपमान गर्ने, अन्याय गर्ने, हैकम जमाउने खालको मान्छे म होइन। अभिभावकीय भूमिकामा हुँदा कहिलेकाहीँ कठोर बन्नुपर्ने अवस्था आउँदोरहेछ।
आफ्नै सहकर्मी जनप्रतिनिधिहरूसँग तपाईंको बारम्बार असमझदारी हुनु, ठ्याक नमिल्नुको कारण के हो ?
यसको उत्तर म ठेट भाषामा त म भन्दिनँ तर यति भन्छु म कूटनीति र राजनीति दुवै बुझेको मान्छे हुँ। कूटनीति मेलमिलाप हो। संसारमा कूटनीति नहुँदो हो त एटम बमहरू एक से एक भएको विश्व केही घन्टामै ध्वस्त हुन्थ्यो होला। यो कुरा मैले राम्ररी बुझेको छु। तर, आफ्नो स्वाभिमानमा आँच आउने काम हुँदा मलाई असह्य हुन्छ। म कसैको खुट्टा टेक्दिनँ तर कसैले मेरो टाउको टेक्न खोज्यो भने म सहन्नँ। त्यसरी सहँदै गयो भने मान्छेले हेप्दै जान्छ। त्यसैले सबैले राजनीति र कूटनीतिको मर्मअनुसार शक्ति सन्तुलनमा बस्नुपर्छ। धरानको मेयर भइरहँदा पद सोपानको कुरा पनि हुन्छ। कसको दायित्व के, क्षेत्राधिकार के भन्ने पनि हुन्छ।
तपाईंविरुद्ध अरू सबै एकातिर उभिएका छन्। तपाईंलाई कतै मबाट कमजोरी पो भयो कि भन्ने लाग्दैन?
मलाई त्यस्तो लाग्दैन। म सोचेर बोल्छु, बोलेको गर्छु। म प्रष्ट छु, आज एउटा र भोलि एउटा कुरा गरेर हुँदैन। आज एउटा र भोलि अर्को कुरा र काम गर्ने मेयरले भोलि धरानलाई कहाँ पु¥याउँछ? त्यसैले गन्तव्य र लक्ष्य प्रष्ट छ।
भनेको अब वडाध्यक्ष र कार्यपालिका सदस्यहरूसँग यस्तै टसलकै अवस्था कायम रहन्छ?
रहँदैन। आइसब्रेक त भइहाल्छ नि! उहाँहरूले पनि कूटनीतिको मर्म बुझ्न पर्यो, मैले पनि। विन–विन पोजिसनमा हाम्रो समझदारी हुन्छ। यसो हुनु नराम्रो पनि होइन। यसले बहस सिर्जना हुन्छ। बहसपछि आउने निचोड सुन्दर हुन्छ।
हर्क साम्पाङलाई धराने जनताले पाइप र ढुंगा बोक्नमात्रै जिताएको हो र भन्ने प्रश्न पनि आमरूपमा उठेको छ। के भन्नुहुन्छ?
त्यो बुझाइको कमजोरी हो। म बिदाको बेलामात्रै ढुंगा बोक्न, पाइप तान्न जाने हो। मैले शनिबारलाई श्रमबार भनेको छु। त्यो दिन अनिवार्य जान्छु। अरू सार्वजनिक बिदाको बेला पुग्छु। अरू बेला कार्यालयमा बसेर, नगरकै अन्य काममा आफूलाई लगाएको हुन्छु।
स्थानीयवासी त आइरहेका छन् नै, धरान बाहिरका पनि हजारौँ मान्छे तपाईंको श्रम अभियानमा सामेल हुन आएको देखिन्छ। किन आएका होलान् यसरी?
धरानका लागि श्रम पर्यटन पनि भएको छ। मसँग फोटो खिच्न पनि गाडीका गाडी मान्छे आउँछन्, श्रम अभियानमा सघाइराखेर जान्छन्। कोही रूखविरुवा लिएर आउँछन्। कोही गैँती, बेल्चा लिएर आउँछन्। गर्दा हुने रहेछ भन्ने प्रमाण हो यो। हाम्रो देश काम नगरेर गफमात्रै गरेर बिग्रेको रहेछ। काम कोही नगर्ने, कसैले राम्रो गरे राम्रो भन्न नसक्ने कुसंस्कारले ग्रस्त रहेछ। यसमा सुधार आइरहेको छ।
तपाईं कहिलेकाहीँ नमिठो लेखेर, बोलेर पनि विवादमा पर्नुभएको छ। यसरी बिझाउने शब्द प्रयोग नगरी हर्क साम्पाङ बस्न मिल्दैन?
मैले अघि पनि भनेँ, म जानीबुझी कसैलाई बिझाउँदिनँ। म त एकै थालमा जोसँग पनि खाइदिन सक्छु। म त्यस्तो साझा स्वभावको मान्छे हुँ। म बाटोमै पनि विभिन्न पत्रहरूमा साइन गरेर बसिरहेको हुन्छु। सामाजिक सञ्जालमा कहिलेकाहीँ ठट्यौली गर्छु, त्यसलाई कतिपयले अर्कै अर्थ लगाइदिन्छन्। त्यसमा अन्यथा नलिन मेरो अपिल छ।
यसमा फेरि मान्छे कुन संस्कार र संस्कृतिबाट हुर्केर आयो भन्ने कुराले पनि अर्थ राख्दोरहेछ। म कुन कल्चरमा हुर्केर आएँ भन्नेले पनि अर्थ राख्छ। मैले ग्रीन टी खाँदा बियर खाएको भने। बियर नै खायो भनेर महिनादिनसम्म मलाई गाली गरे। मैले हो बियर नै हो भनेर स्वीकार्दा पनि के हुन्थ्यो र! तर, मैले चिया खाएको थिएँ। पछि प्रमाणित नै भयो। त्यसरी लिनु हुँदैन भन्ने लाग्छ मलाई।
तपाईंलाई विधि नमान्ने, प्रक्रिया नटेर्ने स्वेच्छारीरूपमा अघि बढ्न खोजेको भन्ने आरोप पनि लागिरहेको छ नि?
म दोहोर्याउँछु, म त्यहाँ बिहे दर्ता र जन्मदर्ता गरेर बस्ने पञ्जीकरण शाखाको कर्मचारी होइन। म यहाँ ठोस परिवर्तन ल्याउन आएको हुँ। म मान्छेको मनबाटै परिवर्तन ल्याउन प्रयासरत छु। त्यसमा धेरथोर सफल पनि भएको छु। नत्र एउटा मान्छे ११ महिनादेखि केही नपाई किन श्रम गरिरहेको छ? कसरी गरिरहेको छ? मैले त्यो तहमा मोटिभेसन गरेको छु। मान्छेको चेतनामा उन्नति भयो तर ठोस काम भएन भने उपलव्धि देखिन्न। मान्छे कति पढेको छ भन्ने कुरा उसको व्यवहारमा प्रकट भएन भने उसले हासिल गरेको ज्ञानको ज्ञानको कुनै अर्थ छैन।
मैले प्रक्रिया मिचेको, विधि मिचेको कुरा गर्नुभयो। साबुन उद्योग खोल्नु नराम्रो थियो? हामी नै ठीक रहेछौँ भन्ने अदालतले हाम्रै पक्षमा फैसला गरेर प्रमाणित गरिदियो नि! जितेर आएको एक वर्ष नहुँदै दुईटा उद्योग खोल्दैछौँ। यसमा मैले भन्ने कुरा के हो भने दुनियाँमा प्रक्रिया ठूलो हो कि जनताको आवश्यकता? राजनीति भनेको जनताको भावना, चाहना र आवश्यकता अनुसार नीति नियम परिवर्तन गर्दै अघि बढ्ने विज्ञान हो। यो कुनै पञ्जीकरण शाखा होइन। परिवर्तनका लागि यत्तिको काम गर्न जरुरी छ भन्ने लागेरै म अघि बढेको छु।
तर, तपाईंका समर्थक जति छन्, अहिले सार्वजनिक वृत्तमा उत्तिकै संख्यामा आलोचना भइरहेको छ। आफ्नै हर्कतले तपाईं पिरोलिएको साँचो होइन र?
म धरानमा सुषुप्ततामा रहेको मान्छेलाई एक्टिभ तुल्याउने एक्टिभिस्ट पनि हुँ। हो, म पाटी संगठनबाट आइनँ। त्यसले गर्दा ठूलो टिममा काम गर्न असहज भयो होला। यसको अर्थ टिममा काम गर्न आउँदैन भन्ने होइन। तर, म यस्तो पृष्ठभूमिबाट आएँ कि मलाई टिम हुँदा पनि हुन्छ नहुँदा पनि हुन्छ भन्ने लाग्दोरहेछ। यो चाहिँ मेरो कमजोरी हो। यो कुरा म पहिलोपटक भन्दैछु।
म कस्तो पृष्ठभूमिबाट आएँ भने हिजो एक्लै लडेको हुनाले कहिलेकाहीँ एक्लै सकिहाल्छु नि भन्ने लाग्नरहेछ। स्थिति हिजो कस्तो थियो भने मेरो भिडियो खिचिदिने मान्छेधरि थिएन। धरानको सार्वजनिक क्षेत्रको केही कुरा गर्नुपर्दा आफैँले सेल्फी खिचेर भिडियो बनाउनुपथ्र्यो। चुनावका बेला सात जना जति हिँडेको त तपाईंहरूले देख्नुभएकै हो। त्यसैले कहिलेकाहीँ सबै एक्लै गर्न सक्छु कि जस्तो लाग्नेरहेछ। यो मेरो कमजोरी हो तर जानेर–बुझेर कसैलाई अपमान गर्ने, हानी गर्ने काम गर्दिनँ। गएको आर्थिक वर्षमा मात्रै खानेपानी आपूर्तिका लागि विद्युत चलाउँदा लाग्ने ५० लाखको बिल बचायौँ होला। यो मैले यहाँको पब्लिकका लागि गरेको हुँ।
श्रम अभियान चल्दा ८५ वर्षसम्मका मान्छे श्रम गर्न गएका छन्। घरमा बसेर आराम गर्दा हुने धेरैले खोलानालामा पसिना बगाएका छन्। एक दिन हामी निशाने खोलामा गिटी कुट्दै थियौँ। एक जना साथीले मलाई एउटा ढुंगा दिनुभो। किन दिएको यो ढुंगा भन्दा एक जना ८५ वर्षको आमा खोलामा आउनुभएको रहेछ। खोला तर्न नसकेपछि उहाँले एउटा ढुंगा उठाएर हर्क साम्पाङलाई दिनु भन्नुभएको रहेछ। त्यसबेला म बेस्सरी रोएको थिएँ, ती आमाले ढुंगा मलाई किन दिनुपर्ने थियो? त्यसैले धरानमा एउटा श्रम जागरण आएको छ। यसलाई थप सशक्त बनाउँदै लैजाने हो।
अबको योजना के छ?
अब म युवाहरूलाई तालिम दिने कुरामा केन्द्रित हुनेछु। हाम्रा युवा बेरोजगार हुनुको मुख्य कारण उनीहरूसँग कुनै सिप रहेनछ। सिप नभएको मान्छेले के काम पाउँछ, भन्नु त?
त्यसैले मेरो दोस्रो वर्षको प्रमुख लक्ष्य भनेको युवाहरूलाई सिप सिकाउने अभियान हुनेछ। बाँकी नियमित काम त चल्दै जानेछ।