नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन्।
पार्टीको ‘मिसन ग्रासरूट’ अभियानअन्तर्गत आज धनगढी आएका उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन्।
उनले भने, ‘अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापी रूपमा मिसन ग्रासरूट कार्यक्रममा छौं।’
तर उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताए।
‘अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छ’, उनले भने।
धनगढीमा प्रेस चौतारीले गरेको अन्तर्क्रियामा उनले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए।
एमालेले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उनले जानकारी दिए।
अर्को प्रसंगमा उनले नेकपा एमालेको नेतृत्वबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि प्राप्त हुने बताए।
पार्टीलाई ग्रामीण तहसम्म नै स्थापित गर्नका लागि एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरेको जानकारी उनले दिए।
देश डरलाग्दो गरी अस्थिरतामा फसेको उनको भनाइ थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले मुलुक अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण भएको उनको भनाइ थियो।
‘देशमा विप्रेषणको परिसूचकबाहेक सबै सूचक नकारात्मक देखिएका र अहिलको आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको उनले बताए।
उनले अन्तर्राष्ट्रिय सहयोगदाताले गरेका प्रतिबद्धता पनि प्राप्त हुन नसकेको र यस्तो अवस्थामा पनि सरकार गम्भीर हुन नसकेको धारणा राखे।
उपाध्यक्ष पौडेलले सो पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरे उनीमाथि अनुशासनको कारबाही हुने पनि बताए।