गोविन्दराज जोशीले वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ- १ मा उम्मेदवारी नदिने भएका छन्।
उनी गत मंसिरको चुनावमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार थिए। रामचन्द्र पौडेलसँग उनले चुनाव हारे। जोशीले ६ हजार ८ सय ७८ मत मात्रै ल्याएका थिए। यहाँ पौडेलले २५ हजार तीन सय १८ मतसहित चुनाव जितेका थिए।
जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। उनले गृहलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।
२०७४ मा रामचन्द्र पौडेल तनहुँ- १ मा हारेपछि चुनावमा असहयोग गरेको आरोप जोशीमाथि लाग्यो। तनहुँको राजनीतिमा पौडेल र जोशीबीच सम्बन्ध 'तीक्ततापूर्ण' थियो।
कांग्रेसले जोशीलाई २०७५ पुस २४ मा अनुशासन कारबाही गर्दै ५ वर्षका लागि साधारण सदस्यबाट हटाएको थियो।
कांग्रेसले कारबाही गरे पनि जोशीले तनहुँमा कांग्रेस स्वतन्त्र समूह, बिपी समाज लगायतबाट राजनीतिक गतिविधि गरिरहेका थिए। उनका छोरा दीपकराज जोशी पनि ब्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उठेका थिए, पराजित भएका थिए।
आफूहरूले वैशाख १० को उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको गोविन्दराज बताउँछन्। आइतबार दमौलीमा भएको भेलाले उपनिर्वाचनमा कसैलाई पनि सहयोग नगर्ने निर्णय गरेको हो।
उपनिर्वाचन र कांग्रेसको कारबाही फुकुवाबारे सेतोपाटीले जोशीसँग गरेको कुराकानीको सम्पादित अंश:
आज तपाईंहरूको भेला थियो, के निर्णय भयो?
वैशाख १० को उपनिर्वाचनका लागि भोलि (सोमबार) उम्मेदवारी दर्ताको कार्यतालिका छ। यसपटक हामीले आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्यौं। हाम्रो नेपाली कांग्रेस स्वतन्त्र समूहबाट तनहुँ-१ को उपनिर्वाचनमा कोही पनि उम्मेदवार उठ्दैन।
कसलाई समर्थन गर्नुहुन्छ?
हामीले अहिले नै कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन। चुप लागेर बस्ने हो। परिस्थिति हेर्दै जाऔं, के हुन्छ। बहिष्कार पो गरिन्छ कि! चुप नै लागेर बसिन्छ कि, अहिलेचाहिँ कुनै पनि उम्मेदवारका पक्षमा नलाग्ने भन्ने निर्णय भयो।
आज तपाईंलगायतलाई कांग्रेसले कारबाही फुकुवा गरेको छ नि, थाहा पाउनुभयो?
मलाई थाहा छैन। कारबाही गरेको पनि थाहा छैन, फुकुवा गरेको पनि थाहा छैन। मलाई कारबाही गरेको पनि अहिलेसम्म पार्टीले सूचना दिएको थिएन। मेराबारे मसँग सल्लाह, परामर्शसमेत नगरी किन निर्णय भयो। कारबाही फुकुवा गरेको भन्ने हल्ला मैले पनि सुनेँ।
कांग्रेसले यसबारे तपाईंलाई जानकारी नै दिएन?
म अहिले कांग्रेसको सदस्य पनि छैन। आफ्नो पार्टीको सदस्य पनि नभएको कुनै पनि मानिसको बारेमा निर्णय गर्न मिल्दैन। यो जालझेलपूर्ण कुरा छ। मसँग वार्ता गरेर कुरा मिलेको भए मेरो बारेमा निर्णय गर्नु उचित हुन्थ्यो। मलाई थाहा पनि छैन, कुराकानी पनि छैन। त्यसै निर्णय गर्नु यो जालझेलपूर्ण हो, मलाई कुनै सरोकार छैन यसमा।
पार्टीले कारबाही फुकुवाको पत्र पठायो, नेताहरू भेट्न आए भने के हुन्छ, कांग्रेसमै फेरि सक्रिय हुने हो?
हैन-हैन। पार्टीले पत्र नै पठाएको छैन। पठाउँदैन होला। केन्द्रदेखि वडा तहसम्म समग्रतामा छलफल गरेर केही निर्णय भयो भने जे निर्णय हुन्छ आफैं बसेर निर्णय गरियो भने त त्यो मान्नैपर्छ। होइन भने एकतर्फी निर्णय त अप्रजातान्त्रिक हो। मसँग सरोकार नभएका कुरा, कसले के निर्णय गर्छ मैले हेर्ने कुरा पनि भएन।
कांग्रेसले म र मसँग सम्बन्धित मान्छेहरूसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रूपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन र यस्तो अफवाहबाट बिचलित नहुन म मेरा साथीहरूलाई आग्रह गर्दछु।
कारबाही र फुकुवा गर्दा पार्टीले सल्लाह गर्नुपर्थ्यो भन्न खोज्नुभएको हो?
कारबाही गरिएकोबारे मलाई अहिलेसम्म पनि जानकारी छैन। उनीहरूले कारबाही फुकुवा गर्न खोजेको हो भने अब आइन्दा हामीले बुझ्दै नबुझिकन पार्टीका नेता तथा कार्यकर्ताको अपमान हुने गरी कुनै निर्णय गर्ने छैनौं, गरेकोमा हामी क्षमाप्रार्थी छौं भनेर उनीहरूले क्षमा माग्नुपर्छ।
हामीले समस्या समाधानका लागि पटक पटक वार्ता टोली बनाएर संवादको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गर्यो। वार्ताको वातावरण नबनाउने, पार्टीमा सैद्धान्तिक बिचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्न गरिएको निर्णय जति आलोचना गर्दा पनि कम हुन्छ।
कांग्रेसले क्षमा मागे तपाईं पार्टीमा क्रियाशील हुने?
उनीहरूले अब आइन्दा गल्ती गर्दिनँ भन्नुपर्यो नि, के को कारबाही फुकुवा गर्ने। माफी त अब हामीले दिने हो उनीहरूलाई। उनीहरूले माफी मागेछन् भने माफी दिउँला। विचार गरौंला। एकतर्फी कारबाही फुकुवा गर्नु प्रजातान्त्रिक हुन्न।
अन्तिममा, उपचुनावका उम्मेदवारले तपाईंसँग मत मागेका छन्?
अर्को निर्णय नआउँदासम्म कतैतिर पनि नलाग्ने, चुप लागेर बस्ने भनेपछि त किन मत मागिरहने र!