नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानमा अड्न नसकेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालमा इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरूको गठजोडमा आफूहरू नलाग्ने बताए।
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।
दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गर्दै उनले इमान नभएकाहरूसँग एकता गर्न नहुने बताए।
यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै ओलीले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दाबी गरे। एमालेले आगामी ४ वर्षभित्र राष्ट्रिय शक्तिको रूपमा उदाएर अघि बढने संकल्प लिएकाले सोहीअनुसार गम्भीरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए।
ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताए।