उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले अर्थतन्त्रको चिरफार गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
सोमबार मनोनयन दर्ता गर्न तनहुँ-१ पुगेका वाग्लेले अर्थतन्त्र र राज्यव्यवस्था बिरामी परेकोले चिरफार नै गर्नुपर्ने बताएका हुन्।
त्यसका लागि पनि आफूहरूलाई भारी मतान्तरले विजयी गराउन उनले अनुरोध गरेका हुन्।
‘चितवन-२ मा गएको निर्वाचनमा रविजीलाई तपाईंहरूले जिताइदिएको जस्तो, तनहुँ १ ले पनि त्यस्तै सन्देश दिओस् कि अब यो लरो-तरो पाराले, घिसिपिटी पाराले, ख्यालमा राज्य सञ्चालन, शासकीय अभ्यास गर्न सकिन्न,’ उनले भने, ‘जुन बिरामी परेको राज्य व्यवस्था छ, बिरामी परेको अर्थतन्त्र छ त्यसको लागि टालटुले विधिले हुँदैन। सर्जरी नै चाहिन्छ। झारफुकले हुँदैन, चिरफार नै चाहिन्छ।’
यो देशमा बस्न नसकिने अवस्था भइसकेको हुँदा पनि आशाको सञ्चार गर्न पनि आफूहरूलाई जिताउन उनले माग गरेका हुन्।
‘यो देशमा बस्नै नहुने भइसक्यो। केही हुँदैन अब, यो आम नैराश्य चिरेर, आशाको सञ्चार गर्न पनि अब वैशाख १० मा तीन-तीन वटा बारा, चितवन र तनहुँमा शानदार मतले सामान्य जितले मात्रै पुग्दैन। धक्का यति ठूलो चाहिन्छ, कि शानदार मतान्तर...,’ उनले भने।