प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरू गठन प्रक्रिया अगाडि बढ्ने भएको छ।प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले पारित गरेको हो।
नियमावली पारित भएसँगै अब प्रतिनिधि सभाले १० वटा विषयगत समिति पाउने भएको छ।
नियमावलीका अनुसार प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति गठन हुनेछन्।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति पनि गठन हुनेछन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नियमावली पारित भएकाले अब विषयगत समितिको गठन प्रक्रिया अगाडि बढ्ने बताए।
उनले एक विषयगत समितिमा बढीमा २७ जना सदस्यहरू रहने प्रावधान रहेको उल्लेख गरे।
उनले समिति सदस्यहरूको मनोनयन गर्दा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्वको आधारमा सम्बन्धित संसदीय दलबाट कुन सदस्य कुन समितिमा रहने भन्ने विवरणका आधारमा गरिने बताए।
उनले त्यस प्रकारले विवरण दिनका लागि सचिवालयले दलहरूलाई पत्राचार गर्ने बताए।
सचिवालयलाई दलहरूले विवरण पठाइसकेपछि संसद सचिवालयले खाका तयार पार्ने र प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने उनले जानकारी दिए।प्रतिनिधि सभाले सहमति दिएपछि समिति गठन हुने उनले बताए।
उनले प्रतिनिधि सभा नियमावलीले समितिमा महिला सांसदहरूको समानुपातिक प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गरेको बताए।
त्यस्तै, विषय विज्ञलाई सम्बन्धित समितिमा राख्नेगरी दलहरूबाट विवरण प्राप्त हुने विश्वास उनले व्यक्त गरे।
विषय विज्ञलाई समितिमा राख्दा समितिको काम प्रभावकारी हुने उनले उल्लेख गरे।
उनले भने, ‘जति महिला सांसदहरू उपस्थित हुनुहुन्छ, समिति गठन गर्दा नै महिला सांसदको पनि समानुपातिक प्रतिनिधित्व हरेक समितिमा हुने सुनिश्चितता नियमावलीले गरेको छ। सोही आधारमा सम्बन्धित दलबाट सिफारिस भई नै हाल्छ। विषय विज्ञको सन्दर्भमा चाहिँ जो सभाका सदस्य त्यो विषयमा रूची राख्नुहुन्छ, पक्कै पनि सोही समितिमा नै उहाँको विवरण आउला, अथवा उहाँ पर्नुहोला भन्ने अपेक्षा त गरिएको हुन्छ। त्यसो गर्दाखेरी समितिले पुर्याउन सक्ने योगदान त थप प्रभावकारी हुनसक्छ भन्ने मान्यता हो। यद्यपि कहिले-कहिले विषय विज्ञको रूपमा उक्त समितिमा बस्दै गर्दा अहिलेको नयाँ नियमावलीको प्रावधान स्वार्थ बाझिनु नहुने पनि भन्ने छ। त्यो सन्दर्भमा सम्बन्धित दलले कसरी सिफारिस गर्छ भन्ने पनि रहन्छ। यद्यपि विषय विज्ञको उपस्थितिले समिति निकै नै प्रभावकारी हुन्छ।’
समितिको कार्य क्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था गरिएको छ। यद्यपि कस्तो अवस्थामा कति हदसम्म स्वार्थ बाझिने हो भन्ने चाहिँ विद्यमान कानुनमा स्पष्ट व्यवस्था नभएको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए।
उनले भने, ‘खासमा भन्नुपर्दा स्वार्थ बाँझिने भनेर कानुनी रूपमा, विद्यमान कानुनमा स्पष्ट रूपमा व्याख्या भएको पाइँदैन। त्यसमा सामान्य आफ्नो त्यसबाट कुनै लाभ प्राप्त हुन्छ भने आफूलाई लाभ प्राप्त हुने समितिमा जाँदाखेरी अथवा उपस्थित भएर समितिमा रहेर काम गर्दाखेरी अप्ठ्यारो पर्ने अथवा त्यस्तो नहोस् सम्बन्धित समितिलाई भन्ने दृष्टिकोणको आधारमा स्वार्थ बाझिने समितिमा मनोनयन नगर्ने भन्ने नियमावलीको आशय हो। यसमा ठ्याक्कै कति हदसम्म बाझिने, कति हदसम्म नबाझिने भनेर यकिनका साथ भन्न त त्यति सहज छैन नि।’
समिति गठन गर्ने कुरा प्राथमिकता प्राप्त कार्यसूचीको विषय भएको भन्दै प्रवक्ता गिरीले छिटोभन्दा छिटो गठनको प्रक्रियामा जाने उल्लेख गरे।