वैशाख-१० गते उपनिर्वाचन हुन लागेका निर्वाचन क्षेत्रमध्ये एउटा हो, बारा-२।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरूषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खेरलसहित ३६ जनाले उम्मेदवारी दिएका छन्।
गत मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं २ मा तत्कालीन एमाले/जसपा गठबन्धनका तर्फबाट जसपाका रामसहाय प्रसाद यादव विजयी भएका थिए। यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
मंसिरको निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका यादवले १३ हजार ८ सय २२ मत ल्याएका थिए। दोस्रो भएका सत्ता गठबन्धनका माओवादी उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए।
समानुपातिकतर्फ पनि सबैभन्दा धेरै मत जसपाले नै पाएको थियो। उसले १३ हजार २ सय ४२ मत ल्याएको थियो। दोस्रोमा रहेको नेपाली कांग्रेसले ११ हजार १ सय ७९ मत ल्याएको थियो। त्यस्तै तेस्रोमा रहेको एमालेले ९ हजार १ सय ९३ मत ल्याएको थियो।
जनमत पार्टीले ८ हजार ८ सय ४६ मत ल्याएको थियो। त्यस्तै लोसपाले ४ हजार २ सय ३५ मत, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ७ सय ९४ र नेकपा माओवादी केन्द्रले ३ हजार २ सय ६५ मत ल्याएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४ सय ५५ मत ल्याएको थियो।