चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध निर्वाचन कार्यालयमा अमेरिकी नागरिकता त्यागेको निस्सा नै नबुझाइ नेपाली नागरिकता पुन: प्राप्ति गरेको आरोप लगाउँदै उजुरी परेको छ।
सिन्धुलीका यूवराज पौडेल सफलले उनीविरूद्ध इमेलमार्फत उक्त उजुरी दिएका थिए। त्यस्तै लामिछाने विरूद्ध चितवन २ मै उम्मेदवारी दिएका अरू तीनजनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका थिए।
उनीहरुले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेको आचार्यले बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने लामिछानेलाई कानुन, नियम र कार्यविधिका सबै प्रक्रिया पुर्याएर मात्रै नागरिकता दिएको बताएका छन्।
‘विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्ति गर्दा जे-जे प्रक्रिया पुर्याउनुपर्छ हामीले ती सबै पुर्याएर मात्रै नागरिकता प्रदान गरेका हौं। अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएमात्र पुन: नेपाली नागरिकता पाइन्छ। त्यो प्रक्रिया पुरा गरेका छौं,’ उनले सेतोपाटीसँग भने।
लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकता प्राप्ति गरेका थिए।
त्यतिखेर प्रमुख जिल्ला अधिकारी उपाध्यायले नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लिएर आएपछि लामिछानेको नागरिकता पुन: कायम भएको बताएका थिए।
नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।
'ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरण सहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ,’ उक्त नियमावलीमा भनिएको छ।
यही प्रक्रिया पूरा गरी रविले नागरिकता लिएका हुन्।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा माघ १३ गते सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि उनले गृहमन्त्री, पार्टी सभापतिको पद पनि गुमाएका थिए। नागरिकता लिएपछि उनी पार्टीको सभापति बने तर सांसद पद बदर भएपछि उनले चितवन-२ मा उपचुनाव लड्न लागेका हुन्।
फेरि उम्मेदवारी दिएपछि लामिछानेविरूद्ध चार उजुरी परेका हुन्।
लामिछाने विरूद्ध परेका सबै उजुरी बारे निर्वाचन आयोगले छानविन गरि निर्णय गर्ने छ।