फेवातालमाथि सिमसार पुर्न सडकछेउकै भित्ता स्काभेटरले काटिरहेका थिए। सडकको भित्ता काटेर निस्किएको ढुङ्गा, माटो दर्जनौं टिप्परले धमाधम ओसारेर सिमसारमा खन्याइरहेका थिए। यसरी खन्याइएका ढुङ्गा, माटो सम्याउन पनि स्काभेटर प्रयोग भइरहेका थिए।
कुरा चैत ७ गतेको हो। त्यत्तिकैमा पोखरा महानगरका नगर प्रहरीको टोली पामे पुग्यो। सडक छेउमै पहिरो जाने गरी ढुङ्गा, माटो निकालेको स्काभेटर रोक्न लगायो। केहीबेरमा सिमसार पुर्न ठेक्का लिएका युवराज खतिवडा आइपुगे। नगर प्रहरीलाई उनले महानगरकै अनुमतिमा सडकको भित्ता काटेर सिमसारमा खन्याएको बताए।
यसरी सिमसार पुर्न पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सिफारिस गरेको उनले बताए। नगर प्रहरीले अनुमति मागे। खतिवडाले अनुमति आउँदै गरेको बताए।
उनले महानगरकै कर्मचारी र जनप्रतिनिधिलाई फोन घुमाए। तत्काल अनुमति पत्र भाइबरमा पठाउन लगाए।
वडाध्यक्ष अधिकारीले नगर प्रहरीलाई सडकको भित्ता काटेर सिमसार पुर्न दिन निर्देशन दिए। खतिवडाले मगाएबमोजिम भाइबरमा महानगरबाट अनुमति पनि आयो।
सर्वसाधारणको काम महिनौंसम्म रोकेर राख्ने महानगरले सिमसार पुर्ने अनुमति ठेकेदारलाई भाइबरमार्फत् दिलाए।
खतिवडाले निर्धक्क सिमसार पुरिरहेका छन्। कतै प्लटिङ गर्ने, कतै व्यापारिक भवन बनाउने उद्धेश्यले उनले सिमसार पुरेका हुन्।
खतिवडा बागमती प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता शालिकराम जमरकट्टेल निकट मानिन्छ। त्यही राजनीतिक शक्तिको बलमा उनले विभिन्न व्यवसायिक भवन बनाउने उद्देश्यले सिमसार पुरेको बताइन्छ।
यता, पोखरा महानगरका मेयर धनराज आचार्यले भने सिमसार पुर्न कुनै अनुमति नदिएको दाबी गर्छन्। सिमसार जोगाउने र अहिले पुरिएका ढुङ्गा माटो निकाल्ने उनको दाबी र व्यवहार उल्टो देखिन्छ।
महानगरका योजना शाखा प्रमुख कृष्ण प्रसाद तिवारीले महानगरकै लेटरप्याडमा फागुन २ गते सिमसार पुर्न अनुमति दिएको भेटिएको छ।
पामेमा जग्गा पुर्न देवेन्द्र केसीको नाममा तिवारीले फागुन ३ गते र ११ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म डोजर लगाएर जग्गा पुर्न अनुमति दिएका छन्।
उनले दिएको अनुमति पत्रमा कृषि प्रयोजनका लागि भनिएको छ।
वातावरणलाई असर नपार्ने गरी भन्दै दिएको अनुमतिमा ८ बुँदे शर्त राखिएको छ। जुन शर्त पूरा नगरे कडा कारबाही गर्ने भनिए पनि महानगरले अनुगमन नै गरेको देखिँदैन। यसैगरी अन्य व्यक्तिलाई पनि महानगरले सिमसार पुर्न अनुमति दिएको स्थानीयले बताएका छन्।
सिमसार पुर्ने ठेक्का लिँदै आएका खतिवडाले हालसम्म ३ सय रोपनी बढी जग्गा पुरिसकेको स्थानीय बताउँछन्। खतिवडाले प्रति रोपनी ५ लाख रुपैयाँका दरले सिमसार पुर्ने ठेक्का लिएको महानगरकै एक अधिकृतले बताए।
सिमसार पुर्न मेयर आचार्यले नीतिगत व्यवस्था गरेको पाइएको छ।
सरकारले २०७९ मा ल्याएको भू–उपयोग नीतिमा टेकेर मेयरले उक्त व्यवस्था गरेका हुन्। जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खुलाउन पाउने उक्त नियमावलीमा उल्लेख छ।
नियमावलीमा जग्गालाई १० वटा समूहमा वर्गीकरण गर्नुपर्छ। जग्गाको जथाभावी दुरुपयोग रोक्न सरकारले वर्गीकरण नगरी कित्ताकाटसमेत रोकेको थियो। नियमावलीले जग्गाको वर्गीकरण गर्न स्थानीय तहलाई जिम्मा दिएको छ।
नियमावलीको यही प्रावधानमा टेकेर मेयर आचार्यले फेवातालमाथि सिमसार क्षेत्रलाई आवास क्षेत्रमा पारेका छन्। जबकी, नियमावलीले कृषि, आवास, व्यवसायिक, आद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, रामसार, सार्वजनिक उपयोग, सांस्कृतिनक तथा पुरातात्विक महत्व र सरकारले तोकेको अन्य क्षेत्र छन्।
फेवातालमाथि सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत छ। सोही सूचीअनुसार उक्त क्षेत्रलाई रामसारमा पर्ने सिमसार क्षेत्रमा वर्गीकरण हुनुपर्ने थियो। यसका अलवा फेवातालको मुख्य स्रोत हर्पन खोला पर्ने भएकाले नदी, खोला र तालका रुपमा पनि उक्त जमिन संरक्षित हुनुपर्ने थियो।
पोखराका मेयर आचार्यले सिमसार क्षेत्रलाई कृषि क्षेत्रमा वर्गीकरण गरेको दाबी गरे। सिमसारलाई आवास क्षेत्रका रूपमा वर्गीकरण गरेकोबारे आफूलाई धेरै जानकारी नभएको उनले बताए।
‘जग्गाको कित्ताकाटबारे मलाई जानकारी छैन,’ उनले भने, ‘हामीले सिमसारलाई कृषि क्षेत्र भनेका छौं।’
सिमसार क्षेत्रलाई कृषि क्षेत्रभन्दा पनि सिमसार क्षेत्रकै रूपमा वर्गीकरण गर्नुपर्नै पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए।
‘सिमसार भनेको जैविक विविधताको खानी हो, यसले जस्ताको तस्तै राख्न सक्नुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि नै मास्न उद्यत भएपछि कसैको केही लाग्दैन ।’
फेवाताल विज्ञ प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले सिमसार ताल र खोलाको क्षेत्र भएकाले पुर्नु गलत भएको बताए।
सिमसार पुर्दा ताल नै पुरिने भन्दै उनले सिमसारलाई आवास क्षेत्र बनाएर पुर्न अनुमति दिँदा फेवाताल नै मासिने बताए।
‘सिमसारमा भएका व्यक्तिका जग्गा पनि अधिग्रहण गरेर तालको नाममा ल्याउनुपथ्र्यो, अतिक्रमण हटाउनतिर लाग्नुपर्थ्यो,’ उनले भने, ‘दलदल परेको सिमसार क्षेत्र पुरेर संरचना बनाए पनि गडेर जान्छ, यसको असर फेवाताल र सिमसारको जैविक विविधतामा पर्छ।’
फेवातालकै विषयमा विद्यावारिधी गरेका लामिछाने पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख हुन्। केही वर्ष अघिसम्म ताल भएकै ठाउँमा अहिले प्लटिङ र व्यवसायिक संरचना फस्टाइरहेको भन्दै उनले भने, ‘सिमसार मासिँदा फेवाताल झन् छिटो मासिन्छ।’
यी हुन्: