नरेन्द्र विकको परिवार २०२२ सालदेखि सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसाइँ सरेको थियो। उनका बुवा सुर्खेतकै पहाडी क्षेत्र साविकको काप्रीचौर गाविसबाट परिवारसहित मेहलकुना गाविस झरेका थिए।
हाल गुर्भाकोट नगरपालिका–८ मा पर्ने सिम्ताली टोलमा बसाइँ सरेको नरेन्द्रको परिवारले झाडी मासेर जग्गा बनाएको थियो। उनीहरूले २०२२ सालबाट कमाउँदै आएकामध्ये केही जग्गाको लालपुर्जा २०३६ सालमा पाएका थिए। तर, ६५० वर्गमिटर जग्गाको लालपुर्जा पाइएको थिएन। नापी भने त्यति बेलै भइसकेको थियो।
आफ्नो नापी भएको जग्गाको लालपुर्जा पाउन नरेन्द्रको परिवार धेरै समय धाइरह्यो।
‘पहिले बुवा पनि लालपुर्जाका लागि बारम्बार सम्बन्धित निकाय धाउनुभयो, हामीले पनि कयौंपटक दौडधुप गर्यौं,’ नरेन्द्रले भने, ‘अहिले बल्ल लालपुर्जा हात परेको छ। डरैडरमा कमाइरहेको जग्गाको लालपुर्जा पाएपछि सहज भयो।’
लालपुर्जा पाउन बाँकी जग्गा नरेन्द्रका दुई भाईले भागबन्डा गरेर उपयोग गरिरहेका थिए।
गुर्भाकोट–८ सुन्दरखालका रेशम सुनारको पनि १६ रोपनी जग्गा बिनापुर्जाको थियो। २०३६ सालमा नापी भएको उक्त जग्गा उनको परिवारले २०५१ सालमा किनेको थियो। अरूबाट किनेर कमाइरहेको जग्गाको लालपुर्जा नपाउँदासम्म उनको परिवारलाई जग्गा गुम्ला कि भन्ने पिर थियो।
‘परिवारमा हामी छोराहरू धेरै भएपछि बुवाले जग्गा किन्नुभयो, तर पुर्जा थिएन,’ रेशमले भने, ‘त्यति धेरै जग्गाको लालपुर्जा अहिलेसम्म पनि नबन्दा के हुने हो, कसो हुने हो भनेर चिन्तामै थियौं, अब लालपुर्जा आएपछि ढुक्क भयो।’
लालपुर्जा पाएपछि अब जग्गा अंशबन्डा गर्न सहज भएको उनले बताए।
गुर्भाकोट–८ घारी मेहलकुनाका दलबहादुर कार्कीको एक बिघा जग्गामध्ये एक रोपनीको लालपुर्जा थिएन। २०४७ मा किनेको त्यो जग्गाको लालपुर्जा दलबहादुरको परिवारले यसपालि बल्ल पाएको छ।
बत्तीस वर्षदेखि कमाइरहेको तर लालपुर्जा नभएको जग्गा आफ्नो नाममा आएपछि खुसी लागेको उनी बताउँछन्।
उनीहरूले यही चैत १२ गते भूमिसम्बन्धि समस्या समाधान गर्न बनेको आयोगबाट आफूले उपयोग गर्दै आएको जग्गाको लालपुर्जा पाएका हुन्। उनीहरूसहित यो वर्ष गुर्भाकोटका १३१ परिवारले लालपुर्जा पाएका छन्। उनीहरूले लालपुर्जा पाएको जग्गाको अब मालपोतबाट स्रेस्ता कायम गर्नुपर्नेछ।
राष्ट्रिय भूमि आयोगले लालपुर्जा नभएका सुर्खेतका परिवारलाई पुर्जा वितरण गर्ने काम तीव्र रूपमा अघि बढाएको छ। आयोगले पहिलो चरणमा २०७८ मा पनि गुर्भाकोट र भेरीगंगा नगरपालिकाका १३४ परिवारलाई लालपुर्जा वितरण गरेको थियो।
‘अहिले पहिलो चरणमा विगतका राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा दिइएको छ। उनीहरूको लगत संकलन भइसकेको तर नापी कार्यालय पुगेर फाइल अड्किएको अवस्था थियो,’ राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले भने, ‘अब पहिलो चरणको यस्तो काम सकियो भने अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुम्बासीजस्ता भूमिसम्बन्धि समस्या समाधानतर्फ लाग्छौं।’
उनका अनुसार दुई वर्षमा सुर्खेतका ७१४ परिवारलाई आयोगबाट स्थायी लालपुर्जा वितरण गरिएको छ। ती परिवार बराहताल गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका हुन्।
‘पाँचवटा पालिकामा पहिलो चरणमा लालपुर्जा वितरण गरिएको छ। ती पालिकामा थप पुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ अध्यक्ष पौड्यालले भने, ‘केही दिनभित्रै प्रक्रिया पूरा गरेर थप पुर्जा वितरण गरिन्छ।’
सुर्खेतका अरू चार पालिकामा पुर्जा वितरणका लागि नापजाँच भइरहेको उनले बताए। उनका अनुसार वीरेन्द्रनगर–१६ मा जग्गा नापजाँच गर्ने काम सुरू गरिएको छ भने वडा नम्बर ९ मा फाइल तयार गर्ने काम चलिरहेको छ।
यी ठाउँमा वडाबाट फाइल तयार गरी कार्यपालिकामा पेस गरिनेछ। कार्यपालिकाले भूमि आयोगलाई सिफारिस गर्नेछ। त्यसपछि आयोगले प्राविधिकबाट फिल्ड अनुगमन गरेर पुर्जा वितरणको काम अगाडि बढाउने अध्यक्ष पौड्यालले बताए।
वीरेन्द्रनगरसहित लेकबेसी नगरपालिका, चिंगाड गाउँपालिका, सिम्ता गाउँपालिकामा पनि यसअघिको आयोगले अधुरो राखेका फाइल तयार गर्ने र यथार्थ विवरण संकलन गर्ने काम भइरहेको उनले बताए।
अध्यक्ष पौड्यालका अनुसार पहिलेको राप्ती बसोबास आयोगको सुर्खेतस्थित कार्यालयले अधुरा राखेका पुर्जा वितरणको काम सकेर अव्यवस्थित बसोबासको व्यवस्थापनमा लाग्ने योजना बनाइएको छ।
‘वीरेन्द्रनगरबाटै अव्यवस्थित बसोबास गरिरहेको परिवारलाई लालपुर्जा वितरणको काम सुरू गरिनेछ, त्यसअघि सबै पालिकाका अधुरा काम पूरा गर्नेतर्फ लागेका छौं,’ उनले भने।
अव्यवस्थित बसोबासको समस्या सुर्खेतमा सबभन्दा धेरै भएको उनले बताए।
पौड्यालका अनुसार आयोगले सुर्खेतमा लगत संकलन गर्दा अव्यवस्थित बसोबास, भूमिहीन दलित तथा सुकुम्बासीका करिब ४८ हजार निवेदन संकलन भएका थिए। तीमध्ये अव्यवस्थित बसोबास गरिरहेकाहरूबाट मात्र ४२ हजार आवेदन परेका छन्।
सुर्खेतका अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको काम कहिलेसम्म सकिन्छ भन्ने यकीन नभएको अध्यक्ष पौड्यालले बताए।