नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिनाजति अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा पनि नदेखिई काम गर्नुपर्ने थापाले बताए।
‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ। मलाई एकदम नरमाइलो लाग्छ, फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन,’ आज काठमाडौंमा भएको नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा बोल्दै उनले भने।
'वार टाइ मेन्टालिटी' अनुसार काम गर्नुपर्ने थापाले बताए।
‘युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ, जहाँ बस्न मिल्छ बसिन्छ। जहाँ काम गर्न मिल्छ गरिन्छ नि, त्यसरी काम गर्ने बेला हो यो। त्यसरी जुट्ने बेला हो,’ थापाले भने, ‘सरकारका मानिस त्यसरी काम गरिरहेको छ, जुटिरहेको छ भन्यो भने त्यसले एउटा माहौल ल्याउँछ। अनि त्यो माहौलले सबैलाई मैले पनि त्यो ढंगबाट काम गर्नुपर्छ र सोच्नुपर्छ भन्ने लाग्छ।’
तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको थापाले बताए। ‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने हो।’
थापाले अल्पकालीन र दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताए। उनले अप्ठेरो अवस्थामा भएकोले राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले पनि सचिवालय खर्चलगायत कटौती गर्नुपर्ने बताए। ‘तर पूँजीगत खर्च भने सुधार गर्नुपर्छ,’ उनले भने।
नेपालको आर्थिक स्थिति बिग्रँनुमा सबै जिम्मेवार रहेको र सबै मिलेर हल खोज्नुपर्ने उनले बताए।
‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गरेर जानुपर्छ। प्रदेश र स्थानीय सरकारमा एमाले पनि छ,’ उनले भने, ‘सबै मिलेर काम गर्नुपर्नेछ। सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपुरकजस्तो हुनुपर्छ।’