नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंगो लगाएको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो।
बैठकमा सहभागी एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र नारायणप्रकाश (एनपी) साउद मन्त्री बन्ने टुंगो लागेको छ।
साउद गत मंसिरको चुनावमा कञ्चनपुर- २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो।
यस्तै बस्नेत सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो।
कांग्रेसले सात प्रदेशको प्रतिनिधित्व हुने गरी र समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने मापदण्ड बनाएको थियो।
कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ।
यसअघि गत चैत १७ गते उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो।
खड्का कर्णाली, महत बागमती, गुरूङ कोशी, रिजाल मधेश प्रदेशको प्रतिनिधित्व गर्दै सरकारमा गएका छन्। कांग्रेसले ८ मन्त्रालय पाएकाले बागमतीबाट २ मन्त्री पठाउने भएको हो।
सभापति देउवा पक्षले सरकारमा पठाउने थप २ मन्त्रीको नाम टुंगो लगाएको हो। जसमध्ये साउद परराष्ट्र मन्त्री हुने सम्भावना छ। बस्नेत भने स्वास्थ्य वा खेलकुदमध्ये एक मन्त्री हुने ती पदाधिकारी बताउँछन्।
सभापति देउवासँग संस्थापनइतर समूह (शेखर कोइराला-गगन थापा) ले कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्। तर सभापति देउवाले २ मन्त्रीको नाम दिन भनिरहेका छन्। कोइराला-थापा पक्षले २ मन्त्रीको नाम दिएका छैनन्।
सभापति देउवाले आफूहरूले २ मन्त्रीको नाम टुंगो लगाएकोले कोइराला पक्षले पनि २ मन्त्रीको नाम दिए मन्त्रिपरिषद बिस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नाम सिफारिस गर्ने बताए। कोइराला पक्षले ३ मन्त्री नपाउँदासमेत मन्त्रीका नाम नदिने, बरू सरकारमा सहभागी नभई बाहिरैबाट सहयोग गर्ने बताइरहेका छन्।
संस्थापनइतर समूहबाट उपसभापतिसमेत रहेका स्याङ्जा-२ बाट चुनाव जितेका धनराज गुरूङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, मोरङ- १ बाट निर्वाचित सांसद डिगबहादुर लिम्बुलगायत मन्त्री बन्न आकांक्षी छन्।
कांग्रेसले पाएको भागअनुसार ४ मन्त्री नदिएको, जसपाले १ मन्त्री नदिएको, जनमतले पनि १ मन्त्री नदिँदा प्रधानमन्त्री दाहालले अझै ६ मन्त्रालय हेर्दै आएका छन्।
वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि यही चैत २४ गतेदेखि आचारसंहिता लागु गर्ने तयारीमा निर्वाचन आयोग छ। आयोगका अनुसार मन्त्रिपरिषद बिस्तारलाई आचारसंहिताले रोक्दैन।
प्रधानमन्त्री दाहालले बुधबार नै काठमाडौंमा भएको एक कार्यक्रममा एक-दुई दिनभित्र मन्त्रिपरिषदले शतप्रतिशत पूर्णता पाउने दाबी गरेका थिए। कांग्रेसभित्र मन्त्रीको नाम अझै टुंगो नलागेको, जसपा र जनमतले पनि मन्त्रीका नाम नदिएकोले उपनिर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना कम छ। २ मन्त्री पाएको जसपाले अहिले एक मन्त्रीलाई मात्रै सरकारमा पठाएको थियो।