नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन लड्न लागेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि कटाक्ष गरेका छन्।
बुधबार बारा-२मा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यादव जितेर पनि फूलमाला लगाउने र मन्त्री मात्रै बन्ने बताए।
‘उहाँ पहिले मोरङबाट उठ्नुहुन्थ्यो। त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट उखेलिएपछि सप्तरी आउनुभएको थियो। त्यहाँबाट पनि जरा टकटक्याएपछि सबैभन्दा लाटासोझा जनता यहाँका छन् भनेर आउनुभएको छ,’ उनले भने, ‘उहाँ जितेर के गर्नुहुन्छ? गर्नु के हुन्छ? फूलमाला अबिर लगाउनेबाहेक के गर्नुहुन्छ। मन्त्री खानुहोला।’
त्यो भन्दा बढी यादवले केही गर्न नसक्ने भन्दै प्रश्न गरे।
यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलले साथ छोडेको बेला नेकपा एमालेले सहयोग गरेको पनि बताए। तर माथि पुग्दा उनको भूमिका पनि बेग्लै हुँदै गएको उनले बताए।