नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम पहिचानमा आधारमा राखिनुपर्ने आफूहरूको अडान रहेको बताएको छ।
कोशी नाम राखिएपछि आन्दोलन भइरहेको र माओवादीको धारणा के हो भन्नेजस्ता प्रश्न उठेकोले पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बताए।
गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट कोशी राखिएको थियो।
बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग बोल्दै महराले भने, ‘पहिचानकै पक्षमा त्यतिखेर अडान राख्नुपर्थ्यो, कमजोरी भएको छ। हामी पहिचानकै पक्षमा छौं भन्ने कुरा प्रदेश कमिटीमा राख्ने कुरा भएको छ।’
उनले कोशीमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने र राहतका लागि सरकारसँग आग्रह गर्ने निर्णय पनि भएको महराले बताए।
उनकाअनुसार मिटरव्याजीपीडितका विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको छ। मिटरव्याजीपीडितका पक्षमा पार्टी उभिएको महराले बताए। मिटरव्याजीपीडितको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि उनले बताए।
फरक प्रसंगमा महराले बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताए। ६ मन्त्रालय अझै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेर्दै आएका छन्।