हर्क साम्पाङ धरानको मेयर चुनिएको एक वर्ष पुग्न लाग्यो। उपमहानगरको राजनीतिक जिम्मेवारी सम्हाले यताको झन्डै वर्ष दिनमा मेयर साम्पाङ निरन्तर समाचारमा छाइरहेका छन्।सार्वजनिक वृत्तमा कहिले सकारात्मक कामका लागि स्याबासी पाउने उनले कहिले विवादको भुंग्रोमा पनि पर्नु परेको छ।
सामाजिक सञ्जाल र आमसञ्चारका माध्यममा यसरी कहिले स्याबासी र कहिले विवादको पात्र बन्ने गरेका मेयर साम्पाङले यस अवधिमा धरानमा कस्तो काम गरे र गरिरहेका छन्?
उनले यस बीचमा गरेका राम्रा कामको चर्चा धेरै भएको छ। उनको नेतृत्वमा धरानमा राम्रैराम्रो मात्रै भइरहेको छ कि नराम्रो पनि केही भएको छ?
सेतोपाटीले मुख्यतः यिनै प्रश्नको उत्तर खोजेर उनको अहिलेसम्मको रिपोर्ट कार्ड तयार पारेको छ। मेयर साम्पाङको नेतृत्वमा भएका राम्रा कामबाट उनको अहिलेसम्मको कार्यकाल नियालौं।
खानेपानीमा देखिने परिवर्तन
करिब १० वर्ष अभियन्ता बनेर दौडेका हर्कले गत वैशाखमा भएको स्थानीय चुनावमा आफ्नो मुख्य एजेन्डा नै धरानको खानेपानीलाई बनाएका थिए। मेयरमा निर्वाचित भए धरानवासीलाई काकाकुल नपार्ने उनको वाचालाई मतदाताले विश्वासको मत दिएका थिए।
नभन्दै उनले धरानको खानेपानीमा छोटो समयमै देखिने परिवर्तन ल्याएका छन्। अघिल्लो वर्षको चैत र यस पटकको चैतकै तुलना गर्दा परिवर्तन प्रष्ट देखिन्छ।
१ लाख ६६ हजार जनसंख्या भएको धरानमा दैनिक ३ करोड लिटर खानेपानी आवश्यक पर्छ। तर, धरानमा आपूर्ति हुँदै आएको खानेपानीको परिमाण दैनिक डेढ करोड लिटर मात्रै थियो।
एकातिर आवश्यकताभन्दा आधा नै कम मात्रै आपूर्ति हुने अनि अर्कातिर ठाउँ-ठाउँमा राखिएका मोटर पम्पहरू बिग्रिरहने समस्याले धरानलाई सुख्खायाममा काकाकुल बनाउँथ्यो।
धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार बोर्डले दैनिक दुई वटा ट्यांकर भाडामा लिएर नगरभरि दौडाइरहनु पर्थ्यो। त्यसो गर्दा पनि खानेपानीको आपूर्ति मागअनुसार हुन सकेको थिएन।
हर्क साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको अर्को साता अर्थात् जेठ दोस्रो सातादेखि सहरमा खानेपानीको स्रोत थप्ने अभियान सुरू गरे।
उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरवासीलाई आह्वान गरे। कामको सुरूआत आफैंले गरे। दिनभरि ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर खटिएपछि उनलाई सघाउनेको ओइरो लाग्यो।
यसरी करिब महिना दिनको श्रमदान र सहयोगी दाताको आर्थिक सहयोगले पकुवाको पानी धरानसम्म आइपुग्यो। पकुवाको पानी धरानसम्म आइपुग्दा श्रमदानमा खटिने टोलीले ठूलो युद्ध जिते बराबरको खुसीयाली मनाएको थियो। पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को योजनामा खटिन थाल्यो। त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो।
सुख्खायाममा कमिला कुद्ने यी खोलाबाट ल्याउने पानी भरपर्दो र अडिलो नहुने आवाज त्यसबेला पनि नउठेको होइन, जसरी अहिले पनि उठिरहेको छ। तर, यिनै खोलाहरूबाट थपिएको खानेपानीको स्रोतकै कारण धरानमा अहिले पानीका ट्यांकर कुदेका छैनन्। अरूबेला खानेपानीका लागि दौडादौड गर्नुपर्ने नगरवासीले अहिले सजिलै पानी पाइरहेका छन्।
'अहिले पहिलेको जस्तो पानीको अभाव छैन,' धरान ८ की मेनुका राईले भनिन्, 'पोहोरसम्म गाग्रो बोकेर ट्यांकर खोज्दै हिँड्नुपर्थ्यो। यसपालि त्यसो गर्नुपरेको छैन।’
उनका अनुसार अहिले दिनभरि पानी नआए पनि पहिलेजस्तो मरिहत्ते गरेर पानी खोज्नुपर्ने आवश्यकता छैन।
खानेपानी बोर्डका कार्यकारी निर्देशक पोखरेलका अनुसार मेयर साम्पाङको नेतृत्वमा सुरू भएको खानेपानीको स्रोत थप्ने अभियानले धरानमा ‘ठूलो परिवर्तन’ आएको छ।
'हामीले खोलाबाट थपेका पानीको मापन ठ्याक्कै गरेका त छैनौं,' पोखरेलले भने 'तर, अहिले दैनिक ५० लाख लिटर पानी थपिएको छ। डेढ करोड लिटर पहिलेदेखि नै आपूर्ति हुन्थ्यो। त्यसमा ५० लाख लिटर थपिएपछि धरानमा दैनिक २ करोड लिटर खानेपानी उपलब्ध छ। यसले धेरै सहज भएको छ।'
मेयर साम्पाङ पनि आफूले जिम्मेवारी सम्हालेयताको सबैभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी भएको बताउँछन्। अघिल्लो साता सेतोपाटीसँग कुरा गर्दै उनले श्रम अभियानबाहेकका अरू कामलाई आफूले उपलब्धि नठान्ने बताएका थिए।
‘अरू वर्षमा असोजदेखि नै धरानमा खानेपानीका ट्यांकर कुद्थे, अहिले चैत अन्तिमसम्म पनि कुद्न परेको छैन। यो यही अभियानको परिणाम हो,’ उनले भने।
सुरूमा खोलाबाट धरानसम्म ल्याइएको पानी सोझै खानेपानीका धाराबाट वितरण हुने गरेको थियो। खोलाको पानी प्रशोधन नगरी घरघरै पठाउँदा त्यसको गुणस्तरबारे चर्को आवाज उठेको थियो। त्यसपछि भने प्रशोधन गरेर मात्रै धारामा पठाउन थालिएको छ।
‘अहिले सुरूमा खोलाबाट पानी हामीले बनाएको स्यान्डपिटमा जान्छ। त्यहाँ बालुवा, गिटी ढुंगाहरू राखेर फिल्टर हुने व्यवस्था गरिएको छ,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘फिल्टर भएको पानी त्यसपछि रिजर्भ ट्यांकमा जान्छ। त्यो रिजर्भ ट्यांकबाट मात्रै धारामा पानी पठाउने गरिएको छ।’
खानेपानीको गुणस्तरमा कुनै कैफियत नरहेको बताउने पोखरेलले बेला-बेला यलमहरू हाल्ने गरिएको सुनाए। खानेपानीको गुणस्तर कायम गर्न गोर्खा वेलफेयर ट्रष्टले सघाएको उनको भनाइ छ।
अघिल्लो वर्षसम्म खानेपानी हाहाकार हुनुको अर्को मुख्य कारण पानी तान्ने मोटर बिग्रिरहने र लामो समयसम्म त्यो नबन्ने समस्या थियो। मेयर साम्पाङ सुरूदेखि नै खानेपानीमा कुनै सम्झौता नहुने भन्दै वैकल्पिक मोटर राख्नुपर्ने पक्षमा थिए।
‘अहिले वैकल्पिक मोटरहरू राखिएको छ,' बोर्ड निर्देशक पोखरेलले भने, ‘मोटर बिग्रियो भने तत्कालै विकल्प उपलब्ध छ। यसले पनि खानेपानी आपूर्ति लामो समय रोकिन्न।’
त्यसो त मेयरले पकुवाबाट पानी ल्याउने योजना सुनाउँदा यो स्थायी नहुने भन्दै विरोध भएको थियो। सुख्खायामका मार्च, अप्रिल र मे महिनामा सबैभन्दा धेरै सकस हुने गरेको थियो।
‘यसपटक अहिलेसम्म सबै स्रोतहरूबाट नियमित पानी आइरहेको छ,' पोखरेलले थपे ‘अब त पानी पर्न पनि सुरू भएको छ। त्यसैले पहिले भनेजस्तो तत्कालै सुकिहाल्ने समस्या हुँदैन।’
उनका अनुसार यसरी खोलाहरूबाट पानीको स्रोत थपिनु र अहिलेको जस्तो सहज अवस्था हुनु धरानका लागि एकदमै ठूलो उपलब्धि हो।
‘हामी अघिल्लो वर्षसम्म सुख्खायाममा धारा नै वितरण गर्दैन थियौं,' उनले भने, ‘अहिले दैनिक २०-२५ जनालाई नयाँ धारा वितरण गरिरहेका छौं। माग भएअनुसार दिइरहेका छौं। यति चाँडो यस्तो अवस्था होला भन्ने कल्पना थिएन।’
यसअघि खोलाहरूबाट पानी थप्नेबारे योजना र सोच नबनेको तर मेयर साम्पाङले योजना अघि सारेकै कारण यो सम्भव भएको उनको बुझाइ छ।
अभियानले जगाएको आशा
हर्क साम्पाङले मेयर बनेपछि धरानमा दुइटा अभियान सँगै अघि बढाइरहेका छन्।
पहिलो, श्रम अभियान र अर्को लागुऔषधविरोधी अभियान। आफ्नो पृष्ठभूमि नै अभियन्ताको भएको बताउने उनी अभियानहरू निरन्तर जारी राख्ने बताउँछन्।
‘मेरो कार्यकालमा कति बाटो बनाएँ, कति संरचना थपें भन्ने कुरामा मेरो धेरै चासो छैन,' मेयर साम्पाङले बारम्बार भन्दै आएका छन्, ‘मैले कतिलाई श्रमप्रति आस्थावान् बनाउन सकें, माटोको माया जगाउन सकें र जीवनप्रति आशावादी बनाउन सकें भन्ने कुराले मेरो सफलता असफलता नाप्नेछु।’
हुन पनि ११ महिनायता धरानमा निरन्तर चलिरहेको श्रम अभियान र त्यसमा सहभागी संख्याले धरान श्रमदाताको सहरका रूपमा चिनिन थालेको छ। हरेक शनिबार वा बिदाको दिन हजारौं सर्वसाधारण सहभागी हुने श्रम अभियानमा अन्य दिन पनि सयौं सहभागी हुँदै आएका छन्। एक दिन वा साता होइन ११ महिनादेखि श्रम अभियान निरन्तर छ। संख्या उत्तिकै छ, घटेको छैन। खानेपानी आपूर्ति सहज बनाउन श्रम अभियानले टेवा दिएको प्रष्ट देख्न सकिन्छ।
यतिमात्रै होइन श्रमदान गर्न भेला हुने मात्रै होइन खानेपानीका लागि आर्थिक सहयोग गर्नेहरूको पनि धरानमा लर्को लागेको छ। पकुवा खोलाबाट सुरू भएको अभियानलाई सेउतीसम्म आइपुग्दा १ करोड ५४ लाख नगद सहयोग उठेको छ। अहिले चलिरहेको कोकाहा अभियानमा पनि चैत २० सम्ममा १ करोड १४ लाख नगद र ४५ लाख बराबरको पाइप सहयोग जुटिसकेको छ।
‘नेतृत्वमा रहेको मान्छे इमान्दार छ भन्ने लाग्यो भने सर्वसाधारणले धक फुकाएर सहयोग गर्ने रहेछन् भन्ने प्रमाण धरानमा देखिएको छ,' धरान ८ का देवेन्द्र कुँवरले भने, ‘श्रमदानमा खटिनेहरूको संख्या र आर्थिक तथा जिन्सी सहयोग गर्नेहरूको ताँतीले त्यही देखाउँछ।’
उनका अनुसार श्रम अभियानमार्फत् मेयर साम्पाङले जनतालाई विकासमा जोडेका छन्।
'विकास अरूले गरिदिएर मात्रै होइन आफू पनि सहभागी भएर हुन्छ भन्ने सन्देश स्थापित गरेका छन्,' उनले थपे, ‘यो उनको सबैभन्दा ठूलो सफलता हो।'
श्रमसँगै धरानमा जारी रहेको लागुऔषधविरोधी अभियानले पनि युवाहरूलाई सकारात्मक प्रभाव पारेको अनुभव यहाँका अभिभावकको छ। मेयर साम्पाङ हरेक शुक्रबार टिमसहित विभिन्न ठाउँमा पुग्छन्।
लागुऔषध विरोधी प्लेकार्ड, गीत, कविताहरू प्रस्तुत गरेर स्थानीयले लागुऔषधबाट टाढा रहन आह्वान गर्छन्। आउँदो साता भेला हुने ठाउँबारे अघिल्लै साता जानकारी गराउने र त्यसपछि तोकिएको ठाउँमा गएर कार्यक्रम गर्ने अभियान निरन्तर छ। जहाँ पहिला लागुऔषध प्रयोग गर्ने तर अहिले छोडेकाहरू, चिकित्सक, प्रहरी लगायतले लागुऔषध प्रयोगको असरबारे प्रवचन दिने गरेका छन्।
तन्नेरीहरूलाई ‘मोटिभेट’ गर्ने खालका प्रस्तुतिसमेत दिने गरिएको कार्यक्रममा मेयर आफैंले भन्ने गरेका छन्, ‘तपाईंहरूलाई केही निराशा छ भने मलाई भेट्न आउनुस्। केही समस्या परे मलाई भेटन आउनुस्। तर, लागुऔषधको दलदलमा नफस्नुस्।’
लागुऔषधविरोधी अभियानले तत्कालै देखिने परिवर्तनभन्दा दीर्घकालमा राम्रो प्रभाव पार्ने मेयर साम्पाङको भनाइ छ।
‘भावी सन्ततिलाई लागुऔषधको दलदलमा फसेको देख्न नपरोस् भनेर यो अभियान चलाइएको हो,’ उनले भने, ‘अब मेरो कार्यकालको दोस्रो वर्षमा सबै युवाका लागि सीपमूलक तालिम दिने योजना छ। तन्नेरीहरू काम नजानेर बेरोजगार भएका हुन्।’
यसबाहेक धरानवासीले अनुभव गरेको सबैभन्दा राम्रो पक्ष भनेको मेयर सजिलै उपलब्ध छन्। उनलाई भेट्न कसैले समय माग्नु पर्दैन।
‘हामीले चाहँदा मेयरलाई सजिलै भेट्न सकिन्छ। जनताका कुरा सुन्नु पनि हुन्छ। धेरै चित्त नबुझे उहाँ थुन्न पनि लगाउनुहुन्छ,’ धरान १५ का एक जनाले भने, ‘आफ्ना कुरा सुनाउन र भेट्न यतिको सजिलो मेयर भेटिन्न।’
मेयर साम्पाङले गरेका देखिने गरीका यस्ता कामकै कारण उनको लोकप्रियता बढ्दो देखिन्छ। खानेपानी समस्या अन्त्य गर्न लाग्ने र भ्रष्टाचार नियन्त्रण गर्ने एजेन्डा बोकेर चुनाव जितेका उनीसँग धरानवासीको ठूलो अपेक्षा छैन।
उत्पात राम्रो केही गर्न नसके पनि हर्कले नराम्रोचाहिँ गर्दैनन् भन्ने उनीहरूको आशामा उनले अहिलेसम्म तुषारापात हुन दिएका छैनन्।
त्यसैले उनको लोकप्रियता कायमै देखिन्छ। धरानका सामाजिक अभियन्ता राजेन्द्र शर्माका शब्दमा ‘हर्क साम्पाङ चुनावमा २० हजार मत ल्याएर निर्वाचित भएका थिए। निर्वाचित भएको ६ महिनामा उनले त्यो लोकप्रियतालाई ५० हजारभन्दा माथि उकालेका छन्। अहिले पनि त्यो क्रम बढ्दो छ।’
त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापकसमेत रहेका अभियन्ता शर्माका अनुसार पञ्चायतकालदेखि नै धरान नगर पञ्चायत सधैँ आर्थिक अपचलनको केन्द्र बन्यो। जनप्रतिनिधि हुन् वा कर्मचारी कोही चोखो भएनन् भन्ने आम बुझाइ सधैं व्याप्त रह्यो।
‘हर्कको आगमन सबै नगरवासीका लागि सन्तोषको विषय भयो किनभने उनी भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास सबैलाई थियो,’ शर्माले भने, ‘निर्वाचित भएको पहिलो वर्ष उनी त्यो जनविश्वासमा खरो उत्रिएका छन्। उनीबाट भ्रष्टाचार भएको त छैन नै सुखसुविधाको उपभोग पनि भएको छैन भन्ने सबैलाई विश्वास छ। भ्रष्टाचारमा उनी सहभागी छैनन् भन्ने ढाडस नगरवासीलाई प्राप्त भएको छ।’
त्यसबाहेक उनको जनविश्वास कायम रहनु वा बढ्दै जानुको अर्को मुख्य कारण धरानको खानेपानी समस्या हल गर्न उनले दिनरात गरिरहेको मिहेनत पनि हो। आर्थिक अनियमिततामा नमुछिनु, सुविधाभोगी नहुनु र आफ्नो मुख्य चुनावी प्रतिवद्धता (खानेपानी ल्याउने योजना) पूरा गर्न दिनरात नभनी खटिनु र हजारौं सर्वसाधारणलाई त्यसमा एकाकार गराउन सक्नु नै मेयर साम्पाङको अहिलेसम्मको मुख्य सफलता हो।
पढ्नुस्:
यति हुँदा हुँदै पनि मेयर साम्पाङ बारम्बार विवादमा पर्ने गरेका छन्। नगरसभित्र र बाहिर सामाजिक सञ्जालमा उनको आलोचना भइरहन्छ। मेयर भएपछि उनले केचाहिँ बेठिक गरिरहेका छन्?
हेरौं :
टिम परिचालनमा विफल
निर्वाचित भएयता तीन पटक त उनीसँग अरू जनप्रतिनिधिको देखिने गरीको ठाकठुक परेको छ। अहिले पनि वडाध्यक्षहरू उनीविरूद्ध आन्दोलनमै छन्।
कहिले वडाध्यक्षलाई बैठक छाडेर जानुस् भनेर अनि कहिले वडाध्यक्षलाई प्रष्टीकरण सोधेर पनि मेयर साम्पाङले आफूलाई विवादमा पार्दै आएका छन्। यसले उनको आफ्नै टिम अर्थात् जनप्रतिनिधिहरूको समूह आकर्षित छैन। यसले धरानमा बारम्बार समस्या निम्त्याएको छ।
आफ्नै सहयात्री जनप्रतिनिधिहरूसँग मिल्न नसकेको भन्दै उनको आलोचना हुने गरेकोबारे सेतोपाटीले यहाँका वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूसँग कुराकानी गरेको थियो। सर्वसाधारणको विश्वास कायमै राखेका मेयरले आफ्नो टिम अर्थात् उनीसँगै निर्वाचित अरू जनप्रतिनिधिलाई भने साथमा लिन नसकेको प्रष्ट देखिन्छ।
मेयर साम्पाङ प्रक्रियाभन्दा आवश्यकता मुख्य कुरा हुने बताउँछन्। उनको अभिव्यक्तिले पनि उनी विधि र प्रक्रियाप्रति लगाव राख्दैनन् भन्ने देखाउँछ। एकातिर विधि र प्रक्रियालाई नजरअन्दाज गर्ने उनीप्रति ठूला दलहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको दलीय आग्रह पनि उत्तिकै छ। आफूलाई लागेपछि सकियो भन्ने शैलीमा पेश हुने उनको कार्यशैलीगत कमजोरीले यसमा मलजल गरेपछि धरानमा बारम्बार विवाद सिर्जना हुने गरेको छ।
‘धरानको समग्र विषयबारे अहिलेसम्म उहाँले हामीसँग अनौपचारिक कुराकानी गरेको, कसो गरौं भनेर राय लिन खोजेको अनुभव छैन’, अधिकांश वडाध्यक्षहरूको स्वर एकै छ, ‘मलाई जनताले विश्वास गरेकै छन्, वडाध्यक्ष र अरूको साथ किन चाहियो भन्ने उहाँलाई लागिरहेको छ। यो धरानको विकासका लागि खतराको कुरा हो।’
गएको जेठयता मात्रै तीन पटक मेयर र अरू जनप्रतिनिधिबीच असमझदारी चुलिएर महिनौंसम्म कार्यपालिका बैठक नै हुन नसक्ने अवस्था सिर्जना भएको छ। अहिले पनि वडाध्यक्षहरूसँगको उनको तिक्तता कायमै छ। धरान १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर साम्पाङले लोकप्रियताको आडमा विधि मिच्ने, अरूलाई अपमान गर्ने गर्ने गरेको बताउँछन्। पछिल्लो विवाद पनि यसैको परिणाम भएको उनको बुझाइ छ।
जम्मा २० वटा वडा भएको धरानमा मेयर-उपमेयरसहित ३० सदस्यीय कार्यपालिका छ। जसमध्ये १० वडाध्यक्ष र ८ जना सदस्यसहित एमालेसँग बहुमत (१८ जना) छ। कांग्रेसका ७ जना वडाध्यक्ष भएको नगरमा राप्रपा, स्वतन्त्र र माओवादीसँग एक-एक जना अध्यक्ष छन्। कार्यपालिकाको बहुसंख्या अर्थात् २२ जना जनप्रतिनिधि अहिले पनि हातमा कालोपट्टी बाँधेर काममा छन्।
‘हो, हामी र मेयरबीचमा बारम्बार विवाद सिर्जना भएको सत्य हो,’ वडाध्यक्ष भट्टराई भन्छन्, ‘यसको मुख्य कारण मेयरले विधिमा चल्न नचाहेर हो। विधिमा चलौं भन्दा पहिलो बैठकमै समस्या भयो। कहिले वडाध्यक्षलाई बैठक छाड्न भन्ने, कहिले अरूको कुरै नसुन्ने भएपछि समस्या आइरहेको छ।’
मेयरले कुन विधि मिचेका हुन् त? यसको उत्तरमा वडाध्यक्ष भट्टराई दोहोर्याउँछन्, ‘बैठकमा वडाध्यक्षहरूलाई बोल्न नदिने, निस्केर जानुस् भन्ने, पिएलाई पत्र लेख्न लगाएर हाम्रो अपमान गर्ने, निर्णय बेगरै ठूला अभियान चलाउने सबै काममा उहाँले विधि मिच्नुभएको छ।’
धरानमा मेयरको चौथो तहका स्वकिय सचिवले पत्र पठाउँदै वडाध्यक्षहरूसँग योजनाहरूको प्रगति विवरण मागेपछि विवाद सुरू भएको थियो। यसबारेको विवाद अहिले पनि कायमै छ।
कार्यपालिका बैठकमा फरक मत राखेकै आधारमा पूर्वाग्रह साँधेर मेयर प्रस्तुत हुने गरेको वडाध्यक्षहरू बताउँछन्।
उनीहरूको भनाइ पुष्टि हुने गरीको घटना दुई साता अघि धरानमा भयो।
मेयरले काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको एउटा योजनाको काम रोक्न निर्देशन दिएपछि अर्को विवाद भएको थियो। अघिल्लो बिहीबार पत्राचार गर्दै धरान-९ र १० को खहरे खोलामा निर्माण सम्पन्न गरी भुक्तानीसमेत भइसकेको रिटेनिङ वालको काम रोक्न मेयरले निर्देशन दिए। चलानी नम्बर ५९१० को पत्रमा भनिएको थियोऽ ‘धरान–१९ को एलोहिम चर्च उत्तरपट्टिको धरान–९ र १० को सिमानामा पर्ने खहरे खोलामा खोलापट्टि च्यापी रिटेनिङ वाल लगाउने काम भएको स्थलगत अनुगमनबाट देखिएकोले उक्त काम स्थगित गरी सम्पर्क गर्न हुन जानकारी गराइन्छ।’
सो पत्रमा स्थलगत अनुगमन गर्दा ‘काम भइरहेको देखिएकोले काम रोकी सम्पर्क गर्न अनुरोध गरिएको’ थियो। तर,परियोजनाको काम भने एक महिनाअघि नै सम्पन्न भई भुक्तानीसमेत भइसकेको थियो।
धरान-१० का वडाअध्यक्ष विवेक राईले भने, ‘वडाको १० लाख रूपैयाँ बजेटमा सञ्चालित योजनाको काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको थियो। मेयरले ममाथि इगो साँधेर हास्यास्पद काम गरे।’
यसअघि मेयरले आफूलाई ऐन नियममै उल्लेख नभएको स्पष्टीकरणसमेत सोधेको उनको भनाइ छ। नगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष भट्टराईले फरक मत राखेकै आधारमा मेयर राईले पूर्वाग्रह राखेको बताए।
पारदर्शीताको प्रश्न
हजारौंको संख्यामा भइरहेको श्रमदान र आर्थिक सहयोगको हिसाबकिताबको पारदर्शिताबारे धरानमा प्रश्न पनि छ। धरानमा चलेको श्रम अभियान र त्यसैको सहयोगमा खानेपानीको स्रोत थप्ने कार्यमा आर्थिक सहयोग उठ्ने क्रम पनि उत्तिकै छ। मेयर साम्पाङकै शब्दमा श्रमदान र आर्थिक सहयोगमा धरानमा पछिल्लो ११ महिनामा १० देखि १२ करोडको सम्पत्ति जोडिएको छ।
’आर्थिक सहयोग गर्नेहरूको ताँती लाग्छ यहाँ,’ अघिल्लो साता धरानको ग्रीन टी स्टेसनमा मेयर साम्पाङले सेतोपाटीसँग भनेका थिए। त्यहीँ आएर अभियानलाई नगदै सहयोग बुझाउनेहरू पनि भेटिए।
यो अभियानको आर्थिक पाटो दत्तकुमार लिम्बुले हेर्ने गरेका छन्। उनी स्थानीय चुनावमा हर्कको टिमबाट उपमेयर लडेका व्यक्ति हुन्। यसरी जुटेको आर्थिक सहयोगकै कारण खानेपानी स्रोत थपेर धरानको विकासमा सहयोग पुगेको लिम्बू बताउँछन्। यद्यपि अहिले मेयरको आलोचना गरिरहेकाहरूले भने यसरी संकलित सहयोग अपारदर्शी रहेको, विधिअनुसार कारोबार नभएको बताइरहेका छन।
‘निजी रसिदका भरमा त्यति धेरै आर्थिक कारोबार भैरहेको छ,’ वडाध्यक्ष भट्टराई भन्छन्, ’त्यसको पारदर्शिता खोइ? कुन विधिअनुसार कहाँ खर्च भएको छ? पारदर्शिताको कुरा गरेर आउनुभएको मेयर साबले आफैंचाहिँ पारदर्शी हुनु पर्दैन?’
मेयरले अघि सारेको प्रोजेक्टहरूको व्यवस्थापकीय नेतृत्व गर्ने दत्तकुमार लिम्बू हिसाबकिताब पारदर्शी रहेको, विधिअनुसार खर्च गरिएको दाबी गर्छन्।
'जिन्दगी नै अपारदर्शी रूपमा बिताउनेहरूले हामीलाई पारदर्शिता सिकाउने कुरै हास्यास्पद छ,’ उनले भने, ’हामीसँग सबै सहयोगको एक-एक हिसाब छ। यो सार्वजनिक पनि गर्दै आएका छौं।’
लिम्बुका अनुसार आर्थिक सहयोग जुट्ने क्रम जारी छ। यी सबैको खर्च विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक हुने गरेको छ। तर, लेखाको सर्वमान्य अभ्यास अनुसारको अडिट गर्ने लगायतका काम भने भएको छैन।
‘हामी सामूहिक रूपमा हिसाब किताब गर्छौ र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं,’ लिम्बुले भने। अरू जनप्रतिनिधिहरू भने यो सहयोगसँगै सबै अभियानलाई नगर मातहत ल्याउनु पर्ने बताइरहेका छन भने मेयर साम्पाङ र उनको समूह मेयरको नेतृत्वमा नगरवासीकै सहयोगमा चलेको अभियान स्वत: नगरको हुने जिकिर गर्दै आएका छन।
यसबाहेक वडाध्यक्षहरूले सार्वजनिक रूपमा मेयरलाई खानेपानी बोर्डको साढे तीन करोड रुपैयाँ विधि मिचेर खर्च गरेको आरोप लगाइरहेका छन्। खानेपानी बोर्डको साढे ३ करोडभन्दा बढी पैसा बिना निर्णय र खरिद ऐनविपरीत खर्च भएको उनीहरूको भनाइ छ। तर, खानेपानीका कार्यकारी निर्देशक राजु पोखरेल यो वर्षभरि ३ करोड हाराहारी खर्च भएको तर खरिद नियमावली ऐनविपरीत गएर कुनै काम नभएको बताउँछन्।
’जेनेटर मोटरपम्प लगायतका सामाग्रि टेन्डरै खुलाएर खरिद गरिएको छ,’ उनले भने।
पढ्नुस्: आफ्नै हर्कतले पिरोलिँदै हर्क साम्पाङ
निशानामा आलोचक
धरानको एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापकका अनुसार नगरले शिक्षा क्षेत्रमा ‘नियमितबाहेक केही काम गरेको छैन।’
उनका अनुसार परीक्षा चलाउने, अनुगमन गर्नेजस्ता नियमितबाहेक अरू काम हुनै सकेको छैन। नगरकै शिक्षा शाखाका कर्मचारीहरू पनि यो स्वीकार्छन्।
‘नगरपालिकाले खानेपानीमा मात्रै आफूलाई केन्द्रीत गरेको देखिन्छ,’ ती प्रधानाध्यापकले भने, ‘शिक्षा क्षेत्र तदर्थवादमै चलेको छ।’
यसबारे आवाज उठाउने ठाउँमा आफूहरू नभएको उनले सुनाए।
‘जायज माग उठाउँदा पनि मेयरको लोकप्रियताका अघि आक्रमणमा परिने भय छ,’ ती प्रधानाध्यापकले भने, ‘उहाँलाई र टिमलाई लागेकोबाहेक कुरा गरियो र राखियो भने भरेदेखि नै सामाजिक सन्जालमा आक्रमण हुन थाल्छ। त्यसैले बोलेका छैनौं।’
मेयरको लोकप्रियताले धरानमा अभिव्यक्ति स्वतन्त्रता नै हरणमा परेको आरोप जनप्रतिनिधिहरू पनि लगाउँछन्। ‘कार्यपालिका बैठकमा अभिमत राखेकै आधारमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन थालेको छ। यो डरलाग्दो अवस्था हो,’ धरान-१५ का अध्यक्ष नरेश इवारमले केही दिनअघि भनेका थिए। १७ का अध्यक्ष भट्टराई त मेयरको विपक्षमा बोल्दा समर्थकहरू घर घेर्न आउने, ट्रोल बनाएर हैरान पार्ने कामसमेत भएको बताउँछन्।
धरानमा अर्को चिन्ता पनि प्रशस्तै देखिन्छ। मेयर साम्पाङ खानेपानीको स्रोत खोज्न जति चिन्तित देखिन्छन्, ठूला आयोजनामा उनको दिलचश्पी अहिलेसम्म देखिएको छैन। यसले धरान पछि पर्ला भन्ने भय यहाँ व्याप्त छ।
‘ठूला योजनाहरू राष्ट्रियस्तरमा लैजान नसकेर, दातृ निकायसम्म पुग्न नसकेर पछि पो रह्यौं कि भन्ने भय यहाँ प्रशस्त छ’, सहप्राध्यापक शर्माले भने, ‘मेयर इमान्दारितामा खरो उत्रिएजस्तै सहकार्य र चौतर्फी विकासमा पनि खरो उत्रिन जरूरी छ।’
उनका अनुसार सहरी विकासको बजेट ल्याउन धरान यसपटक पनि विफल भयो। सँगैका विराटनगर र इटहरीले ल्याए। ‘उहाँको ध्यान ठूला आयोजनामा पनि जानुपर्छ,’ उनले भने।
धरानमा यस्तो चिन्ता प्रकट भइरहेका बेला पछिल्लो तीन-चार दिनयता मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघा काठमाडौंको दौडाहामा थिए। आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरी आवश्यक बजेट विनियोजन गर्न माग गर्दै विभिन्न ठूला योजनाहरू लिएर उनीहरू काठमाडौं गएका थिए।
काठमाडौंमा धरानको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूलाई भेटेर कोशी नदीबाट खानेपानी ल्याउने योजनादेखि धरानको वडा नं २० स्थित बाँनियाटारमा जलाशय निर्माण गर्ने योजनाका लागि बजेट माग गरेको छ।सार्वजनिक शौचालय पुनःनिर्माणदेखि ल्याण्डफिल साइट निर्माणको कामका लागि पनि बजेट माग गरेको छ।
मेयर साम्पाङको नेतृत्वमा निर्वाचित भएको टिम आएयता धरानमा सबैभन्दा सशक्त रूपमा चलेको अभियान खानेपानीको स्रोत थप्ने हो। बाँकी आयोजनाहरूमा भने नियमित बाहेकका काम हुन सकेका छैनन्।
यसबारे मेयरले सेतोपाटीसँगको अन्तरवार्तामै भनेका थिए, ‘बजेटको विकास जहाँ पनि हुन्छ। म यहाँ ठोस परिवर्तनका लागि आएको हुँ।’
नगरले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको अन्तिममा आधिकारिक तथ्यांक आउने भए पनि गएको वैशाखयता हालसम्म करिब ८ किलोमिटर सडक कालोपत्रे भएको छ। नयाँ सडक विस्तारको काम पनि भइरहेको छ। ७ वटा भवन बनाएको र नियमित अनुगमन गर्नेबाहेक सामुदायिक विद्यालय सुधारका लागि नयाँ कार्यक्रम आएको छैन।
‘शिक्षाका नियमित कामहरू भइरहेका छन्,’ एक कर्मचारीले भने, ‘नयाँ योजना नै लागु भयो भन्ने त्यस्तो केही छैन।’
यसबाहेक धरानमा भइरहेको अर्को काम भनेको बहुवर्षे योजना अन्तर्गतको बसपार्कको काम हो। अहिले दोस्रो वर्षमा चलिरहेको बसपार्कको टर्मिनल भवन बनिरहेको छ। साथै साबुन उद्योग र बेसार उद्योगको काम सुरू भएको छ। श्रमको अभियान नै चलाएर श्रमिकको सम्मान गरौं भन्ने मेयरले आफ्नै करारका कर्मचारीहरूको भने बारम्बार हुर्मत लिएको आरोप कर्मचारीको छ।
‘हामी विभिन्न शाखामा १८० जना करारका कर्मचारी छौं,’ ती कर्मचारीले भने ‘तर, हाम्रो सामाजिक सुरक्षामा मेयर साबको कुनै चासो देखिन्न। उहाँसामु गएर आफ्ना कुरा राख्न पनि कठिन छ।’
कानुन भर्खरै आएका कारण कर्मचारीहरूलाई सामाजिक सुरक्षामा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।
आफ्ना कमजोरीहरूबारे हम्मेसी नखुल्ने मेयर साम्पाङ यसपटक सेतोपाटीसँगको कुराकानीमा खुलेका थिए। विगतमा एक्लै लडेर आएका कारण एक्लै गर्नसक्छु जस्तो लाग्ने कमजोरी रहेको उनले स्वीकारेका थिए। उनले आफूले जानेर कसैको अपमान नगर्ने पनि बताएका थिए।
पढ्नुस्: