नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो।
सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।
सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए।
‘उहाँको अनुहारको छाला राम्रो हुँदै आएको छ। बायाँ हातको पट्टी खोलिइसकिएको छ। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिनुभएको छ,’ उनले भने।
दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। ‘दिनमा तीन/चार पटक हिँडाउन थालिएको छ। उहाँ अरूको सहयोगमा हिँड्न थाल्नुभएको छ,’ उनले भने।