नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अब सरकारले गति लिने बताएका छन्।
शुक्रबार सुर्खेत आएका शर्माले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्र सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब भने सरकारको कामले गति लिने बताए।
‘विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन बिते,’ उनले भने, ‘अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आइसकेको छ, कामले गति लिन्छ।’
उपमहासचिव शर्माले केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको बताए।
उनले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन्। कर्णाली प्रदेशमा सहभागी एमालेको विषयमा भने केन्द्रमा गठबन्धनले छिट्टै निर्णय गर्ने बताए।
‘कर्णालीको सरकार यही रहन्छ, यही सरकार यहाँको गरिबी अन्त्य गर्नेगरि काम गर्छ,’ शर्माले भने, ‘यो प्रदेशमा पनि कांग्रेससहितका सत्ता साझेदार दलहरुबीच नै सहकार्य हुन्छ।’
केन्द्रमा सरकार फेरबदल भएपनि सभामुख भने निरन्तर रहने उनले बताएका छन्।