राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारको न्यूनतम साझा कार्यक्रममा अघिल्लोपटक समावेश भएका बुँदाहरू हटाइएको प्रति प्रश्न उठाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले रास्वपाको वाचापत्रमा उल्लेख भएका केही विषयहरूलाई सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाइएप्रति प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार भनिरहँदा रास्वपाले राखेका विषयहरू न्यूनतम साझा कार्यक्रमबाट हटाइएको उनले बताए।
बलात्कार सम्बन्धी मुद्दाको द्रुत छिनाफानो गर्ने, भ्रष्टाचारमा अख्तियार जोडिएको विषयहरु छानविन गर्ने र कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाइने भनि अस्तिसम्म सहमति भएको तर अहिले हटाइएको झाले बताए।
त्यस्तै श्रमिकहरूको न्यूनतम पारिश्रमिकको कुरा र एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने विषयहरू समावेश नभएकोमा झाले प्रश्न गरे।
‘न्यूनतम साझा कार्यक्रममा दलको वाचापत्रमा उल्लेख भएका कुराहरु अस्ति अट्यो भने अहिले किन अटिरहेको छैन,’ उनले भने, ‘हाम्रो राजनीतिक अस्तित्वप्रतिको सोच र व्यवहार परिवर्तन हुँदैछ भने हामी स्पष्टता चाहन्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।