नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलले प्रदेशको राजधानीका नाममा नअल्मलाउन बुटवलवासीलाई आग्रह गरेका छन्।
'अब राजधानी, राजधानी भनेर नअल्मलिनुस्, अगाडि के गर्ने भन्ने विषयमा छलफल गराैं। बुटवलमा राजधानी नहुँदैमा आकाश खस्दैन', बुटवलमा आयाेजित हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघकाे साधारण सभालाई सम्बोधन गर्दै पाैडेलले भने।
पूर्वउपप्रधानमन्त्री समेत रहेका पाैडेलले बुटवलबाट प्रदेशको राजधानी सरेर तर्सिनु नपर्ने बताउँदै, भालुवाङमा राजधानी सर्दा बुटवलबाट केही नगएको दाबी गरे।
´बुटवलमा पहिले जे थियो त्यही छ, दाङमा प्रदेश सभाको भवन बनेको छ, यहाँबाट होटल गएका छैनन्, उद्योग गएका छैनन्', उनले भने।
राजधानी सर्दैमा बुटवल नसकिने भन्दै पौडेलले बुटवल सकियो भन्ने धारणा नपाल्न आग्रह गरे।
पाैडेलले प्रशासनिक र आर्थिक राजधानी अलग-अलग स्थानमा रहेको विश्वभरकाे अभ्यास भएकाे स्मरण गराउँदै बुटवललाई आर्थिक राजधानी बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए।
पाैडेलले पछिल्लो समय रूपन्देहीको विकासबाट तर्सेकाहरूले विमानस्थल किन चाहियो? सम्मेलन केन्द्र किन चाहियो? प्रदर्शनीस्थल किन चाहियो भन्ने जस्ता कुतर्क गरेर नागरिकलाई भ्रममा पार्ने काममा लागेको बताए।
‘विमानस्थल आवश्यकताले बनाइएको हो, राज्यले लगानी गरेको हो नागरिक उड्डयन प्राधिकरणको केही ढिलासुस्तीका कारण पूर्ण सञ्चालनमा केही ढिलाइ भएको हो, यसलाई चलाउनुपर्छ चलाएर देखाउँछौंं’, उनले भने।