उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्।
उनले शनिबार अध्यागमन कार्यालयको निरीक्षण र सेवाग्राहीसँग कुराकानी समेत गरेका थिए।
उनले सेवा प्रवाहको अवस्थिति, सेवाग्राहीले भोग्ने गरेका दु:ख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाइजेसन लगायतको पक्षमा चासो व्यक्त गरे।
साथै उनले तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देशन समेत दिए।
विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि आग्रह गरे।
अनुगमनसँगै उनले अन्तराष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशन दिए।
श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनैपनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए।
’अन्तराष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो,' उनले भने, ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।’