सिंहदरबारस्थित कार्यकक्षमा सभामुख देवराज घिमिरेले तीन जना शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी र गतिशील ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बताए।
अहिले प्रारम्भिक रूपमा छलफल भएको र केही दिनमै पुन: बैठक बस्ने पनि उनले बताए।
‘सदनका काम कारबाहीका सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले अगाडि बढाउने र अहिले आइराखेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो। प्रारम्भिक छलफल भयो। छलफल सकारात्मक छ,’ उनले भने।
बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको उनले बताए।
यस्तै प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहेको बताए। तर प्रतिपक्षी दल एमालेले भने समितिमा लैजानुपर्ने अडान लिएको र बीचको बाटोबाट खोज्ने उनले बताए।
‘फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्ने छ। प्रतिपक्षीको कुरा चाहिँ समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोज्ने भन्ने पनि छ,’ उनले भने।
यो विधेयकसँगै संवैधानिक परिषदसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउने विषयमा छलफल भएको उनले बताए।
‘संवाद गरेर सदनभित्र खासगरी टिआरसीसँग सम्बन्धी विधेयक र संवैधानिक परिषदसँग सम्बन्धी विधेयक, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरूरी छ। यो राष्ट्रको निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो,’ उनले भने।
यस विषयमा छलफल गर्न विज्ञहरूको पनि सहयोग लिने र फेरि चैत २८ गते बिहान साढे ९ बजे बस्नेगरी स्थगित भएको उनले बताए।