मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुन: वार्ता हुने भएको छ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार (भोलि) बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो।
वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो। सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै भोली पुन: वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको थियो।
वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए। उनले वार्तामा आफूहरूको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताए।
सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ। पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने, उनीहरूले आफूहरूमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।