नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो अनुकूलता र समयका बारेमा भ्रम पाल्न नहुने बताएका छन्।
आइतबार जिल्ला पार्टी कार्यालय दाङ घोराहीमा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सजग गराएको बताए।
‘मैले प्रधानमन्त्रीलाई हिजो मात्रै भेट्ने अवसर पाएको थिएँ। मैले उहाँलाई स्पष्ट भनेको छु। संख्याको अनुकूलतामा अलमल नपरौं र समयका बारेमा पनि भ्रम नपालौं भनेर,’ उनले अगाडि भने, ‘हामीसँग पाँच वर्ष होइन काम गरी देखाउनलाई पाँच महिनाको समय मात्रै छ भन्ने कुरा मैले गरेको छु।’
यो पाँच महिनाको अवधिभित्र नागरिकहरूको माझमा आत्मविश्वासमा आएको ठूलो ह्रास अन्त्य गर्न जरुरी रहेको उनले जोड दिए।
‘सरकारले यो अवधिमा आम नागरिकलाई उनीहरूको विश्वासमा आएको ह्रासबाट बाहिर लिएर विश्वास दिलाउन आवश्यक छ,’ थापाले भने, ‘त्यो गर्न सकिन्छ र गर्न गाह्रो छैन। तर त्यसका लागि कुरा हैन काम गर्न जरुरी छ।’
बोलेर वा कामना गरेर मात्रै नागरिकको आत्मविश्वास जित्न सम्भव हुने भन्दै उनले अहिले जे गरिरहेका छौं त्यो गरेर मात्रै नागरिकको मन जित्न सम्भव नहुने बताएका थिए। त्यसका लागि जनजिविकाका आधारभूत कुरालाई सबैभन्दा पहिला ठीक ठाउँमा ल्याउने गरी सरकारले काम गर्न सक्नुपर्ने बताए।
अहिलेको सरकारले राम्रो काम गरे परिणाम दिनसक्ने त्यसको पक्षमा थपडी बजाउने, चर्चा गरिदिने वा नागरिकलाई त्यसबारे बताउन आफूहरू तयार रहेको थापाले बताए।
‘प्रधानमन्त्री, राष्ट्रपति वा कुनै पनि मन्त्रीले यो बेलामा आफूले खाइपाइ आएको वा नियम कानुनले पाएको र खर्च गर्न पाउने कुरालाई पनि कटौती गरेँ, सरकारी खर्च कटौती गर्नुपर्छ भनेर भाषण गरी राख्नपर्दैन, आफैं कटौती हुने क्रम सुरू हुन्छ,’ उनले भने, ‘तल स्थानीय सरकारको मेयरसाबले पनि यो वर्ष नयाँ गाडी किन्न हुन्न। प्रधानमन्त्रीले किन्ने गाडीको संख्या घटायो भने तलका मेयरलाई पनि किन्न लाज लाग्ने छ। तर प्रधानमन्त्रीले नै गाडीको लावा लस्कर लगाउनुभयो भने तलका मेयरलाई पनि किनु किनु लाग्छ।’
३५ वर्षपछि सरकारले उठाउने राजश्व घटेको अर्थात नागरिकको उत्पादन तथा आयस्रोत घटेर नागरिकलाई खर्च टार्न मुस्किल परिरहेको अवस्थामा यतिखेर बजेट बनाइरहेको सरकारले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए।
सुजबुझका साथ कुन पूर्वाधारमा पैसा कति हाल्ने कस्तो विकासलाई प्राथमिकता दिने भनेर सानो-सानो कुरामा बजेट बनाउनेहरूले सोच्न जरुरी रहेको उनले बताए। देशको अर्थतन्त्र समस्याग्रस्त नभई संकटग्रस्त हुन थालेको भन्दै महामन्त्री थापाले अहिलेको अप्ठेरो अवस्थालाई सहजतामा बदल्नु सरकारको दायित्व हुने धारणा राखे।
‘लिडरसिपले अहिलेको अवस्था बुझ्न जरुरी छ। हामीलाई अहिले पाँच वर्ष पहिले जस्ता सहजता छैन,’ उनले भने, ‘२०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा जुन अनुकुलता थियो त्यो अनुकुलता अहिले छैन।’
अहिलेका प्रधानमन्त्रीको कार्यक्षमता नभएर नभई अहिले बैंकिङ क्षेत्र लगायत यावत कुराहरूले परिस्थिति अप्ठेरो अवस्थामा रहेको उनले चर्चा गरेका थिए।
संघदेखि प्रदेश हुँदै स्थानीय सरकार अहिलेको सत्ता गठबन्धनको हुने भएपछि गनगन नगरी रोइकराइ नगरी जोखिम मोलेर काम गर्न जरूरी रहेको उनले बताएका थिए।
उनले पुस १० गते निर्वाचन पहिलेका दलहरूले आपसमा कमजोरी गरेको र अहिले फेरि निर्वाचनको म्यान्डेट अनुसार एकै ठाउँमा आउने सही काम गरेको उनले बताएका थिए।