नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संक्रमणकालीन न्यायको विषय सत्य निरूपण आयोगद्वारा निरूपण हुनुपर्ने बताए।
उनले कम्युनिष्टहरूमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेको जिकिर गरे।
उनले भने, ‘संक्रमणकालीन न्यायको विषय सत्य निरूपण आयोगद्वारा निरूपण हुनुपर्छ भन्ने हो। यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन। बृहत् विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो। मर्मअनुसार दीगो शान्ति कायम गर्ने र वास्तवमा राज्यको पुनः संरचनासहित शान्ति र निष्कर्षमा पुर्याउने हो। १० वर्ष जनयुद्ध भएको हो, कारबाही भएको हो, तर यसलाई कुनै पनि पुरानो कानून हेरेर हुँदैन। यसलाई आयोगद्वारा हल गर्नुपर्छ।’
उनले माओवादी 'जनयुद्धकालीन' केही नेताहरू नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरू माओवादीमा फर्किन सकारात्मक रहेको बताए।
‘केही साथीहरू एमालेमा हुनुहुन्छ माओवादी 'जनयुद्ध'का, उहाँहरूसँग कुरा गर्दा यस पटक आउँदैनौं तर हेर्दै जाऊँ भन्नुभएको छ, उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ। व्यवहार गर्दा सिद्धान्त बिर्सिने, सिद्धान्त हेर्दा व्यवहार बिर्सिने कुरा कम्युनिष्ट नेताहरूमा रोग छ। त्यो मेटाउनु पर्छ।’
उपाध्यक्ष महराले पूर्वमाओवादीहरूबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताए।