राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड पैसा मागेको अडिओ रेकर्ड चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडिओ रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरेका हुन्।
‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडिओ रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ,’ लामिछानेले भने, ‘अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’
लामिछानेले पार्टीभित्र देखिने यस्ता क्रियाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको बताए।
‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।
अर्को कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए।
‘त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने।
लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए।