जब जब चुनाव आउँछ, पोखरा लेखनाथबासीको मन जित्न उम्मेदवार तँछाडमछाड गर्छन्।
लेखनाथको पनि बेगनासताल, रूपाताल र रूपा गाउँपालिका जोड्ने मुख्य सडक चार लेन कालोपत्रे गरेर आकर्षक बनाउने भाषण गर्छन्।
गएको स्थानीय निर्वाचन, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पनि उम्मेदवारले उक्त बाटोलाई मुख्य मुद्दा बनाए।
पोखराका मेयर जितेका धनराज आचार्यले चुनावी दौरानमा आफू लेखनाथबासी भएको मात्र बताएनन्, तत्काल उक्त सडक कालोपत्र गर्ने वाचा गरे।
सोही क्षेत्रबाट विगत लामो समयदेखि चुनाव लड्दै आएका एमाले नेता खगराज अधिकारी पनि आश्वासन बाँड्न खप्पिस छन्।
प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लड्दा हाल प्रदेश मुख्यमन्त्री बनेका अधिकारीले २ वर्षभित्र उक्त सडक कालोपत्र गर्न सकिन भने प्रदेश सांसदबाट राजीनामा दिने बताएर चुनाव जितेका थिए।
यस वर्षको निर्वाचनमा मात्र होइन, अघिल्ला निर्वाचनहरूमा पनि नेताहरू त्यही सडक बनाउने आश्वासन दिएर भोट माग्थे। २०७४ को स्थानीय निर्वाचनमा एमाले नेता मानबहादुर जिसीले उक्त सडकलाई मुद्दा बनाएर मेयर जितेका थिए। त्यतिबेला उनले पनि लेखनाथबाट बहुमत पाएका थिए।
चुनावैपिच्छे बेगनासको भोट तान्न आश्वासन दिने उक्त सडक धेरै लामो छैन। पृथ्वी राजमार्गको तालचोकदेखि बेगनास तालसम्म जम्मा ३ किलोमिटर छ। जुन बाटो बनाउन नेताहरूले हरेक चुनावमा वाचा गर्छन्। जितेर गएपछि छुटाउँछन्।
अघिल्लो निर्वाचनबाट निर्वाचित मेयर जिसीले उक्त सडक वर्ल्ड बैंकको सहयोगमा निर्माण गर्ने वाचा बर्सेनि नीति तथा कार्यक्रममा राखे। बैंकले पनि सहयोग गर्ने सहमति जनायो। तर सडकको काम सुरू नै नगरी उनी बिदा भए।
पुरानो कालोपत्र सडक भत्किँदा स्थानीय नागरिकले मात्र होइन, बेगनासताल, रूपाताललगायत उक्त क्षेत्रमा जाने पर्यटकले समेत सास्ती भोगिरहेका छन्। कालोपत्र भत्किँदा परेका ठूला ठूला खाल्डामा यात्रु परिरहेका छन्।
२०७४ सालमै विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार पारेर उक्त सडकलाई आकर्षक बनाउने योजना बनाइएको थियो। जुन लागू गर्दा छोटो सडकका लागि धेरै खर्च गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गइरहेको बेगनास–रूपा क्षेत्रलाई पृथ्वी राजमार्गबाट प्रवेश गर्दा नै आकर्षक बनाउने गरी आयोजना प्रतिवेदन बनेको छ।
तालचोकदेखि बेगनासतालसम्म ३.२८ किलोमिटर कालोपत्र गर्न विश्व बैंकले १ अर्ब ४९करोड १५ लाख लगानी गर्दैछ।
डिपिआर अनुसार उक्त सडकछेउमा १ मिटर बिरूवा रोपेर हरियालीयुक्त फुटपाथ, साइकल लेन र १.५ मिटरको डिभाइडर बनाइनेछ। सडक खण्डमा पर्ने खोला र नहरका पानी कटाउन ५ वटा पुल बनाइनेछ।
सडकको दुवै छेउमा २.५ मिटर चौडाइ भएको पार्किङ हुनेछ। सडक कालोपत्र गर्दा ४ सेन्टिमिटर मोटाइको अस्फाल्ट पिच हुनेछ।
विस्तृत आयोजना प्रतिवेदन अनुसार सडक बनाउन काठमाडौंको स्वच्छन्द सपना वर्ल्डवाइड जेभीले ठेक्का लिएको छ। सडकको डिपिआरमा उल्लेखित रकमभन्दा ३८ प्रतिशत कम हुने गरी कम्पनीले ७५ करोड ४८ लाख ६७ हजारमा ठेक्का पाएको पोखरा महानगरले जनाएको छ।
उक्त सडक निर्माण गर्न गत साउन ४ गते नै उक्त कम्पनीले ७३० दिनभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर हालसम्म कम्पनीले सडक निर्माणको काम सुरू नै गरेको छैन।
ठेक्का सम्झौता भएको ९ महिनासम्म काम सुरू नै नगरेको ठेकेदार कम्पनीलाई तोकिएकै समयमा सक्न पोखराका मेयर धनराज आचार्यले निर्देशन दिएका छन्।
बेगनास–रूपाको मुख्य द्वारका रूपमा लिइएको उक्त सडक तोकिएको समयमा सम्पन्न गरे ठेकेदारलाई अभिनन्दन गर्ने आश्वासन पनि उनले दिएका छन्।
‘आगामी २०८१ चैत २६ गते यो सडकको उद्घाटन हुनुपर्छ,’ उनले भने, ‘त्यति बेलासम्म सडक निर्माण सकियो भने कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई अभिनन्दन गर्छौं।’
सडकको सोमबार शिलान्यास गर्दै मेयर आचार्यले सडक निर्माणमा कुनै पनि ढिलासुस्ती स्वीकार्य नहुने पनि बताएका छन्। पैसाका कारण काम नरोकिने भन्दै उनले गुणस्तरमा ध्यान दिन पनि जोड दिए।
‘यो सडकमा कुनै प्रकारको मोलाहिजा हुने छैन,’ उनले भने, ‘किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनुहुने छैन।’
सडक निर्माणको ठेक्का पाएका व्यवसायी नारायण भुसालले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन्। सडक निर्माणमा स्थानीयको सहयोग चाहिने उनले बताए।
उक्त सडक परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले सडक बन्न नसक्दा स्थानीयले सास्ती भोगेको बताए। तोकिएकै समयमा काम सक्ने भन्दै उनले वैशाखदेखि काम थालिने बताए।
फेवातालपछि पोखराको अर्को पर्यटकीय गन्तव्य बेगनास–रूपा क्षेत्रमा यातायात पूर्वाधार गुणस्तरीय बने पर्यटकको आगमन बढ्ने स्थानीय व्यवसायीको विश्वास छ। तर तोकिएको समयमा सडक बन्नेमा भने उनीहरू विश्वस्त छैनन्।
बेगनासका पर्यटन व्यवसायी दामोदरभक्त थापाले लेखनाथ नगरपालिका हुँदादेखि नै उक्त बाटो बनाउने भनिए पनि पोखरा महानगर हुँदासमेत नबनेको बताए। अझै पनि समयमै बाटो बन्नेमा आशंका कायमै रहेको उनको भनाइ छ।
‘हामीले पटक/पटक महानगर गएर बाटो बनाउन दबाव दिएका थियौं, अब बन्ने कुरा छ,’ उनले भने, ‘यो बाटो मात्र बनिदियो भने फेवातालको लेकसाइड जस्तै बेगनास र रूपा लेकसाइडको विकास हुन्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फेवाताल पुग्न र बेगनासताल पुग्न बराबरी दूरी भएकाले अब पर्यटक सुन्दर ठाउँ र शान्तिको लागि पनि बेगनास क्षेत्रमा आउने उनले विश्वास लिए।
‘बेगनास र रूपा शान्त छ, सफा र सुन्दर पनि छ,’ उनले भने, ‘बिना झण्झट पर्यटक आउने बाटो बन्यो भने फेवातालभन्दा यता धेरै पर्यटक आउनेछन्।’