प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेरमात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री दाहालले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन दिए।
मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरू अघि बढाउँदा सकैसम्म सबै दलहरूसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदहरूलाई सचेत समेत गराए।
प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरूको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरूलाई आग्रह गरे।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई निर्देशित गर्नु भएको छ र, त्यो निर्देशन के छ त भन्दा हामी सत्तापक्ष भएको कारणले विधेयकहरू बनाउँदा, विधेयकहरू अगाडि बढ्दा प्रमुख प्रतिपक्षलगायत सबैसँग सहमतिका साथ अगाडि बढ्नु पर्छ। र, सहमतिमै हामीले प्रयत्न गर्नु पर्छ। यदि कन्टेन्टमा सहमति हुन सकेन भने पनि हामी प्रक्रियामा भने पनि सहमति गरेरै अघि जानुपर्ने हुन्छ। यो अहिलेको राष्ट्रको आवश्यकताको विषयवस्तु हो भनेर यसैमा जोड गर्ने भनेर निर्देशित गर्नु भएको छ। यसका साथसाथै हामीले संसदमा प्रस्तुत गर्ने जुन विधेयकहरू छन्। प्रस्तुत भएका विधेयकहरूमा जुन संशोधन राख्नुपर्ने छ।’
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरूको सहमतिमा विधेयकहरू अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए।
‘हामी सत्तापक्षका भएका हुनाले हामीले सत्तापक्षको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि हामीलाई निर्देशित गर्नु भएको छ। यसका साथसाथै हामीले आगामी वर्षको नीति, योजना, कार्यक्रम, बजेट आउँदैछ। त्यो बजेटलाई हामीले कसरी व्यवस्थित गर्ने हामीले हाम्रो तर्फबाट सरकारलाई के–के सुझाव दिने, कसरी हाम्रा नीति, कार्यक्रम र योजना सरकारको नीति, कार्यक्रममा लैजाने भन्ने कुरा छ’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले सरकारको साझा न्यूनतम कार्यक्रम आइसकेकै छ। त्यसैका आधारमा नै हामी अगाडि बढ्नुपर्छ भनेर निर्देशत गर्नु भएको छ र, कुनै सुझावहरू भए यो नीति, योजना र बजेटबारे सरकारलाई सुझाव दिन पनि भन्नु भएको छ।’
बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरूलाई सचेत गराएका थिए।