कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन्।
निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्य सम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
व्यवस्थापिका–संसद्को सुशासन समितिको आजको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदल यात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुलो, धुवाँ एवम् सवारीसाधनको मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सो सडकखण्ड चीन सरकारको सहयोगमा आठ लेनको बनाउने काम भइरहेको छ। प्रधानमन्त्रीले सडकको अवस्था सवारीसाधनको अवस्था र सडकमा रोकिएका सवारीसाधनदेखि निर्माण सामग्रीसमेत सडकमै रोकेकाप्रति गम्भीर चासो लिएका छन्। सो सडकमा जामका कारण घन्टौँसम्म नागरिकले दुःख पाउने गरेका छन्। रासस