राष्ट्रपति विद्या भण्डारी भारत प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको नियन्त्रणमा ५ दिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन्। राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो।
यस अघि गत वैशाख २७ गते गर्ने भनिएको राष्ट्रपति भण्डारीको भ्रमण तयारी नपुगेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले स्थगित गरेको थियो । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुलगातका टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
सोही अवसरमा नेपाली सेनाले को टोलीले २१ तोपको सलामी समेत अर्पण गरेका थियो । सरकारले राष्ट्रपतिको भ्रमणका क्रममा सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।
३४ सदस्यीय भ्रमण टोलीमा राष्ट्रपति भण्डारीको साथमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादव, परराष्ट्र सचिव शंकरदास बैरागी र राष्ट्रपतिको स्वकीय सचिव समेत रहेका छन्।
भारत बसाईका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नेछिन्। उनीसँग भारतीय उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज लगायतले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ।
भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले राष्ट्रपति भण्डारी फिर्ता हुने दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।