नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले आफ्ना प्राथमिकता तोकेको छ।
वैठकले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई अगाडि बढाउने पहिलो प्राथमिकतामा राखेको छ। संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय वैठकले गरेको हो।
यसैगरी, पुनःनिर्माणको कामलाई तीव्रता दिएर प्रभावकारी बनाउने, दैनिक उपभोग्य सामग्रीको सहज बनाउने, आर्थिक समृद्धिलाई महत्त्व दिने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र बाँकी रहेका प्रक्रिया पूरा गर्ने लगायतका विषय प्राथमिकतामा राखिएको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। अर्थमन्त्री कार्कीलाई अर्को निर्णय नहुन्जेलसम्म सरकारको प्रवक्ता पनि तोकेको छ।