आगामी असार १४ हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न राष्ट्रिय जनता पार्टी नेपालले गरेको माग सत्तारुढ दलले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्ववानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले आफ्ना राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका थिए। तर प्रधानमन्त्री देउवाले चुनाव राष्ट्रिय एजेन्डा भएको र सारेमा आफूहरु सबै फस्ने भन्दै सार्ने कुरा नगर्न भनेका प्रधानमन्त्रीका प्रेस सहयोगी बद्रि सिग्देलले जानकारी दिए।
मधेसी नेताहरुले आफ्ना ३ बुँदे माग कार्यान्वयन गर्न र चुनावको मिति सार्न प्रस्ताव गरेका थिए। उनीहरुले आफ्ना माग पूरा नगरी मधेसलाई बाइपास गरेर चुनाव नहुने चेतावनी दिएका पनि सिग्देलले जानकारी दिए ।
'हाम्रा माग पूरा नभए चुनाव हुन सक्दैन र मधेसलाई बाइपास गरेर गराउन खोजे हामी आन्दोलनमा जान्छौं,' वैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरले भने।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने आफूहरुले मधेसलाई बाइपास गर्न नखोजेको र मधेसकै माग सम्बोधन गर्न ससंदमा संविधान संशोधन प्रस्ताव दर्ता गराइएको तथा निर्वाचन पनि दुई चरणमा गरी दोस्रो चरणको असार १४ गते तोकिएको भन्दै मधेसी नेताहरुलाई सम्झाउन खोजेका थिए।
तर, वैठकमा कुरा नमिलेपछि दुवै पक्षका नेताले छलफल गरी आज साँझ वा भोलि फेरि भेट्ने सहमति गरेका छन्।
वैठकमा नेपाली कांग्रेसकातर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला तथा शीर्ष नेताहरु कृष्ण सिटौला र विमलेन्द्र निधी उपस्थित थिए।
त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा 'बादल' उपस्थित थिए।
राजपाका तर्फबाट भने महन्थ ठाकुरका साथै शरद सिंह भण्डारी, महेन्द्र यादव तथा अनिल झा उपस्थित थिए।
*शीर्षक सच्याइएको