राष्ट्रिय जनता पार्टी, नेपालले सरकार गैरजिम्मेवारी भएकाले स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय लिनु परेको दावी गरेको छ।
पार्टीका नेता महेन्द्रराय यादवले सरकारले आफूहरुको माग सम्बोधन गरे अझै पनि निर्वाचनमा जान आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले निर्वाचनको वातावरण नबनाएकाले बाध्य भएर निर्वाचन विरोधी आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको पनि उल्लेख गरे।
उनले भने, ‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं। हाम्रा माग पूरा भएनन्। यो ११ महिनामा संविधान संशोधनको लागि सरकारले प्रयास गरेको थियो तर असफल भयो।’
यादवले राजपा नेपाललाई बाहिर राखेर चुनाव हुनै नसक्ने समेत दाबी गरे। उनले भने,‘अब उहाँहरुले नै हामीलाई चुनावमा सहभागी नगराउन चाहनुभएको छ भने अर्को कुरा, नभए हामी चुनाव विरोधी होइनौं।’ राजपा नेपाल लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध उनको भनाई थियो ।
उनले संविधान संशोधन अहिले हुन नसकेपनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने जस्ता मागहरु सरकारले पूरा गर्नुपर्ने बताए ।
मागहरु पूरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको नेता यादवको भनाई थियो ।
नेता यादवले तीन ठूला दलबीच सत्ता बाँडफाँडको विषयमा सहमति हुने गरेपनि मधेशको समस्या समाधान गर्न सहमति हुने नगरेको गुनासो पनि गरे।