प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस उम्मेदवार टुंगो नलगाएर अन्योलमा रहेको परिस्थितिलाई अवसरमा बदल्दै नेकपा एमालेले चुनावी अभियान थालेको छ। केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि एमाले विगतका स्थानीय निकाय चुनावलाई विश्लेषण गर्दै रणनीति बनाउन थालेको छ।
एमालेले पञ्चायतपछि भएका तीनमध्ये दुई पटक स्थानीय निकाय चुनाव आफ्नो पक्षमा पारेको थियो। कांग्रेसको आधार क्षेत्रमा चुनाव लडिरहेका एमाले उम्मेदवार विनोद ढकाल संविधानसभाका दुई निर्वाचनमा एमालेले हारेको स्थितिलाई स्थानीय निकाय चुनावसँग जोडेर विश्लेषण गर्न नमिल्ने बताउँछन्।
उनी लडिरहेको विराटनगर महानगरपालिकाले तीन वटा निर्वाचन क्षेत्र छोएको छ। मोरङका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रले महानगर घेरेको छ। यी क्षेत्र नेपाली कांग्रेसको आधार क्षेत्र हुन्।
मोरङको राजनीतिमा केन्द्रीय नेता विभाजित हुँदा कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। मोरङको राजनीति हाँकेको कोइराला परिवारले युवा नेता भीम पराजुलीलाई अगाडि सार्न खोजेको छ। कोइराला परिवारको हातबाट मोरङ कांग्रेस फुत्काएपछि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा स्थानीय निकाय हतपत दिन मानिरहेका छैनन्।
प्रधानमन्त्री देउवा नेता अमृत अर्याल र डा. डिला संग्रौलामध्ये एकलाई टिकट दिलाउन लागेका छन्। तर, कोइराला परिवारको सहयोगबिना यी दुबैलाई स्थानीय निकाय निर्वाचन लड्न अप्ठेरो छ। सक्रियताको हिसाबले संग्रौला पछाडि छिन्, अर्याल लोकप्रिय छन्। विराटनगरको मेयर उम्मेदवारी अर्यालको सम्भावना बलियो छ।
केन्द्रीय सदस्य डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, आमोदप्रसाद उपाध्याय, सुजाता कोइरालाले पराजुलीलाई उठाउन खोजिरहेका छन्। नेता महेश आचार्य आफ्ना नातेदार विश्वनाथ रिजाललाई अगाडि बढाउन चाहन्छन्।
दोस्रो संविधानसभा निर्वाचनमा ५ नम्बर क्षेत्रमा उपेन्द्र यादवलाई पराजित गरी नेपाली कांग्रेसका अमृत अर्याल विजयी भएका थिए। यादव र उनको मतान्तर निकै फराकिलो थियो। ६ नम्बर क्षेत्र महेश आचार्यको क्षेत्र हो भने ७ डा. शेखर कोइरालाको। तिनै नेताको प्रभाव क्षेत्रमा एमाले एक्लै लड्दैछ।
‘हामी कोहीसँग तालमेल नगरीकनै चुनाव लड्दैछौं, कडा टक्कर हुने देखिन्छ,’ ढकाल भन्छन्, ‘संविधानसभाको चुनावलाई लिएर यी क्षेत्रमा एमाले कमजोर छ भन्ने गरिन्छ, तर त्यसो हैन।’
उनले दुई वटा स्थानीय निकाय निर्वाचनको उदाहरण दिए, २०४३ र २०५४।
ढकालका अनुसार २०४३ सालमा कांग्रेसको दबदबा रहेका यिनै क्षेत्रमा एमालेले स्थानीय निकाय चुनाव लडेको थियो। त्यसबेला एमालेका ध्रुवनारायण श्रेष्ठले जितेका थिए।
२०४८ सालमा एमालेले उम्मेदवारी दियो, तर चुनाव बहिस्कार गर्यो। आधा मतदान भएपछि एमालेले चुनाव बहिस्कार गरेको थियो। तैपनि, एमालेले दुई वटा वडामा विजय प्राप्त गरेको ढकाल सम्झन्छन्। ‘हामीले चुनाव बहिस्कार गर्ने स्थिति बन्यो, कांग्रेसले एकपक्षीय हिसाबले चुनावको परिणाम सार्वजनिक गर्यो,’ २०४१ सालदेखि नै मोरङ एमाले राजनीतिमा रहेका ढकाल भन्छन्।
०५४ सालको स्थानीय निकाय चुनावमा एमालेका रमेशचन्द्र पौडेलले जितेका थिए। कांग्रेसको पकड राम्रो हुँदाहुँदै पनि उसबाट एमालेले मेयर उम्काएको थियो। त्यसहिसाबले पनि एमालेले स्थानीय निकायको चुनाव आफ्नो पक्षमा रहने दाबी गरिरहेको छ।
‘७ नम्बर क्षेत्रको कुरा गर्नुहुन्छ भने संसदीय चुनावमा गुरु बराल, कमल कोइरालाले चुनाव जित्नुभएको छ,’ ढकाल भन्छन्, ‘कांग्रेसको दबदबा भनिएका ५, ६ र ७ नम्बर क्षेत्रमा विगतमा कुनै न कुनै बेला एमालेले आफ्नो पक्षमा पारेको छ, फेरि यो चुनाव संसदीय चुनावजस्तो हैन। हामी जित्छौं।’
संविधानसभा निर्वाचनमा भोट यी क्षेत्रमा ‘कमाण्ड’ गर्न नसकेको ढकालको दाबी छ। ‘हामीले उठाएका उम्मेदवार नै कमजोर थिए, अर्को भोट कमाण्ड गर्न सकिएन, भोट डाइभर्ट भयो,’ ढकाल भन्छन्।
यी तिनै क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा एमालेले तेस्रो स्थान हासिल गरेको थियो। झन्डै १ लाख १२ हजार मतदाता रहेको विराटनगरमा विगतको चुनावी नतिजा विश्लेषण गर्दा एमाले कमजोर छ। तर, स्थानीय निकाय निर्वाचनमा उसले विगतमा सफलता हासिल गरेको छ।
‘घरदैलो कार्यक्रममा जाँदा हामीले कांग्रेसकै मतदाताबाट सद्भाव पाएका छौं,’ ढकाल भन्छन्।
के छ चुनावी एजेन्डा?
केही दिनअघि मात्र उम्मेदवारी टुंग्याएको एमालेमा उपमेयर कसलाई उठाउने भन्ने अझै अन्योल छ। प्रमुख पदमा उम्मेदवारी टुंगो लागेपछि एमालेले चुनावी एजेन्डा तयार पार्दैछ। उसले प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउने मुख्य एजेन्डा अगाडि सारेको छ।
‘घोषणापत्र, प्रतिबद्धतापत्र तयार पारिरहेका छौं, हामी विराटनगरलाई समृद्ध सहरको रुपमा विकसित गर्न चाहन्छौं,’ ढकाल भन्छन्, ‘मूल कुरा विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउँछौं।’
उपमहानगर रहेको विराटनगर भर्खरैमात्र महानगर भएको हो। यहाँको भूगोल, जनसंख्या मिलेको छैन। रिङरोडभित्रलाई महानगर मान्ने कि आसपासका क्षेत्रलाई पनि मान्ने टुंगो लागेको छैन। त्यसलाई किनारा लगाउने मुख्य कार्यभार रहेको ढकालको भनाइ छ।
औद्योगिक क्षेत्र विकसित गर्ने, आर्थिक केन्द्र बनाउने, मिल्स एरियाका धेरै उद्योग बन्द छन्, त्यहाँको रुग्ण औद्योगिक क्षेत्रमा प्राण भर्ने, विराटनगर जुट मिललाई पुनः सञ्चालन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने लगायत आर्थिक मुद्दा एमालेले उठाउने भएको छ। ‘पहिलो त आर्थिक रुपमा जनतालाई सबल नबनाउञ्जेल विकास सम्भव छैन, तयसले हामीले आर्थिक मुद्दालाई प्राथमिकतामा राखेका छौं,’ ढकाल भन्छन्।
विराटनगरको सडक चौडा पार्ने काम भइरहेको छ। तर, यो धिमा गतिमा अगाडि बढिरहेको छ। यसलाई तीब्रता दिने, नभएका कामलाई पूरा गर्ने र सफा, स्वच्छ विराटनगर बनाउने एमालेको एजेन्डा छ। ‘अहिलेको जमाना इन्टरनेटको दुनियाँ हो, इन्टरनेटलाई टोलटोलमा पुर्याएर आधुनिक सहर तथा ‘स्मार्ट सिटी’ बनाउने योजना छ,’ ढकालले भने।
२०२५ सालमा भोजपुरको याङपाङ गाविसमा जन्मेका ढकालले कटका निमाविबाट अध्ययन सुरु गरेका थिए। त्यहीँको सारदा माध्यमिक विद्यालयबाट २०४१ सालमा एलएलसी पास गरेपछि उनको परिवार बसाइँ सरेर विराटनगर आएको हो। ढकालले यहीँ पढे, यहीँ राजनीतिक जीवन अगाडि बढ्यो। जनमतसंग्रहताकै ७/८ कक्षामा पढ्दादेखि अखिलको राजनीतिमा होमिएका उनी विराटनगर आएपछि बढी सक्रिय भए।
विराटनगरमा आएपछि ल क्याम्पसमा भर्ना भए। ४२ सालदेखि अनेरास्ववियुको सहप्रारम्भिक कमिटी हुँदै प्रारम्भिक कमिटी, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, अञ्चल इञ्चार्ज, पूर्वाञ्चल प्रमुख, संगठन विभाग प्रमुख भई राजनीति गरेका ढकाल २०५७ सालदेखि पार्टीमा सक्रिय भएका थिए। नगर कमिटी सदस्य, उपाध्यक्ष, नगर अध्यक्ष, मोरङ जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी सचिव हुँदै दुईपटक मोरङ जिल्लाको अध्यक्ष भइसकेका छन्। पार्टीमा सक्रियताको हिसाबले आफूले जनताको चासो र आवश्यकता बुझेको उनी बताउँछन्।
चुनावी अभियानका क्रममा उनले दुई वटा मुख्य समस्या देखेका रहेछन्। पहिलो, विराटनगरको सुकुम्बासी समस्या र अव्यवस्थित बसोबास। यी समस्याले गर्दा महानगरमा बसे पनि जनताले बिजुली नपाएको, उचित शिक्षादीक्षा नपाएको उनले बुझेका छन्। त्यसैले, सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थापन उनको पहिलो लक्ष्य छ।
दोस्रो, बेरोजगारी समस्या छ। काम नपाएर मान्छेहरू भौंतारिएका छन्। कतिपय मान्छेहरू बिहान खाए बेलुका के खाउँ स्थितिमा रहेको ढकाल बताउँछन्। ‘त्यस्ता जनताकहाँ रोजगारी पुर्याउन अति आवश्यक छ, आधारभूत शिक्षा, निःशुल्क शिक्षाको खाँचो छ, त्यो म पूरा गरेर देखाउँछु,’ ढकाल भन्छन्।
ढकालका अनुसार जनता नेता र राजनीतिप्रति निकै निराश छन्। नेताले केही नगरेको, राजनीति उपयोगलक्षितमात्र रहेको गुनासो छ। ‘यो सबै मुलुक संक्रमणकालमा रहेर भएको हो, अब संक्रमण विस्तारै सकिँदैछ, अबको राजनीति विकास र समृद्धिको हो भनेर भोट मागिरहेको छु,’ उनी भन्छन्।