कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि सक्रिय राजनीतिमा लागेका चन्द हाल काँग्रेसका वडा सभापति पनि हुन् ।
फरक पार्टी भएकाले उनले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए । दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा नेकपा (एमाले)ले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । नेकपा (माओवादी केन्द्र)बाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन् ।
“मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्,” अध्यक्ष पदको उम्मेदवार गजेन्द्र चन्दले भनर् , “मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ ।” उहाँले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए ।
“ज्वाइँ–ससुरालाई एउटै पदमा प्रतिस्पर्धा नगर्न हामीले सम्झायौँ”, हल्दुखालका स्थानीय तथा हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भने, “तर सहमतिमा ल्याउन सकेका छैनौँ ।” रासस