दोस्रो जनआन्दोलनको तयारी तीव्र हुँदै गर्दाको घटना हो यो।
२०६१ सालमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव हुँदै थियो। झन्डै बाह्र वर्षदेखि नेविसंघमा राजनीति गरिरहेका युवा भीम पराजुलीले स्वाभाविक दाबेदारी प्रस्तुत गरिरहेका थिए।
केन्द्रदेखि जिल्लाका सबै नेता मिलेर उनको उम्मेदवारी रोके। विद्रोही स्वभावका पराजुलीले स्ववियु सभापतिका लागि नेविसंघमा ‘विद्रोह’ गरे। प्यानलसहित ‘बागी’ उम्मेदवारी घोषणा गरे। एक किसिमले उनी नेविसंघमा कारबाहीमा परिसकेका थिए।
चुनावको नतिजा आयो— उनको विद्रोही प्यानलै विजयी भयो।
विद्यार्थी राजनीतिमा उनको लोकप्रियता त्यही चुनावले पुष्टि गरिदियो। चुनाव जितेपछि गिरिजाप्रसाद कोइरालाले फोन गरे।
‘विद्रोही सभापतिलाई हार्दिक बधाई,’ गिरिजाप्रसादले भने, ‘मिलाएर काम गर्नू।’
गिरिजाप्रसादले सिधै फोन शुभकामना दिएपछि नेविसंघका बागी नेता हौसिए। गिरिजाप्रसादले पराजुलीलाई काठमाडौं अाउन भने। बेर नगरी उनी राजधानी हिँडे।
राजाविरुद्ध कांग्रेस सडकमै थियो। ‘आन्दोलन कमजोर नहोस् है,’ भेटमा पार्टी सभापतिले भनेको पराजुली सम्झन्छन्।
लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी परिचालनका हिसाबले महेन्द्र मोरङ क्याम्पस विराटनगरको केन्द्र थियो। उनले अाफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरे। त्यो जिम्मेवारीसँगै उनले कोइराला परिवारको विश्वास मात्र जितेनन्, विराटनगरको कांग्रेस राजननीतिमा पनि बलियो खुट्टा टेके।
अहिले पराजुली कांग्रेसको विराटनगर नगर समितिका सभापति छन्।
विराटनगरको मेयर कांग्रेसका लागि जहिले पनि प्रतिष्ठाको विषय हो। किनभने, यो सहर कांग्रेस राजनीतिको जन्मथलो हो।
कांग्रेसले अाफूलाई बलियो ठानेको काठमाडौंमा पार्टीको पराजयपछि विराटनगरको चुनाव मुलुककै ठूलो पार्टीका लागि झनै पेचिलो बनेको छ। विराटनगर महानगरमा कांग्रेसले चुनाव हार्यो भने त्यसको असर अाउने संसदीय र प्रदेश निर्वाचनमा पनि पर्ने छ। कांग्रेसका तीन जना प्रभावशाली नेता महेश अाचार्य, मीनेन्द्र रिजाल र शेखर कोइरालाको गृहजिल्ला भएकाले पनि कांग्रेसका लगि यसपालिको विराटनगर थप महत्वपूर्ण बनेको हो।
मोरङ कांग्रेसभित्रको विभाजनले विराटनगरको चुनाव कांग्रेसका लागि अझ चुनौतिपूर्ण छ। लामो समयदेखि कोइराला परिवारले हाँकेको मोरङ कांग्रेसको राजनीति अहिले देउवा खेमाको पोल्टामा पुगेको छ। मोरङ कांग्रेस देउवा कित्तामा पुग्नुमा कोइराला परिवारभित्रैको आन्तरिक कलहलाई कारणका रुपमा लिने गरिएको छ।
स्थानीय चुनाव मुखमै आइपुग्दासम्म कांग्रेसमा विराटनगर महानगरको उम्मेदवारीका लागि रस्साकस्सी नै चल्यो। पार्टी सभापति शेरबहादुर देउवाले डा. डिला संग्रौला र सांसद अमृत अर्यालमध्ये एकलाई उठाउन खोजेका थिए। तर, कोइराला परिवार र नेता महेश आचार्य तथा मीनेन्द्र रिजालहरूको भावनाविपरीत जाँदा यो महानगर अर्को पार्टीले जित्न सक्नेसमेत बुझेर देउवा समूहले पराजुलीलाई स्वीकार्यो।
विराटनगर महानगरको उम्मेदवारीसँगै पराजुली चुनावी अभियानमा लागेका छन्, बिनातालमेल एक्लै जित्ने दाबी गरिरहेका छन्।
विराटनगर महानगर जित्ने तीन आधार उनले पेस गरेका छन्। पहिलो, आफू दोस्रोपटक नगर सभापति भएपछि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई जिताएको योगदान उनी सम्झन्छन्।
‘महानगरभित्रका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसको जित हुनुमा नगरको ठूलो योगदान छ,’ कांग्रेस विराटनगरका नगरसभापति पराजुली भन्छन्, ‘नगरले लिड नगरेको भए कांग्रेसले यी तीनवटै क्षेत्र जित्दैनथ्यो।’
उपेन्द्र यादवको प्रभावक्षेत्र ५ नम्बरमा अमृत अर्यालले १० हजार मतअन्तरले जिते, लोकतान्त्रिक फोरमको प्रभावक्षेत्र ६ मा पाँच हजार मतान्तरले महेश आचार्य विजयी भए। ७ नम्बर क्षेत्रमा विजयकुमार गच्छदारलाई साढे तीन हजार मतले डा. शेखर कोइरालाले जितेका थिए।
यी सबै क्षेत्रमा पाँच/पाँच सय हाराहारीमा वडाको भोटले ‘लिड’ गरेको पराजुली बताउँछन्। यही चुनावी नतिजा विश्लेषण गर्दै स्थानीय निकायको चुनाव कांग्रेसको पोल्टामा पर्ने उनले दाबी गरे। ‘विराटनगर महानगरमा कांग्रेसको पहिलो भोट छ, दोस्रो फोरम अनि तेस्रोमा मात्र एमाले हो,’ उनी भन्छन्, ‘एमालेसँग हाम्रो प्रतिस्पर्धा छैन।’
...
विराटनगर–४, पोखरियामा २०३१ सालमा जन्मेका पराजुली नपुगेको घर छैन। जहाँ जसलाई जे पर्छ उनी पुगेकै हुन्छन्। दुःख–सुखमा कार्यकर्ताकहाँ पुग्नु उनको स्वभाव हो।
कांग्रेसमा उनको उमेर समूहका नेता कोही नेविसंघमा छन्, कोही तरुण दलमा। उनले यी दुवै जनवर्गीय संगठन त्यागेर पार्टी राजनीति रोजे। युवा उमेरमा नगरको दुई कार्यकाल सभापति जितेपछि उनी कोइराला परिवार तथा पौडेल समूहको नजरले खिचिरह्यो।
छ वर्षअघि पहिलोपटक नगर सभापति लड्न खोज्दा उनलाई नेताहरूले रोक्न खोजे। डा. कोइरालाको ‘भित्री’ समर्थनमा उनी नगर सभापति लडे। सात सय मतले प्रतिस्पर्धीलाई हराए। दोस्रोपटक एक हजार मतले जिते।
पोखरिया उच्च माविमा निमाविसम्म पढे। जनता उच्च माविमा माध्यमिक शिक्षा अध्ययन गरे। माध्यमिक तहको पढाइ सिलसिलामा उनी कांग्रेस भएछन्।
पहिलो जनआन्दोलन चलिरहेको थियो। पोखरियाबाट मसाल जुलुस निस्केको थियो। उनी जुलुसको पछिपछि हिँडे।
उनी लहैलहैमा जुलुसको पछि दौडिएका रहेछन्। त्यसबेला उनलाई प्रहरीले पक्रेर राति अबेरसम्म हिरासतमा लियो। बालक भएका कारण उनलाई प्रहरीले छाडेको थियो। उनी मध्यराति खाली खुट्टा हिँड्दै घर फर्केका रहेछन्।
‘त्यही घटनाले मलाई कांग्रेससँग जोड्यो, एक प्रकारको क्रान्ति आएको थियो ममा,’ उनी भन्छन्, ‘म स्कुल समितिमा आबद्ध भएँ।’
एसएलसी पास गरेपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भए। त्यहाँ पढ्न पुग्ने विद्यार्थी केहीबाहेक राजनीतिमा नलागेका हुन्थेनन्। उनी क्याम्पस एकाइको सदस्य, सचिव र सभापति भएर काम गरे। २०५५ सालमा स्ववियु सदस्य, ०५७ मा कोषाध्यक्ष २०५९ मा सचिव निर्वाचित भए। ०६१ मा उनको विद्रोही प्यानलले जितेको थियो।
त्यसपछि सोझै पार्टीमा आए। नगरको सभापति निर्वाचित भए। उनको सपना रहेछ, मेयर बन्ने।
‘नगर छोडेको भए म कि नेविसंघको पदाधिकारी भएर काम गरिरहेको हुन्थेँ होला, म पार्टीमा निकै कनिष्ठ नै हुँ,’ उनी भन्छन्, ‘साँच्ची भन्ने हो भने कांग्रेसमा ६० ननाघेको व्यक्तिलाई पत्याइँदैन, म आफ्नो लिगेसीमा तलमाथि भइनँ, सँधैं खटिइरहेँ।’